दुई अर्बको आलु उत्पादन

दुई अर्बको आलु उत्पादन

ताप्लेजुङ : सरकारी निकायको तथ्यांकलाई मान्ने हो भने ताप्लेजुङमा वार्षिक अढाइ अर्बको आलु उत्पादन हुन्छ। हिमालदेखि औलसम्मका ९० प्रतिशत कृषकले आलुखेती गर्छन्। तर, जिल्लाको उत्पादनले दुई महिना पनि धान्दैन।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत आर्थिकक वर्ष ४२ हजार मेट्रिक टन आलु उत्पादन भयो। यहाँको आलु ४० देखि सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ। सदरमुकाम फुङलिङदेखि गाउँसम्मका स्थानीयले बाहिरी जिल्लाबाट आलु खरिद गर्नुपर्ने अवस्था छ। जिल्लामा कति आलु आयात गरिन्छ र माग कति हो भन्ने तथ्यांक कसैसँग छैन। व्यावसायीका अनुसार स्थानीय आलुले पाँच प्रतिशत पनि माग धान्दैन। ‘अहिले लोकल आलुको सिजन हो र पनि हप्तामा ४० क्विन्टलभन्दा बढी बाहिरबाट ल्याउनुपर्ने अवस्था छ’, उनले भने, ‘स्थानीय आलु अबको एक महिनामा सकिने हुँदा त्यसपछि दोब्बर आयात गर्नुपर्छ।’ स्थानीय आलुको मूल्य प्रतिकिलो ७० देखि ८० र आयातित आलुको ४० देखि ४५ रुपैयाँ छ।

आलुमा आत्मनिर्भर बनाउन तत्कालीन कृषि विकास कार्यालयले २०७१ बाटै विभिन्न कार्यक्रम सञ्चालन गर्‍यो। परम्परागत खेतीप्रणालीबाट मुक्त गराई आधुनिक खेतीमा लगाउन भन्दै पकेट तथा ब्लक क्षेत्र बनाएर अनुदान दिने, बिउ आलु भण्डारण केन्द्र निर्माण, तालिम भ्रमण जस्ता कार्यक्रममा लाखौं खर्च गरियो। स्थानीय सरकार गठन भएपनि पनि कृषिमा पर्याप्त कार्यक्रम हुने गरेको छ। तर, आयात भने बढ्दो छ।

आलुको उत्पादनमा सरकारले लगानी गरेको लामो समय भइसक्दा उत्पादन भने घट्दो क्रममा छ। तत्कालनि जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार आर्थिक व्र्ष ०७१÷७२ मा तीन हजार नौ सय हेक्टरमा गरिएको खेतीबाट ४८ हजार ३ सय ४५ मेट्रिकटन आलु उत्पादन भएको थियो। गत आवमा चार हजार हेक्टरमा ४२ हजार ३० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

असिना पानी, हुरीबतास, रोगकीराको प्रकोपले आलु उत्पादन घटेको फुङलिङ नगरपालिका–९ का कृषक निमा शेर्पा बताउँछन्। जिल्लामा वर्षे र हिउँदे गरी दुई पटक आलु उत्पादन हुने गरेको छ। बुङकुलुङकै कृषक पाशाङरिता शेर्पाका अनुसार हिउँदे कम र वर्षे बढी उत्पादन हुन्छ। सरकारले आफ्नो गाउँलाई ब्लक बनाएकाले उत्पादन बढ्नेमा उनको विश्वास छ।

चार हजार मिटरभन्दा माथि उचाइको फक्ताङलुङ गाउँपालिका–७ याङमादेखि ३१ सय मिटर उचाइमा रहेको सोही गाउँपालिकामा पर्ने घुन्साको मुख्य बाली आलु हो। यो बाहेक मिक्वाखोला गाउँपालिकाको पापुङ, साँवा, मेरिङ्देनको नाल्वु, सिरिजंघाको याम्फुदिन, फुङलिङ नगरपालिकाको बुङकुलुङ, उकालीपानी र चारपाटे बढी आलु उत्पादन हुने गाउँ हुन्।

हिमाली क्षेत्रको मुख्य खान्कीनै आलु भएकाले माग धेरै रहेको नगरपािलकाका कृषि प्राविधिक दिपक भण्डारी बताउँछन्। जिल्लाको जनसंख्या १ लाख २७ हजार छ भने कञ्चनजंघा, पाथीभरालगायत पर्यटकिय स्थल घुम्न वार्षिक चार लाख हाराहारी मानिस आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.