'सतीदेवी'काे सम्झनामा ८७ वर्षे 'आधुनिक शिवजी'
काठमाडौं : हिन्दु मिथकअनुसार भगवान शिवले सतीदेवीको शव काँधमै बोकेर विभिन्न ठाउँ चहारे ।
पत्नीको सम्झनामा कसैले कतिसम्म मेहनत गर्न सक्ला ? हिन्दु ‘मीथ’मा आधारित शिवजी झैँ पत्नीको प्रेरणाबाट मूर्तिकलामा सक्रिय ८७ वर्षीय वृद्धको कथा रोचक छ ।
ललितपुरका कालु कुमालेको कथा हो यो । जो ‘सतीदेवी’को शव शिवजीले बोके झैँ आफ्नी पत्नी लक्ष्मीमायाको स्मृति कुदिरहेका छन् ।
उनै सतीदेवी नै ठानेर लक्ष्मीमायाको मूर्ति बनाउँछन् । सतीदेवीकै आकार पनि उनी मूर्तिमा उतारिरहन्छन् । जसले एकांगी जीवनको नैराश्य हटाउने ठान्छन् कालु । हरेक दिन ज्यासलमा जान्छन् उनी । त्यहाँ महिलाका अनेक रुप मूर्तिमा उतार्छन् ।
सतीदेवीसँगै बसुन्धरा, बूढी आमा आदिका मूर्ति बनाएर मन बहलाउँछन् कालु । त्यसो त एक फिट अग्लो मूर्तिमा कालुले शिव र सतीदेवीको स्वरुप बनाएर नयाँ काम गरेका छन् ।
कालु आफूलाई लक्ष्मीमायाले पहिले खेतमा काम नगरिकनै मूर्ति बनाउन प्रेरित गरेको सम्झन्छन् । लक्ष्मीमाया अहिले छैनन् । हात्तीवनमा उनले हालै आफ्नी लक्ष्मीमायालाई सम्झिएर आँशु झारे । अहिलेसम्म उनले महाकाल, भैरव, रुद्र आदिका ६ सय मूर्ति बनाइसकेका छन् । ८७ वर्षको उमेरमा पनि उनको सक्रियता लोभलाग्दो र प्रेरणादायी छ ।
-श्याम रिमाल, (रासस)