महिलाका मात्रै घरधन्दा
कार्यालयमा काम गर्दै गर्दा एकजना आफन्तको फोन बज्यो। आशय छोराका लागि बुहारी खोज्ने रहेछ। रूपवती, गुणवती, पढाइमा ट्यालेन्ट, जागिरे, घरव्यवहारका सबै काम जानेकी, स्लिम, हाइटवाली, मीठो पकाउन जान्ने आदिआदिले भरिपूर्ण कन्या चाहियो। उनले हँ र अँमा उत्तर फर्काए। सामान्यतया सबैले चाहने बुहारी या पत्नी यस्तैयस्तै कल्पनाका हुने गर्छन् होला। यिनको सोचाइ पनि खासै नौलो लागेन।
एक्काईसौं शताब्दीको युग, प्रविधिको युग, समाज परिवर्तनको युग भन्ने गरिन्छ। समाज परिवर्तनसँगै परिवारको संरचना बदलिएको छ। रोजगारको प्रकृति बदलिएको छ। सामाजिक प्राणी भएको नाताले मानिसलाई आर्थिक पाटो व्यवस्थापनसँगसँगै अन्य सामाजिक, सांस्कृतिक, पारिवारिक व्यवस्थापनजस्ता उत्तरदायित्व पूरा गर्दै जानुपर्ने हुन्छ। साधारण परिवारलाई पनि आफ्नो मासिक खर्च धान्न पतिपत्नी दुवैले काम गर्नुपर्ने बाध्यता हिजोआज देखिएको छ।
महिला र पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन्। एकअर्काका परिपूरक हुन् भनिन्छ। घर संसार चलाउन दुवैको समान महŒव रहन्छ। तर, हाम्रो समाजमा लैंगिक समाजीकरण हँुदा नै यो काम पुरुषले गर्ने, यो काम महिलाले गर्ने भनेर एक प्रकारको सिमाना थोपरिएको छ।
महिलासमेत आर्थिक उपार्जनको पाटो चाहे शैक्षिक, बैंकिङ क्षेत्र, औद्योगिक व्यावसायिक क्षेत्र सबैतिर आत्मनिर्भर हुने बाटोमा लागिरहेका छन्। आत्मनिर्भरताले आत्मसम्मानमा वृद्धि हुन्छ। पछिल्लो तथ्यांकअनुसार निजामती सेवामा मात्र महिलाको संख्या २३ प्रतिशतभन्दा माथि रहेको छ। अन्य पेसा व्यवसायमा मात्र होइन, वैदेशिक रोजगारमा समेत महिलाको संलग्नता दिनप्रतिदिन बढिरहेको छ।
तनाव
पछिल्लो समय महिलाको सामाजिक, आर्थिक, शैक्षिक हैसियत सुदृढ देखिएको छ। तर, गृहिणी आमा हुन् या अर्थोपार्जन या पेसाव्यवसायमा लागेकी महिलाको घरायसी काम, बालबच्चाको व्यवस्थापन उनकै मात्र जिम्मेवारीजस्तो देखिन्छ। आमाबुवा दुवै कामकाजी हुँदा पनि बाबुजति फुक्काफाल भएर हिँड्ने छुट महिलालाई छैन।
एक अध्ययनअनुसार गृहिणी महिलालाई भन्दा कामकाजी महिलालाई घर र नोकरीबीचको तालमेल मिलाउनुपर्दा तनाव बढी हुन्छ। आर्थिक व्यवस्थापनलगायत घरको अन्य कामकाजमा पुरुषको सहयोग भए पनि बच्चा बिरामी हुँदा स्याहार्ने, बच्चाको सरसफाइ, खाना खुवाउन, चाडबाडका समयमा पुरुषले भन्दा पाँच गुना बढी महिला खट्निुपर्छ।
घरपरिवारबाटै महिलालाई सहयोग गर्नुपर्छ। जुन घरमा महिला खुसी हुन्छन्, त्यो घरका प्रत्येक सदस्य सुखी रहन्छन्।
सरकारी कार्यालयमा कार्यरत महिलाका आफ्नै व्यथा छन्। एकातर्फ प्रसूति बिदा पर्याप्त छैन भने अर्कोतर्फ विभिन्न घरायसी कामका कारण अन्य बिदा पनि पुरुषको तुलनामा वर्षको अन्त्यसम्ममा बाँकी रहँदैनन्। चाडपर्व, बिहे, व्रतबन्धलगायत अन्य सामाजिक संस्कारका कार्यक्रममा संलग्न हुनु पनि महिलाकै जिम्मामा पर्छन्।
कतिपय निजी कार्यालयमा त बच्चा बिरामी हँुदा बिदा माग्नु भनेको अपराध गरेसरह ठहरिन्छ। यस्ता संस्थामा सकेसम्म अविवाहित र राख्नैपरे पनि बच्चा हुर्काइसकेका महिला रोजगारका लागि उपयुक्त ठहराइन्छन्।
घरवार र रोजगार धान्दाधान्दै महिला स्वयं आफ्ना लागि भने समय नै दिन सक्दिनन्। हरेक व्यक्तिलाई जीवनमा व्यक्तित्व विकास होस्, व्यायाम होस् या रिफ्रेसमेन्टका लागि केही न केही समय चाहिन्छ। तर, पछिल्लो समय दोहोरो कामको भारले महिलामा विभिन्न किसिमका मानसिक, शारीरिक स्वास्थ्य समस्या देखा परेको चिकित्सकहरू बताउँछन्।
घरको काममा बाँडफाँट
अहिलेको पुस्ता पहिलेभन्दा निकै प्रगतिशील भएको मानिन्छ। पढेलेखेको सहरीया शिक्षित परिवारमा मात्र होइन, गाउँमा समेत मागीबिहे, भागीबिहे तथा आफैंले रोजेर बिहे गर्ने प्रचलन बढेको छ। पहिलेभन्दा घरका अन्य कामकाजमा पुरुषको सहयोग बढेको छ। तर, भान्छामा चुलो बाल्ने, बच्चा हुर्काउने काम महिलाकै हो भन्ने सोचाइ बदलिन सकेको छैन।
नेपाली समाजमा छोरीलाई बिहेविना जीवन नै अपूरो हुन्छ भनेर स्कुलिङ गरिएको हुन्छ। तर, एउटी युवती बिहेपछि बालबच्चा र घरपरिवारको व्यवस्थापन अनि आफ्नो क्यारियरको चिन्ताले आमा बन्नुअगाडि पटकपटक सोच्न विवश हुन्छिन्। बिहेपश्चात् आफ्नो सहजताअनुरूप बच्चा जन्माउँदा एकातिर गर्भनिरोधका साधनको प्रयोगको कारण बाँझोपनको समस्या बढ्ने गरेको छ भने अर्कोतर्फ परिवारबाटै किन बच्चा ढिला भयो भन्ने प्रश्न नउठ्ला भन्न सकिँदैन।
एक अध्ययनअनुसार अमेरिकामा ४० वर्षसम्मका करिब ४२ प्रतिशत महिला सन्तानविहीन छन् भने १४ प्रतिशत महिलाले सन्तान जन्माउने इच्छा नै गरेका छैनन्। एसियामा पनि बिेपछि सन्तान जन्माउन नचाहने महिलाको संख्या बढ्दै गइरहेकोे विज्ञहरू बताउँछन्। कामकाजी महिलालाई क्यारियर विकासका लागि थप अध्ययन अनुसन्धानका लागि हरेक क्षण चुनौती रहन्छन्। उनीहरूका लागि एक दिन बिहेभोज या फिल्म हेर्न जाने समय व्यवस्थापन गर्न कठिन छ। महिलाको भावनाको कदर गरेर सहजै आज तिमी जाऊ भन्ने वातावरण हामीकहाँ बनिसकेको छैन।
सहकर्मी पुरुष साथीलाई घरमा म्याडमलाई कत्तिको सहयोग गर्दछौ भन्ने मेरो अनौपचारिक प्रश्नको जवाफमा बिहान उठेर जिम जान्छु, मर्निङ वाक जान्छु, कहिलेकाहीं बच्चा स्कुल पुर्याइदिने, ल्याइदिने गर्दछु भन्ने सहजै उत्तर दिन्छन्। जबकि दुई छोरीकी आमा उनकी पत्नीलाई कति हतार हुँदो हो, त्यो बिहान पाँच र एक कक्षामा पढ्ने दुई नानीलाई कपाल कोरिदिने, खाजा, खाना तयारी, घरको सरसफाइ, लुगामा स्त्री लगाइदिनेदेखि होमवर्कसमेत हेरिदिनुपर्ने हुन सक्छ।
सम्बन्धमा दरार
समाजशास्त्री मीना उप्रेती भन्छिन्, ‘जब समाजको आर्थिक क्रियाकलापमा परिवर्तन हुन्छ तब समाजमा पारिवारिक सम्बन्धमा पनि परिवर्तन आउन सुरु हुन्छ।’ महिला आत्मनिर्भर बन्न खोज्दा त्यसअनुकूलको वातावरण मिलेन भने परिवारकै सदस्यहरूबीच पनि मनमुटाव, दरार पैदा हुन बेर लाग्दैन। परिवार बढेसँगै खर्चको दायरा बढ्छ। कार्यालयको काम सकेर घर पुगिसकेपछि अन्य घरायसी कामकाजको बोझले आमाले बच्चाका लागि पर्याप्त समय छुट्ट्याउन सक्दिनन्, जसको प्रभाव आमा र बच्चामा समेत पर्न सक्छ। दुवैजना कामबाट फर्केपछि एकजनालाई मात्र कामको भार पर्दा तनाव बढछ, जसले गर्दा पतिपत्नीका बीचमा हुने सम्बन्धमा हार्दिकता कम हुन सक्छ।
कतिपय महिला घरबाहिरका काममा जानुअघि घरको सम्पूर्ण काम आफैं सकीनसकी सकेर निस्कन्छन्। मेरो चिनजानकी एक जनप्रतिनिधि महिला दिदी हुनुहुन्छ। उहाँ हरेक दिन बिहान ६ बज्नुअघि नै घरमा सरसफाइदेखि पकाइवरी समाज सेवा या राजनीतिक कार्यक्रममा निस्कने बताउनु हुन्छ। यसो गर्दा छोराछोरी, पति या घरका अन्य सदस्यले बोल्ने बाटो पाउँदैनन् भन्नुहुन्छ। महिलाहरू बरु सकेसम्म आफैं काममा जोतिने तर अरूको सहयोग नपाइने या नमाग्ने ठानेर घरको काम आफ्नै जिम्मा हो भन्ने स्वतस्फूर्त रूपमा स्विकारेर पनि संघर्षको मैदानमा उत्रेकै छन्।
सबै काम सकेर बाहिर निस्कँदा पनि मानसिक रूपमा तनाव दिने कहाँ, के, कता ? जस्ता सयौं प्रश्नहरूको जवाफ दिनुपर्ने हुन्छ। कुनै दिन कामविशेषले फर्कन ढिलाइ भयो भने त्यो दिन केके न अपराध गरेजस्तो डराइडराई घर छिर्नुपर्ने स्थिति नआउला भन्न सकिन्न।
अबको बाटो
कतिपय पुरुषलाई घरायसी काम या बच्चाको रेखदेखमा सहयोग गर्दा उनीहरूका साथीभाइ अथवा घरका अन्य सदस्यले जोइटिंग्रे, घरकुखुरेको उपमा समेत दिन पछि पर्दैनन्। त्यस्तै घरको काम महिलाको मात्र हो भन्ने सोच पुरुषमा मात्र होइन, हामी महिलामा पनि व्याप्त छ।
मुलुकमा राजनीतिक व्यवस्था र चेतनाको स्तर बदलिएको छ। शासन बदलिएको छ, थोरै भए पनि महिलाले शासन चलाउन थालेका छन्। सूचना प्रविधिले क्रान्ति ल्याइदिएको छ। तर समाजमा अझै पनि जतिसुकै पढेलेखेका महिला भए पनि जागिरसँगसँगै घर धान्ने जिम्मेवारी महिलाको मात्र हो भन्ने प्रवृत्तिमा कमी आउन सकेको छैन।
आगामी दिनमा राज्यले कामकाजी महिलाका समस्या सम्बोधन गरी महिलाले पाउने सेवासुविधामा वृद्धि, कार्यालयमा नै सुविधासम्पन्न चाइल्ड केयर सेन्टर, प्यारेन्टिङको बेला दिइने सहुलियत बिदाको व्यवस्था, कार्यालय समयमा लचकता आदि विषयमा लगानी गर्न जरुरी देखिन्छ।
महिला आफैंले पनि घरमा काम गर्न सक्ने सदस्यहरूबीच कामको बाँडफाँड गरिदिने, समाजमा आफ्ना आवाज बुलन्द पार्दै सचेतना फैलाउने गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण पक्ष परिवार हो। घरपरिवारबाटै महिलालाई सहयोग गर्नुपर्छ। जुन घरमा महिला खुसी हुन्छन्, त्यो घरका प्रत्येक सदस्य सुखी रहन्छन्। जब परिवारमा सुखशान्ति छाउँछ, समाज अनि देश नै समृद्ध बन्छ।