श्रीलाई नियमित अन्तर्राष्ट्रिय उडानको अनुमति

श्रीलाई नियमित अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं : निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले नियमित उडान (सेड्यूल फ्लाइट) को अनुमति दिएको छ । मंगलबारको पर्यटनमन्त्रीस्तरीय निर्णयबाट श्री एयरलाइन्सलाई भारतका चार र बंगलादेशको एक गन्तव्यमा नियमित उडान गर्ने गरी अनुमति दिएको हो ।

मन्त्रालयले बुधबार श्री एयरलाइन्सलाई एक पत्रमार्फत फिक्स विंग्स (स्थिर पंखाजडित) जहाजमार्फत नियमित अन्तर्राष्ट्रिय उडानको इजाजत पत्र (लाइसेन्स) दिने निर्णय भएको जानकारी दिएको छ । श्रीलाई मन्त्रालयले भारतको कोलकाता, दिल्ली, अहमदाबाद र बैग्लोरमा तथा बंगलादेशको ढाकामा नियमित उडान गर्ने गरी यस्तो अनुमति दिएको हो । अब श्रीले उडान अनुमतिका लागि सरकारले तोकेको राजश्व तिरेर अनुमतिको प्रमाणपत्र लिन सक्ने पर्यटन मन्त्रालयअन्तर्गतको हवाई उड्डयान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार अन्तर्राष्ट्रिय उडानका निम्ति प्रतिसेक्टर पाँच लाख रुपैयाँ राजश्व बुझाउनुपर्छ । यो शुल्क बुझाएपछि मन्त्रालयले इजाजत पत्र दिनेछ । यो वायुसेवालाई मन्त्रालयले गतवर्ष चार्टर उडानको अनुमति दिएको थियो । सोही अनुमतिलाई स्तरोन्नती गरेर नियमित उडानको इजाजत पत्र दिएको मन्त्रालयले जानकारी दिएको छ । श्रीले २०६७ सालदेखि हेलिकोप्टरबाट चार्टर उडानको अनुमति पाएको वायुसेवा कम्पनी हो । यसले आन्तरिक उडानमा नियमित हेली तथा फिक्स विंग्स र अन्तर्राष्ट्रियमा चार्टर उडान पनि दिइरहेको छ । यो वायुसेवालाई सरकारले नियमित उडानको अनुमति दिए पनि अब अन्तर्राष्ट्रिय उडानमा नयाँ कम्पनी थप हुने भएको हो ।

श्रीले आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित क्षेत्रका विमानस्थलबाट अनुमति पाएपछि नियमित उडान गर्नेछ । श्रीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार यसअघि चार्टर उडानको अनुमति पाएको भए पनि नियमित उडानको पनि अनुमति माग गरिएको थियो । यो अनुमतिपछि अब सम्बन्धित देशबाट अनुमति लिएर उडान गरिनेछ । यो वायुसेवाको नियमित उडानको लागि २÷३ महिना समय लाग्ने बुझाई मानन्धरको छ । उनका अनुसार पाँचवटै गन्तव्यमा उडानका लागि आवश्यक प्रक्रिया पुर्‍याएर अनुमति माग गरिने छ ।

उताबाट अनुमति पाएपछि नियमित उडान गर्ने उनको भनाइ छ । श्रीले आन्तरिक उडान गरिरहेकै जहाजबाट अन्तर्राष्ट्रिय उडानको अनुमति मागेको हो । यो वायुसेवासँग सीआरजे २०० र ७०० नामका चारवटा जहाज छन् । ५० र ७० सिट क्षमताका दुई, दुईवटा जहाज छ । दुवै प्रकृतिको जहाजबाट अन्तर्राष्ट्रिय उडान अनुमति श्रीले पाएको छ । यो वायुसेवाले आगामी शनिबार क्यू ४०० नामको ७८ सिट क्षमताको नयाँ जहाज ल्याउने छ । यस्तो जहाज दुईवटा आउने र सो जहाजलाई पनि अन्तर्राष्ट्रिय उडानमै प्रयोग गर्ने योजना श्रीको छ ।

श्रीले हाल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट चार्टर उडानको अनुमति माग गरेको छ । यसका लागि भारतको वनारसमा परीक्षण उडान पनि सम्पन्न गरिसकेको छ । ‘प्राधिकरणले श्रीको प्रमाण पत्र परीक्षण गरिरहेको छ । यो वायुसेवाले चार्टरको अनुमति पाउने तयारीमा रहेको भए पनि मन्त्रालयले नियमित उडानको अनुमति दिएकाले अब दुवै प्रकारको अनुमति दिन सकिन्छ ।’ प्राधिकरणअन्तर्गतको हवाई उड्डयान सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठले भने । उनका अनुसार नियमित र चार्टर उडान दुवैको प्रक्रिया उस्तै भएकाले अनुमतिमा कुनै फरक पर्दैन ।

श्रीले भारतका चारवटा गन्तव्यमा अनुमति पाएकाले यसको प्राथमिकता पनि भारतीय पर्यटकीय बजारमा नै हुने भएको छ । भारतका चारवटै सहरलाई गन्तव्य बनाएर दिइने नियमित अन्तर्राष्ट्रिय उडानले बजारमा प्रतिस्पर्धा पनि बढ्ने भएको छ । विगत दुई दशकदेखि हेलिकोप्टर उडानमा अब्बल रहेको यो कम्पनीले हेलिकोप्टरको अन्तर्राष्ट्रिय उडानको अभ्यासलाई नै नियमित वायुसेवामा विस्तार गर्न खोजेको हो । २०७४ भदौदेखि नियमित आन्तरिक उडान गरिरहेको यो वायुसेवा कम्पनीले अब भने अन्तर्राष्ट्रियमा पनि सेवा दिने भएको छ । हाल नेपालबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवामा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयर हुन् ।

श्रीले सन् २०१८ मा चार लाख ४७ हजार ८ सय ७७ यात्रुलाई सेवा दिएको छ । आन्तरिक उडानमा कुल यात्रु सेवामध्ये श्रीको हिस्सा १५.७२ प्रतिशतसहित तेस्रो स्थानमा छ । यो वायुसेवाले हाल चारवटा आन्तरिक उडानका जहाजमार्फत माउन्टेन फ्लाइटसहित काठमाडौंबाट भैरहवा, विराटनगर, भद्रपुर, नेपालगन्ज, धनगढी र राजविराजमा नियमित उडान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.