‘आईसीयूमा पनि राता मकै भन्न बाध्य भएँ’

‘आईसीयूमा पनि राता मकै भन्न बाध्य भएँ’

कलाकार किरण केसीलाई दर्शक ‘राता मकै’का नामले बढी चिन्छन् । लामो समयदेखि कलाकारितामा सक्रिय उनी हास्य सिरियल ‘जिरे खुर्सानी’बाट लोकप्रिय भए । पछिल्लो समय उनी फिल्म निर्माणमा पनि आबद्ध छन् । उनीसँग युवराज भट्टराईले हास्य संवाद गरेका छन् । 


एक बिहान उठ्दा आफूलाई महिलाका रूपमा पाउनुभयो भने के गर्नुहुन्छ ? 

सबभन्दा पहिले त चकित हुन्छु । अनि, बच्चा भएको कि नभएको महिला भनेर ‘चेक’ गर्छु । यत्तिका वर्ष पुरुषका रूपमा बाँचेको मान्छे, अचानक महिला हुँदा रमाइलो हुन्थ्यो होला । आफ्नो छाती हेरेर आफैँ लजाउँथे होला । आफ्नै बोली, हाउभाउमा छक्क पर्थें होला । 

अदृश्य हुने शक्ति हासिल गर्नुभयो भने के गर्नुहुन्थ्यो ? 

मसँग अदृश्य हुने शक्ति भयो भने देशका भ्रष्टाचारीहरूको ढुकुटीमा पसेर कति सम्पत्ति छ भन्ने कुरा जानेर सर्वसाधारण माझमा छरपस्ट पारिदिन्थेँ । 

हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ भन्छन् । त्यसो भए कुनै बिरामीलाई हँसाएरै निको पार्न सकिएला त ?

सकिन्छ । हाँस्नु आफैँमा स्वास्थ्यका लागि राम्रो हो । हाँसो भनेको एउटा मनो–थेरापी पनि हो । डिप्रेसन, तनाव भएको मान्छेलाई हँसाइदियो भने उसमा भएको उदासी कम हुन्छ । दिनभरिको तनाव बोकेर साँझ घर फर्किएको मान्छेलाई पनि कसैले हँसाइदिने हो भने उसको तनाव तत्कालै सकिन्छ । ऊ फ्रेस भइहाल्छ । बिरामीलाई पनि हाँसोले ओखतीको काम गर्न सक्छ ? 

खासमा हाँस्नका लागि के चाहिन्छ ? 

हाँस्नका लागि मान्छे स्वस्थ र मस्त हुनुपर्छ । लेनादेना, तनावलाई त्यागेर हाँस्न सक्ने मान्छे संसारको सबैभन्दा धनी मान्छे हो । 

वास्तविक जीवनमा तपाईं कस्तो हुनुहुन्छ ? रमाइलो प्रकृतिको हुनुहुन्छ ? 

म बहुतै रमाइलो मान्छे हुँ । ९९.९ प्रतिशत रमाइलो मान्छे ! बाँकीको ०.१ प्रतिशत चाहिँ जीवनका विभिन्न झन्झटले खाइदिन्छन् । 

पर्दामा निर्वाह गरेको भूमिका वास्तविक जीवनमा जिउनुपर्‍यो भने के गर्नुहुन्छ ? 

कतिपय पर्दाका कुरा वास्तविक जीवनमा पनि मेल खान्छन् । हामीले पर्दामा देखाउने भनेकै हाम्रो समाजमा भएका, हुन सक्ने घटना हुन् । पर्दाको जस्तै पात्र भएर बाँच्नुपर्‍यो भने पनि बाँचिन्छ । 

अरूलाई हँसाउन खप्पिस मान्छे तपाईंलाई हँसाउन भने कत्तिको सजिलो छ ? 

म ज्यादै सजिलो मान्छे हुँ । मलाई श्रीमतीले हँसाउँछिन् । हरिवंश आचार्य, मनदकृष्ण श्रेष्ठ, शिवहरि पौड्याल, सुरेन्द्र केसी ‘मुला साग’ले पनि हँसाउनुहुन्छ ।  देशका नेताले पनि मलाई हँसाउँछन् । तिनको व्यहोरा, काम गराइले कम्ता हँसाउँदैनन् । 

प्लास्टिक सर्जरी गरेर शरीरको कुनै अंग बढाउनुपर्‍यो भने कुन अंग बढाउनुहुन्छ ?

म त घटाउन चाहन्छु । आफ्नो नाक अलि ठूलो भएको जस्तो लाग्छ । नाकलाई अलि सानो बनाउने थिएँ । 

जनावरको रूप लिनुपर्‍यो भने कुन जनावर बन्नुहुन्छ ? 

जनावर नै बन्नुपर्‍यो भने बिरालो किन बन्नु ? बनेपछि सिंह नै बन्छु । आखिर जंगलको राजा हो, सिंह । 

तपाईंलाई बढी हाँसो उठेको आफ्नो बारेको मजाक कुन हो ? 

सामाजिक सञ्जालमा मेरा टेलिफिल्महरूको क्यारेक्टरलाई लिएर मजाक बनाइरहेका हुन्छन् । मैले गरेका कामहरूको जोक्स बनाइरहेका हुन्छन् । पछिल्लो समय मलाई बढी मज्जा लागेको आफ्नै जोक ‘को बन्छ करोडपति’को हो । कान्तिपुर टेलिभिजनको एउटा अन्तर्वार्ताको प्रसंग सम्झेर अहिले पनि हाँस्छु । एक जना पत्रकार भाइले मलाई इन्टरभ्यूका लागि बोलाउनुभयो । त्यहाँ गएर मेकअप गरेँ । स्टुडियोमा गएर बसेपछि अन्तर्वार्ता सुरु भयो । केही मिनेटपछि अर्का एक जना भाइ आएर ‘मैले बोलाएको मान्छेलाई किन तिमीले अन्तर्वार्ता लिएको’ भनेर विवाद गर्न थाले । दुवै जनाको विवाद हेर्दाहेर्दै बीचमा रहेको म पंगु भएँ । पछि थाहा भयो, उनीहरूले मिलेमतोमा त्यस्तो गरेका रहेछन् । 

आफू दुःखी र उदास क्षणमा हुँदा पनि हँसाउनुपरेका कुनै घटना छन् कि ? 

यस्ता घटना धेरै पटक भएका छन् । बुबा बितेको समयमा म त्यति धेरै चर्चित  भइसकेको थिइनँ । ‘१५ गते’ टेलिसिरियलमा काम गर्थें । बुबा बितेको बेला पशुपतिमा मलाई देखेर धेरै मानिस हाँसेका थिए । उनीहरू हाँसेको कारण म रुन पाएको थिइनँ । पछि एक्लै दक्षिणकाली मन्दिर गएर बुबालाई सम्झिएर धुरुधुरु रोएको छु । 

अर्काे घटना पनि छ । आमालाई बी एन्ड बी अस्पतालमा आईसीयूमा राखिएको थियो । आमालाई पाइपबाट झोल खानेकुरा खुवाइरहेको थिएँ । एक जना महिला आफ्नो बच्चा लिएर आइन् र मलाई ‘एक पटक मेरो बाबुलाई राता मकै भन्दिनुपर्‍यो’ भन्दै जिद्दी गरेकी थिइन् । आँखाभरि आँशु लिएरै पनि मैले ‘राता मकै’ भनेको थिएँ । चार वर्षअघि दाजु बितेको समयमा गोरखामा एउटा कार्यक्रममा थिएँ । श्रीमतीले खबर गरिसकेपछि रुन मन हुँदाहुँदै पनि स्टेजमा गएर दर्शकलाई हँसाएको छु ।

अहिले हास्यव्यंग्यका नाममा कलाकारले भद्दा र छाडा प्रस्तुति दिएको भन्ने कुरा उठिरहेको छ । यसमा तपाईंको के टिप्पणी छ ? 

अहिले हास्यव्यंग्यमा केही मात्रामा छाडापन आएको सत्य हो । दोहोरो अर्थ लाग्ने र भद्दा प्रस्तुतिमा दर्शक बढी हाँसिदिन्छन् । केही कलाकारले यस्तै कुरालाई अधिक प्रयोग गरिरहेका छन् । तर, यसमा मेरो आपत्ति छ । अहिलेका हास्य कलाकार, स्टयान्ड अप कमेडियनले यस्ता कुरालाई बढी प्रयोग गरेका छन् । हास्यव्यंग्य नांगो हुँदै गएको छ । कलाकारले ठीक शैली र प्रस्तुति समाउनुपर्छ । समाजमा आफ्नो प्रस्तुतिले कस्तो प्रभाव पार्छ भन्नेमा सचेत हुनुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.