नेकपामा स्कुल विभागमा अडान यथावत्

नेकपामा स्कुल विभागमा अडान यथावत्

काठमाडौं : स्कुल विभागको नेतृत्व विवाद नमिल्दा सत्तारूढ नेकपाको सचिवालय बैठक फेरि अवरुद्ध हुन थालेको छ। १३ साउनपछि सचिवालय बैठक बसेको छैन। मंगलबारका लागि बोलाइएको बैठक बुधबार बस्ने गरी स्थगित भएको थियो। तर बुधबार पनि बैठक एक दिन पछि सारिएको छ। सचिवालय बैठक अब बिहीबार बस्ने नेताहरुले बताएका छन्।

आन्तरिक गृहकार्य नसकिएका कारण बैठक बिहीबारका लागि सारिएको नेताहरूको तर्क छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय (केपी ओली र पुष्पकमल दाहाल) ले गृहकार्य नपुगेको जानकारी गराउँदै बैठक स्थगितको सूचना सुनाएको बताए। ‘उहाँहरूले गृहकार्यमै छौं भन्नुभएको छ। अरू हामीलाई थाहा छैन,’ प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘अब बिहीबार बैठक बस्ने सूचना छ।’

नेकपामा ३२ विभाग, एउटा नीति अध्ययन प्रतिष्ठान, विशेष प्रदेश, प्रवास कमिटी र २२ वटा जनवर्गीय संगठनको इन्चार्जको जिम्मेवारी तोक्न बाँकी छ। त्यस्तै कम्युनिस्ट जेष्ठ मञ्च, सल्लाहकार पारिषद्, तीन केन्द्रीय आयोग गठन गर्न बाँकी छ।

केन्द्रीय समितिको कार्य विभाजन बाँकी रहेका नेताहरूलाई विभाग, आयोग, विशेष प्रदेश र जनवर्गीय संगठनका फ्याक्सन इन्चार्जको जिम्मेवारी दिने गरी कार्य विभाजन प्रस्तावमा छलफल छ। तर पार्टीका महŒवपूर्ण मानिने संगठन, विदेश, अर्थ, स्कुल लगायत विभाग सचिवालय सदस्य आफंैले नेतृत्व लिने गरी तयारी छ। त्यसमध्येको स्कुल विभागमा सचिवालयका दुई सदस्य प्रवक्ता श्रेष्ठ र ईश्वर पोखरेलले दाबी छोडेका छैनन्। श्रेष्ठलाई अध्यक्ष दाहाल र पोखरेललाई अध्यक्ष ओलीले स्कुल विभागको नेतृत्व जिम्मा दिन खोजेका छन्।

अध्यक्षद्वयकै रुचि बाझिएपछि विभागको नेतृत्वको टुंगो नलागेको हो। स्कुल विभागलाई छोडेर १८ विभाग पूर्वएमाले र १४ विभाग पूर्वमाओवादी नेताहरूले नेतृत्व लिने गरी भागबन्डा भएको थियो।

जनवर्गीय संगठन इन्चार्जमा पनि विवाद

पार्टीका २२ जनवर्गीय संगठनमध्येका मुख्य संगठनको इन्चार्जको जिम्मेवारीमा पनि विवाद देखिएको छ। युवा, मजदुर, महिला विभाग पूर्व एमाले र विद्यार्थीलगायत जवस मोर्चाको नेतृत्व पूर्वमाओवादीवाट लिने गरी दुई अध्यक्षमा भागबन्डा भएको थियो।

पूर्वमाओवादीतर्फ विद्यार्थीको फ्याक्सन इन्चार्जमा हितमान शाक्यको नाम सिफारिस भए पनि पूर्व एमालेतर्फका इन्चार्जमा भने अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचमै विवाद छ।

ओली पक्षले मजदुरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका स्थायी समिति सदस्य विष्णु रिमाल, युवामा महेश बस्नेत र महिलामा गोमा देवकोटालाई इन्चार्ज बनाउन चाहेको छ।

तर तीनमध्ये एउटा जनसंगठनको इन्चार्ज आफ्नो पक्षका नेतालाई दिनुपर्ने अडानमा नेता नेपाल पक्ष छ। तर मंगलबार बिहान पूर्वएमाले तर्फका सचिवालय सदस्यहरूको छलफलमा ओली पक्षले तीनवटै जनसंगठनको इन्चार्ज नछोड्ने संकेत गरेपछि पूर्वएमालेभित्रै विवाद निम्तेको थियो।

‘मुख्य जनसंगनठको इन्चार्जसिपका विषयमा पनि केही मिलेको छैन। विवाद देखिएको छ। त्यसले पनि सचिवालय बैठकलाई प्रभावित पारेको छ,’ सचिवालयका एक सदस्यले भने।

दुई अध्यक्षबीच बुधबार बिहान भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले थप गृहकार्यका लागि एक दिन छलफल गरौं भन्ने प्रस्ताव गरेपछि बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको थियो। बैठक स्थगित गरेर दुई अध्यक्षले बुधबार बिहान र दिउँसो छलफल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.