तनहुँ विवाद अनुशासन समितिमा पठाउँदै कांग्रेस
काठमाडौं : नेपाली कांग्रेस तनहुँको विवादबारेमा पनि केन्द्रीय समिति बोलेको छ। कांग्रेस तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता गोविन्दराज जोशीको विवाद छ।
आफूनिकट कार्यकर्तालाई उपेक्षा गरिएको भन्दै विशेष अधिवेशन बोलाउँदै पार्टी जोशीले यसअघि जिल्लामा समानान्तर समिति गठन गरेका थिए।
आफ्नो समूहबाट उनले डिल्लीराम अधिकारीलाई समूहले सभापति घोषणा गरेका थिए। तर केन्द्रीय समितिले बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक सभापति रहेको स्पष्ट गरेको छ।
यो जिल्लामा कांग्रेसको अर्को कुनै समिति नरहेको कांग्रेस केन्द्रीय समितिले स्पष्ट पारेको छ।
कांग्रेस नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने कांग्रेसले दाबी गरेको छ। तनहुँमा भएको भए त्यो दण्डनीय र अनुशासनको गम्भीर। उल्लंघन भएको कांग्रेसको निष्कर्ष छ।
यस्ता गतिविधिमा संलग्न सदस्यलाई पार्टीको विधान र नियमावलीअनुसार आवश्यक निर्णय गर्नका लागि केन्द्रमा प्राप्त उजुरीसहितको फाइल र कागजात केन्द्रीय अनुशासन समितिमा पठाउने कांग्रेसले निर्णय गरेको छ।