इन्जिनियर, घुस र गुणस्तरको घनचक्कर

इन्जिनियर, घुस र गुणस्तरको घनचक्कर

देश निर्माण गर्न सरकार, इन्जिनियर र निर्माण कम्पनीको मात्र दायित्व होइन हामी उपभोक्ताको पनि उत्तिकै दायित्व हुन्छ 


‘ठेकेदारहरूले कमसल निर्माण सामग्री प्रयोग र बिल अफ क्वान्टिटी भन्दा थोरै काम गरेर धेरै मुनाफा गर्ने प्रयास त गर्छन् नै। अर्कोतर्फ नभएका विषयहरूको भेरियसन गराउने प्रयत्न पनि उत्तिकै गर्छन्। यो काम इन्जिनियरको सहयोगबिना उनीहरूले गर्नसक्ने अवस्था हुँदैन तर ‘पिसी’ को लोभमा परेर धेरै इन्जिनियरले ठेकेदारको यस्ता क्रियाकलापलाई सदर गर्छन्।’

असार मसान्तको चटारो एकतिर वर्षात्कै मेलोमा सडक कालोपत्रे गरिँदै थियो भने अर्कोतिर देशका विभिन्न ठाउँहरूबाट ठेकेदारले दिएको घुस रकमसहित कयौं इन्जिनियरहरू पक्डिँदै गरेको समाचार आउने क्रम जारी थियो। स्वाभाविक हो असार मसान्तमा हाम्रो आर्थिक फेरिने हुनाले अघिल्लो वर्षको कामको फरफारक हुँदा लेनदेन निकै बढेको हुन्छ, त्यही मेसोमा कतिपय प्रहरी अख्तियारको फन्दामा पर्छन्। देशभर हजारौं निर्माणकार्य दिनरात नभनी भइरहँदा असारभर यस्तो लाग्दथ्यो कि देशले छिट्टै काचुली फेर्दै छ। समृद्धिको लय समातिरहेको छ। छिट्टै चिल्ला सडक सम्पन्न हुनेछन्। सिँचाइ र ढल निकासलगायतका विकास रातारात हुनेछन् जस्तो भान हुन्थ्यो। विडम्बना हप्तादिन नहुँदै ती मर्मत र नयाँ निर्माण गरिएका अधिकांश संरचना पुरानै अवस्थामा पुगेका समाचार लगातार आइरहेका छन् र आउने क्रम जारी छ।

सरकारी तवरबाट निर्माण हुने संरचनामा मूलत :तीन पक्ष संलग्न हुन्छन्। क्लाइन्ट अर्थात लगानीकर्ता, परामर्शदाता अर्थात इन्जिनियर र निर्माणकर्ता अर्थात ठेकेदार। हाम्रा सबैजसो सार्वजनिक निर्माणको क्लाइन्ट सरकार हो भने केही ठूला परियोजनाबाहेकका आयोजनामा इन्जिनियरको काम पनि सरकारले नै गरेको देखिन्छ। ठेकेदार छनोटको प्रक्रिया खरिद ऐनअनुसार गर्ने चलन छ। केही अपवादबाहेक अधिकांश निर्माणव्यवसायीले विभिन्न हथकन्डा प्रयोग गरेर कामको ठेक्का जितेका हुन्छन्। त्यो तिकडमभित्र तीनवटै पक्ष सहभागी नभई काममा गडबडी हुन सक्दैन। तसर्थ ठेकेदारलाई मात्र गलत देखाएर उम्किने प्रवृत्ति गलत हो। निर्माणकार्य भइरहँदा हामी सेवाग्राहीले उपयोग गर्ने संरचना कुन गुणस्तरमा निर्माण भइरहेका छन्, स्पेसिफिकेसन अनुसार काम भइरहेको छ कि छैन भनेर सेवाग्राहीको दायित्व हामीले कहिल्यै सम्झिएका छैनौ, जसले गर्दा गडबडी गर्ने पक्षहरूलाई सहज भइरहेको देखिन्छ।

किन कमजोर हाम्रा संरचना

कुनै पनि संरचना निर्माणको चरणसम्म पुग्न धेरै प्रक्रिया पार गर्नुपर्ने हुन्छ। सुरुवाती चरणमा इन्जिनियारइङ अध्ययन गरिन्छ जसमा विस्तृत डिजाइन पनि पर्दछ, त्यो अध्यायन नै दिगो र गुणस्तरीय निर्माणको आधार बन्नुपर्छ। जमिन ( जिओलोजी) को प्रकृति, जमिनभित्र रहेको पानीको सतह, वर्षभरि हुने मौसम (वर्षा र तापक्रम) को असर, निर्माण सामग्री र प्रविधिको सहजता र पहुँचलगायत धेरै विषयको गहन अध्ययन गरेर डिजाइन गर्नुपर्ने हुन्छ। ती डिजाइन र लागत इस्टिमेट गरेका आयोजनालाई निर्माण कम्पनी (उपभोक्ता समितिसमेत) मार्फत निर्माणका लागि जिम्मा दिने व्यवस्था छ। निर्माण भइरहँदा सम्पूर्ण कामको गुणस्तर कायम गर्ने जिम्मा सुपरभिजन इन्जिनियर र ठेकेदारको संयुक्त दायित्व हो। ठूला आयोजनामा ठेक्काको प्रकृति हेरेर केही फरक प्रावधान र दायित्व हुने भए पनि मोटामोटी प्रक्रिया यही नै हो। उपभोक्ता समितिमार्फत् गरिने कामको गुणस्तर कायम गर्ने जिम्मा पनि उपभोक्ता समिति र संलग्न प्राविधिककै हुन आउँछ।

आयोजना निर्माण चरणमा पुग्ने प्रक्रिया भइरहँदा कमीकमजोरी र नियतवश गरिने गोलमालका कारण हाम्रा संरचना गुणस्तरको आधार कमजोर भइरहेको छ। भूगर्भ अध्ययनमै कमीकमजोरी हुन्छ, कतिपय अवस्थामा भूगर्भ अध्ययन नै गरिँदैन परिणामस्वरूप कयौं राजमार्गका पुलहरूको जग भासिन पुगेका छन्। सडक निर्माण गर्दा आवश्यक पर्ने सतही ढलान (दाहिने देव्रेतिरको स्लोप) को गहन अध्ययन नगरी जथाभावी कटान गरेर उचित व्यवस्थापन नगर्दा वर्षेनी पहिरोको चपेटामा पर्नु परेको छ। सडक सतहको जमिनको भारवहन क्षमता ठीक रूपमा पहिचान गर्न नसक्नु, बेस र सवबेसका निर्माण सामग्रीको गुणस्तर कायम गर्न नसक्नु, डिजाइनअनुसारको पिच र सवबेस नराख्नु अनि आवश्यक कम्प्याक्सन नगर्नु जस्ता कारणले हाम्रा सडक निकै न्यून गुणस्तरमा निर्माण भइरहेका छन्। बाढी नियन्त्रणका लागि भनेर निर्माण गरिएका स्पर र ग्रोएनलगायतका संरचना निर्माण गर्दा हाइड्रोलोजीको उचित अध्ययन नगर्नाले तिनै संरचनाका कारण डुबान र कटानको समस्या झेल्नु परिरहेको छ।

बाढी नियन्त्रणका लागि भनेर निर्माण गरिएका स्पर र ग्रोएनलगायतका संरचना निर्माण गर्दा हाइड्रोलोजीको उचित अध्ययन नगर्नाले तिनै संरचनाका कारण डुबान र कटानको समस्या झेल्नु परिरहेको छ।

तर, साना ठूला सबै काम गर्न गहिरो इन्जिनियरिङ अध्ययन गर्न समय र आर्थिक दृष्टिकोणबाट सम्भव रहँदैन। वर्षभरि लगातार निर्माण भइरहने ग्रामीण सडक, बेलाबेलामा मर्मत र सम्भार गर्न पर्ने सहरी र अन्य सडक, बाढीपहिरो रोकथामलगायतका धेरै काम गर्न सबै किसिमका इन्जिनियरिङ अध्ययन पूरा गर्न समयले साथ दिँदैन भने अर्कोतर्फ आर्थिक बोझ उत्तिकै हुन्छ। तसर्थ देशले विभिन्न रिसर्चहरूमा लगानी गर्नुपर्छ। यदि हाम्रो भूबनोट, मौसम र उपयोगिता धारअनुसार निश्चित इन्जिनियरिङ गाइडलाइन निर्माण गर्न सकियो भने आवश्यक परेको ठाउँमा सोहीअनुसार संरचना निर्माण र मर्मतसम्भार गर्न सकिने अवस्था हुने थियो तर विडम्बना इन्जिनियरिङ रिसर्चमा हाम्रो लगानी शून्यबराबर जस्तै छ।

घुस र गुणस्तरको सम्बन्ध

इन्जिनियरहरूले गर्ने अनियमिततासम्बन्धी एक कथाको सम्झना आउँछ, कुनै गाउँमा पोखरी खन्ने भनेर केही लाख रुपैयाँ विनियोजन गरेछन्, पछि त्यही खाल्डो (पोखरी) पुर्ने भन्दै अरू थप केही लाख पनि झ्वाम पारेछन्। पछि केन्द्रबाट निरीक्षण आउँदा पोखरी खनेको र पछि खाल्डो पुरेको भन्दै एक जमिन देखाएछन्। दुवै कामको पैसा पकेटमा तर खन्ने र पुर्ने काम भने भएकै थिएन। हो यस्तै प्रवृत्ति हाबी छ हाम्रो कर्मचारी प्रशासनमा।

रौतहटका १६ आयोजनामा कुनै पनि काम नगरी सिँचाइ कार्यालयका प्रमुख ( इन्जिनियर नै हुन् ) को मिलेमतोमा नक्कली बिल बनाएर पैसा अपचलन पारेकाले अख्तियारले मुद्दा दायर गरेको समाचार आएको छ। सो अनियमिततामा डिभिजन प्रमुख, इन्जिनियर, सब इन्जिनियर र उपभोक्ता समितिका पधादिकारीसमेत संलग्न रहेको देखिन्छ। अर्थात तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारी मात्र होइन सेवाग्राही अर्थात उपभोक्ता समूहका नेतृत्वसमेत भ्रष्टाचारमा लिप्त छन्।

सबैभन्दा पहिला इन्जिनियरिङ अध्यायन र लागत इस्टिमेट तयार पार्दा नै गोलमाल गर्ने प्रचलन छ, मुख्यतया कोटेसनमा दिन तयार पारिने साना काममा यस्तो गरिन्छ। कामको परिणाम जति प्रतिशतले वृद्धि गर्‍यो सोही अनुपातमा लागत पनि बढ्नु स्वाभाविक भयो। काम सकेर बिल फरफारक गर्ने बेलामा त्यही विषय नै ठेकेदारसँग रस्साकस्सी गर्ने विन्दु बन्छ। न्यून गुणस्तर र धेरै अनियमितता हुने भनेको निर्माणको चरणमा हो। ठेकेदारहरूले कमसल निर्माण सामग्री प्रयोग र बिल अफ क्वान्टिटी भन्दा थोरै काम गरेर धेरै मुनाफा गर्ने प्रयास त गर्छन् नै अर्कोतर्फ नभएका कुराको भेरियसन गराउने प्रयत्न पनि उत्तिकै गर्छन्। यो काम इन्जिनियरको सहयोगबिना उनीहरूले गर्न सक्ने अवस्था हुँदैन तर ‘पिसी’ को लोभमा परेर धेरै इन्जिनियरहरूले ठेकेदारको यस्तो क्रियाकलापलाई सदर गर्छन्। परिणामस्वरूप निकै न्यून गुणस्तरका संरचना बनिरहेका छन्।

हाम्रा सडकहरूको अवस्था हेरौं, पिच गरेको केही दिनमै कतिपय सडक फेरि पुरानै अवस्थामा फर्किन्छन्। यसको मूल कारण ‘पिसी’ नै हो अर्थात घुस। पिच, बेस र सवबेस गर्ने सामग्रीको गुणस्तर कायम नगरिनु र चाहिने मोटाइ नराख्नु, आवश्यक कम्प्याक्सन नगर्नु र पानी परिरहेको बेलामा काम गर्दा अपनाउनुपर्ने प्राविधिक तरिका नअपनाउनेले हाम्रा सडकहरूको हरिबिजोग भइरहेको छ। स्पेसिफिकेसन एकातिर हुन्छ काम अर्कोतिर। यी सबै कामको निरीक्षण इन्जिनियरले नै गर्ने हो। स्पेसिफिकेसन अनुसारको काम नहुँदा काम रोक्ने, गुणस्तरहीन कामको सुधार गर्न लगाउने, आवश्यक परेमा भत्काएर नयाँ बनाउन लगाउने जिम्मा इन्जिनियरकै हुन्छ। यदि निर्माणकर्ताले इन्जिनियरको सुझाव वा आदेश मानेन भने बिल पास नगरिदिने अधिकार पनि इन्जिनियरमै निहित छ। तर, यस्तो भए÷गरेको सुन्न मा आउँदैन किनकि अन्तिममा कुरा फेरि ‘पिसी’ मै टुंगिन्छ। इन्जिनियरको पकेटमा केही प्रतिशत पुग्दा देश निर्माणमा ठूलो धक्का लागिरहेको हुन्छ। यहाँनेर के भुल्नु हुँदैन भने गुणस्तर कायम गर्नु इन्जिनियरको मात्र दायित्व होइन ठेकेदारको पनि उत्तिकै व्यावसायिक दायित्व र जिम्मेवारी हुन आउँछ। तर, नेपालमा त्यस्ता जिम्मेवार निर्माण कम्पनी निकै न्यून मात्रामा छन्।

कतिपय ठेक्कापट्टाको निर्णय गर्दा पनि मिलेमतो हुने गरेको, सिन्डिकेट लगाएर आफ्ना ग्रुपबाहिरका निर्माण कम्पनीलाई प्रतिस्पर्धा गर्न निषेध गरेको, कतै कतै डनहरूको प्रयोग गरी काम हत्याएको जस्ता अनेक काम हाम्रा सामुन्ने भइरहेका छन्। फर्जी प्रमाण बनाएर प्राविधिक क्षमता पुष्टि गर्ने गरेको पनि देखिन्छ तर यी सबैजसो अनियमिततामा पनि निर्णयकर्ताको कतै न कतै संलग्नता भएकै हुन्छ। यस्ता अनियमितताको अन्त्य पनि ‘पिसी’ मै गएर टुंगिने गरेको छ।

अन्त्यमा,

इन्जिनियरिङ रिसर्चमा हाम्रो लगानी शून्यजस्तै छ। देशले यो क्षेत्रलाई विशेष महत्व दिँदै प्राथमिकतामा राख्नुपर्छ, जसले गर्दा निर्माणकार्यका लागि देश सुहाउँदो निर्देशिका निर्माण गर्न सकियोस्। सम्पूर्ण प्राविधिकले आफ्नो व्यावसायिक धर्म छोड्नु भएन भने निर्माण कम्पनीहरूले देश विकासमा आफ्नो दायित्व भुल्नु भएन। पैसाको पछि दौडिएर देश निर्माण र समृद्धिको बाटो अवरुद्ध गर्ने सबैलाई कानुनअनुसार कडा भन्दा कडा कार्बाही गर्न सम्बन्धित सरकारी निकायलाई बलियो बनाउनु आवश्यक छ। देश निर्माण गर्न सरकार, इन्जिनियर र निर्माण कम्पनीको मात्र दायित्व होइन हामी उपभोक्ताको पनि उत्तिकै दायित्व हुन्छ। हाम्रा वरिपरि निर्माण हुने सबै सार्वजनिक निर्माणको गुणस्तर के कस्तो छ, स्पेसिफिकेसन अनुसार काम भएको छ छैन जस्ता विषय जनस्तरबाट सबैले निगरानी राख्न सकियो भने दिगो र भरपर्दो संरचनाको निर्माण हुनेमा दुई मत छैन।

धेरैजसो विरोध असारे मौसममा सडक निर्माण गरिएकाले गुणस्तर कायम हुन नसकेकोमा हुने गरेको छ। तर, वर्षातको समयमै पनि उचित प्रविधि र ध्यान पुर्‍याउन सकियो भने गुणस्तरमा कुनै सम्झौता नगरी काम सम्पन्न गर्न सकिन्छ। स्कटल्यान्ड, डेनमार्क, नर्वेलगायत धेरै देशमा जाडो मौसममा वर्षा हुने र हिँउ पर्ने हुन्छ (हाम्रो भन्दा ठीक उल्टो छ ) तर सोही समयमा उनीहरू सबै किसिमका निर्माण कार्य गरिरहेका हुन्छन्, गुणस्तरमा कुनै कमीकमजोरी हुँदैन स्पेसिफिकेसन अनुसार नै काम सम्पन्न गर्छन्। त्यसैले मौसमलाई गाली गर्नु भन्दा पनि त्यस्तो मौसममा कसरी के प्रविधि र तरिका अपनाउँदा गुणस्तरीय काम गर्न सकिन्छ भनेर सोच्नु आवश्यक छ। तर, नियत नै खराब भएपछि जस्तोसुकै राम्रो मौसममा निर्माण गरे पनि अहिले झैं सडक र अन्य संरचना निर्माण गरेको केही समयमै भात्किने क्रम रोकिने छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.