नक्कली बाबुछोरा बनेर नागरिकता
जाजरकोट : नक्कली बाबुछोरा बनेर नागरिकता लिने दुई जना पक्राउ परेका छन् । स्थानीय प्रशासनलाई झुक्याउँदै नक्कली बाबुछोरा बनेर नागरिकता लिएका दुई जनालाई जिल्ला प्रशासनको आदेशमा प्रहरीले पक्राउ गरेको हो । नलगाड–२ का चंखे पुन र उनलाई बाबु बनाई नेपाली नागरिकताको प्रमाणपत्र लिएका दाङ घर बताउने कमललाई सोमबार पक्राउ गरिएको हो ।
नक्कली बाबुछोरा बनी नागरिकता लिएको घटना सार्वजनिक भएपछि प्रशासनले उनीहरुलाई बयानका लागी बोलाएको हो । बयानको क्रममा चंखेले धर्मपुत्रको रुपमा १५ वर्षदेखि कमललाई घरमै पालेको खुलेको छ । सोमबार उनीहरुको बयान नसकिएपछि दुवैलाई हिरासतमा पठाइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । नागरिकता बनाउन सिफारिस गर्ने वडा नम्बर २ का वडाध्यक्ष रामकुमार जैसीलाई भने बयान लिएर छोडिएको छ ।
जिल्ला प्रशासनले नै जाजरकोट जिल्लामा बसोबास तथा बंशजको नाता सम्बन्ध कुनै पनि नभएका दाङ्ग घर बताउने कमललाई गत वर्ष नै नागरिकताको प्रमाणपत्र दिएको थियो । जिल्ला प्रशासनले नलगाड नगरपालिका–२ का वडाध्यक्ष रामकुमार जैसीको सिफारिसमा उक्त नागरिकता उपलब्ध गराएको थियो । जैसीले मिलोमतो गरी फर्जी कागज बनाई नागरिकताको सिफारिस गरेको खुलेको हो । वडाध्यक्ष जैसीले नलगाड– २ का चंखे पुनलाई बाबु बनाई कमललाई नागरिक दिलाउन सिफारिस गरेका हुन् । नलगाड वडा नम्बर २ का चंखे पुन र कौशिला पुनका एक मात्र सन्तान छन् । कमलले २०७५ असोज २६ गते झुट्टो विवरण पेश गरी बंशजको आधारमा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकता लिएका थिए ।
उनको नाममा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकतामा नागरिकता प्रमाणपत्र नं.०६२–०१७५–०२१३३ र जन्म २०२९।०१।०२ रहेको छ । झुट्टा विवरण पेश गरी नागरिकता लिएका कमल हाल नलगाड ५ कालीमाटीमा घुम्ती पसल गर्दै आएका छन् । प्रशासनले सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । वडा कार्यालयको मुचुल्का, सिफारिस, बाबु÷आमाको सनाखत लगायत कागजातका आधारमा नागरिकता वितरण गर्ने गरेको उनले वताए । झुट्टो विवरण पेश गरेर नागरिकता लिएको पाइए नागरिकता रद्ध गरी १५ हजार रुपैयाँ सम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान रहेको छ । बयान सकिएपछि ययार्थ खुल्ने र त्यसपछि मात्र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।