पोखराका नौ कार्यालय चोरी गर्ने एउटै व्यक्ति, १४ महिनापछि समातिए
पोखरा : पालैपालो पोखरा महानगरपालिकाका ११ वटा वडा कार्यालय चोरेका व्यक्तिलाई कास्की प्रहरीले १४ महिनापछि पक्रेर सार्वजनिक गरेको छ। काठमाडौं १० घर भएका ५१ वर्षे किशोर थापालाई सोमबार पक्रेर बुधबार प्रहरीले सार्वजनिक गरेको हो।
पोखरा महानगरपालिका वडा नम्बर १२ को कार्यालय २०७५ जेठ ३ गते पहिलोपटक चोरी भएको थियो। त्यसपछि लगातार अरु वडामा चोरी भएका थिए। पछिल्लोपटक साउन २१ गते वडा नम्बर ६ को कार्यालय चोरी भएको थियो। पढ्नुस्ः पोखरामा श्रृंखलाबद्ध चोरी : तीन महिनामा ११ वडा कार्यालय लुटिए
सीसीटीभी भिडियोमा देखिएका थापालाई उनको जिउडाल हेरी राष्ट्र बैंक चोक पोखराबाटै प्रहरीले समातेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। थापा पोखरा ९ मा डेरा लिएर बस्दै आएका थिए। उनको अर्को डेरा पोखरा १० मा पनि रहेको प्रहरीले पत्तो लगाएको छ।
यसअघि पनि उनी २ पटक डाकाचोरी मुद्दामा जेल परेर छुटेको रेकर्ड रहेको जानकारी कार्कीले दिए। ‘२०४६ देखि ५१ सालसम्म केन्द्रीय कारागारमा थुनिएका रहेछन्’, उनले भने, ‘२०७१ सालदेखि ७४ सम्म पनि थापा जेलमै थिए।’
वडा नम्बर ५, १३, १४, १९, १५, १६, २५, २९ र ३१ का कार्यालयहरूमा पनि थापाले ल्यापटप लगायत सामान चोरेका थिए। एसपी कार्कीका अनुसार थापाले चोरी स्वीकारिसकेका छन्। अरु वडा कार्यालयहरूका सीसीटीभी फुटेजमा समेत देखिए पनि थापालाई पक्रन प्रहरीलाई १४ महिना लागेको छ। प्रहरी सबै वडाको चोर एकै व्यक्ति भएको निष्कर्षमा भने पहिल्यै पुगेको थियो।
थापाको डेराबाट प्रहरीले चोरी गर्न प्रयोग हुने सामानहरू बदामद गरेको छ। पञ्जा, मास्क, स्क्रु ड्राइभर, टोपी, ल्यापटप चार्जर, छड, ताला काट्ने धारिलो वस्तु लगायत सामान बरामद भएको छ। चोरी गरेका विद्युतीय उपकरण भने उनको कोठामा थिएनन्।
चोर्नासाथ काठमाडौं लगेर थापाले बेच्ने गरेको स्वीकारेका छन्। थापाकै बयानअनुसार प्रहरीले बिक्री भइसकेको ठाउँबाट ३ थान ल्यापटप लगायत सामान पनि काठमाडौंबाट बरामद गरेको छ। १७ वटा मनिटर, ९ वटा सीपीयू पनि प्रहरीले बरामद गरेको छ।
चोरीका सामान किनेको आरोपमा काठमाडौं कलंकीका रुपचन्द्र गोपालीलाई पनि प्रहरीले समातेको छ। गोपालीले कम्प्युटर पसल चलाउँदै आएका छन्। कास्की प्रहरीले थापालाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा कास्की अदालतबाट हिरासतमा राख्ने म्याद थप गरी अनुसन्धान गरिरहेको छ।