आख्यानका माड्साब
गत वर्ष मदनमणि दीक्षितको ९७औं जन्मोत्सवका अवसरमा सम्मान समारोह आयोजना गरिएको थियो। कार्यक्रममा म पनि पुगेको थिएँ। उहाँसँग प्रत्यक्ष भेट भयो। लामो समयपछि मलाई देख्दा सायद उहाँ पनि अल्मलिनुभयो होला। भन्नुभो, ‘तिम्रो त कपाल निकै फुलेछ नि ? ’
मैले हाँस्दै भनें, ‘माड्साब म कहिल्यै कालो लाउँदिनँ।’ यो नै उहासँग गरिएको प्रत्यक्ष संवादको अन्तिम किस्सा बन्यो।
मदनमणि दीक्षितलाई मैले २००९ सालतिर वीरगन्जमै चिनेको हुँ। उहाँ त्रिजुद्ध हाइस्कुल वीरगन्जको प्रधानाध्यापकका रूपमा वीरगन्ज जानुभएको थियो। म केटकेटी नै थिएँ। हातभरि किताब बोकेर हिँड्ने, दौरासुरुवाल र काँधमा गम्छा भिरेर हिँड्ने, अग्लो कदको शालीन व्यक्तित्व मेरो पहिलो नजरको मदनमणि दीक्षित।
विषयवस्तुमा दक्ष र कुशल शिक्षक मदनमणिले वीरगन्जमा छोटो समयमै चर्चा कमाउनुभएको थियो। सबैले उहाँलाई माड्साबका रूपमा सम्मान गर्थे।
हाम्रो घर वीरगन्जको कुमारी टोलमा थियो। उहाँहरू पछि डेरा सरेर हाम्रै टोलमा आउनुभयो। त्यसपछि भने हामी पारिवारिक रूपमै जोडियौँ। अहिलेसम्म प्रत्यक्ष रूपमा संगत गर्ने मौका पाएँ। हरेक घरायसी कार्यमा हामी सँगै हुन्थ्यांै।
उहाँका जेठा छोरा विनोद दीक्षित मेरा मिल्ने साथी हुन्। पारिवारिक रूपमै हामी कहिले वीरगन्जकै कृति सिनेमा हलमा फिल्म हेर्न त कहिले रक्सौलसम्म हिन्दी चलचित्र हेर्न जान्थ्यौं। म र माड्साब बेलाबेलामा चेस पनि खेल्थ्यौं।
वीरगन्जमा पढाउन छाडेर उहाँ काठमाडांै फर्किएपछि पत्रकारितामा सक्रिय हुनुभयो। पढ्न र लेख्न अत्यन्तैे रुचि राख्ने दीक्षित पूर्वीय–पाश्चात्य दर्शनका ज्ञाता हुनुहुन्थ्यो। एक शिष्ट र उत्कृष्ट लेखकका रूपमा उहाँ मेरो मनमा रहिरहनुहुनेछ।
वामपन्थी विचारधारा अँगाल्ने मदनमणि पञ्चायतकालमा सदैव शासकको आँखामा परिरहनुहुनथ्यो। आफ्नै सम्पादनमा उहाँले ‘समीक्षा’ साप्ताहिक पत्रिका निकाल्नुहुन्थ्यो। उक्त पत्रिकामा मैले लामो समयसम्म लेखें। मेरो अखबारी लेखनको पहिलो गुरुको श्रेय मदनमणिलाई जान्छ। उहाँले सबैलाई पुस्तक पढ्न हौसला दिनुहुन्थ्यो। आफ्ना पुस्तक बाँडेर पढ्ने आदत थियो उहाँको। नयाँ पुस्तालाई सदैव प्रोत्साहन गर्नुहुन्थ्यो। सरकारले समीक्षा साप्ताहिकमाथि प्रतिबन्ध लगायो। त्यसपछि नै हो उहाँले माधवी उपन्यास लेख्नुभएको।
उहाँले पूर्वीय कालखण्डको खास समयलाई लिएर माधवी उपन्यास लेख्नुभएको छ। नेपाली साहित्यमा माधवी उपन्यास अत्यन्तै ओजिलो र गहन पुस्तक हो। मैले उहाँका दुई रुप मात्र देख्छु– बाल्यकालमा वीरगन्जमा देखेको मदनमणि माड्साब र माधवी।
यो पुस्तकको व्यापकता फैलिएपछि उहाँ पूर्णकालीन लेखनमै सक्रिय हुनुभयो। यो उपन्यासले मदन पुरस्कार जित्यो। मेरो सुरुवाती लेखनमा उहाँको प्रत्यक्ष–अप्रत्यक्ष सहयोग र सुझाव रहन्थ्यो। उहाँको लेखनशैलीको म एक पाठक हुँ। गम्भीर खालको लेखनलाई आफ्नो शैली बनाउनुभएका मदनमणिको छुट्टै विशेषता थियो। उहाँको लेखनमा विविधता पाइन्छ। उहाँका पुस्तक सन्देशमूलक हुन्छन्।
साहित्य, दर्शन, राजनीतिमा राम्रो दख्खल राख्ने मदनमणि नेपाली साहित्यका धरोहर हुनहुन्थ्यो। उहाँका कथा, कविता, उपन्यास आदि विविध विधामा दर्जनौं किताब प्रकाशित छन्।
तीन दर्जन बढी किताब लेख्नुभएका मदनमणि लेख्नका लागि मान्छे राख्ने गर्नुहुन्थ्यो। आफूले भन्ने र अर्कोले कापीमा लेख्ने अजबको शैली थियो उहाँको। दोस्रो व्यक्तिलाई लेखाएरै उहाँले अनेकांै उत्कृष्ट कृतिहरूलाई जीवन्तता दिनुभयो।
२०५१ सालमा उहाँ प्रज्ञा प्रतिष्ठानको उपकुलपति बन्नुभएको थियो। उहाँले संस्थागत रूपमा निकै काम गर्नुभएको थियो। उहाँले सामूहिक लेखनको सुरुवात, विभिन्न जातजाति–भाषाभाषी समेटिने गरी मायादेवी पुरस्कार, पासाङल्हामु लगायत पुरस्कार स्थापना गर्नुभएको थियो। केही समय यी पुरस्कारको निरन्तरता पनि गरेको थियो प्रतिष्ठानले। बाहिरी जिल्लामा रहेका सर्जक र लेखकलाई पनि प्रोत्साहन गर्नका लागि उहाँले विभिन्न काम गर्नुभएको थियो।
मैले उहाँलाई सधैं एक बौद्धिक व्यक्तित्वका रूपमा पाएँ। आफ्नो कर्ममा लगनशील, पूर्वीय र पाश्चात्य दर्शनमा अथाह ज्ञानको भण्डारका रूपमा आफूलाई चिनाउनुभएको थियो उहाँले। समाज र राष्ट्रले उहाँको योगदानको कदर गर्नुपर्छ। नेपाली साहित्यलाई अनेकांै कृति दिएर उहाँले महाप्रस्थानको बाटो रोज्नुभयो। कृतिमार्फत उहाँ सबैको मनमा अमर हुनुहुन्छ। उहाँको निधनले नेपाली साहित्यलाई अपूरणीय क्षति भएको छ।
(कुराकानीमा आधारित)