ऐतिहासिक ग्यालरी बैठक अलपत्र

ऐतिहासिक ग्यालरी बैठक अलपत्र

काठमाडौं : ग्यालरी बैठक (पुरानो संसद् भवन) मा रहेका ऐतिहासिक सरसमान व्यवस्थापनमा संसदीय समितिले चासो देखाएको छ। राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले ग्यालरी बैठकमा रहेका ऐतिहासिक महत्त्वका सामग्री नष्ट हुने अवस्थामा पुगेको निष्कर्ष निकालेको हो।

पुरानो संसद् भवनमा रहेको थाङ्का चित्र, ऐतिहासिक आर्ट, राणादेखि राजासम्मका ऐतिहासिक फोटो संरक्षण अभावमा लथालिंग छाडिएको भन्दै समिति यसको व्यवस्थापन गर्नुपर्ने निष्कर्षमा पुगेको छ। ‘ग्यालरी बैठकभित्र रहेका विदेशी कार्पेट, फर्निचर तथा विभिन्न ऐतिहासिक आर्ट तथा फोटाको संरक्षण भएको पाइएन’, समिति सभापति रामनारायण बिडारीले भने, ‘यहाँ बेलायतबाट ल्याएका फर्निचर पनि छन्। दुई वटा मन्त्रालयलाई पुग्ने फर्निचरका सामग्री यहीँ छन्। अब त ५० प्रतिशत काम नलाग्ने अवस्थामा पुगेको छ।’ काम लाग्ने सामग्री प्रयोगमा ल्याउनुपर्ने र नलाग्नेलाई उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

पहिलो संविधानसभाको बैठक नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेपछि यो भवन बन्दजस्तै थियो। भवन कामै नलाग्ने अवस्थामा भने पुगेको थिएन। तर ०७२ को भूकम्पले ऐतिहासिक भवनमा ठूलो क्षति पुग्यो। भूकम्पपछि यो भवनमा प्रवेश निषेध गरियो।

ग्यालरी बैठकको संरक्षणमा कसैले ध्यान नदिँदा त्यहाँ रहेका ऐतिहासिक सामग्री नष्ट हुने अवस्थामा पुगेको भन्दै समितिले गृह मन्त्रालयको ध्यानाकर्षण गराउने भएको छ। समितिको आगामी बैठकमा गृहसचिव प्रेमकुमार राईलाई बोलाएर ग्यालरी बैठकको संरक्षण गर्न आग्रह गर्ने निर्णय भएको सभापति बिडारीले बताए।

‘यो ग्यालरी बैठक निकै महत्त्वपूर्ण हो। यहाँ राज्यका तर्फबाट दिइने ठूला–ठूला भोजहरू पनि हुन्थे। यहाँ विदेशका पाउनलाई पनि यहीँ भोज खुवाइन्थ्यो’, उनले भने, ‘बेलायती महारानी एलिजाबेथले पनि आएको ठाउँ हो।’ केही दिनअघि ग्यालरी बैठकमा रहेको वन्यजन्तुको अखेटोपहारको निरीक्षण गर्ने क्रममा ग्यालरी बैठक अस्तव्यस्त देखिएको सभापति बिडारीले बताए। निरीक्षणमा दुईवटा गैंडाको खाग, बाघको दाह्रा, खुर र जुँगासमेत नभेटिएको उनले बताए।

समितिको बिहीबार बसेको बैठकमा सांसदले यहाँ रहेका ऐतिहासिक फोटो तथा आर्टहरू नारायणहिटी दरबार संग्रहालय वा राष्ट्रिय संग्रहालयमा सर्वसाधारणले हेर्न पाउने गरी राख्नुपर्ने बताएका थिए।

संसद् सचिवालय नै मान्दैन समितिको निर्देशन

गत फागुनमा राष्ट्रियसभाकै दीगो विकास तथा सुशासन समितिले पनि ग्यालरी बैठकको निरीक्षण गरेको थियो। छड्के अनुगमनको क्रममा ग्यालरी बैठक र भुइँतल्लामा थन्क्याइएका फर्निचरका सामग्री र इलेक्ट्रिक सामानहरूले भरिभराउ र लथालिंग अवस्थामा भेटिएको समिति सदस्य दीनानाथ शर्माले बताए।

संसद् सचिवालयभित्र यस्तो भेटेपछि समितिले तीन महिनाभित्र गरिसक्न सचिवालयलाई निर्देशन दिएको छ। तर संसद् सचिवालयले हालसम्म यसको व्यवस्थापन गरेको छैन।

संसद् सचिवालयले नै संसदीय समितिको निर्देशन कार्यान्वयन नगरेको सांसद शर्माको आरोप छ। ‘हामीले संसद्का महासचिवलाई नै बोलाएर व्यवस्थापन गर्न निर्देशन दिएका थियौँ। महासचिवले तत्काल गर्ने प्रतिबद्धता पनि गर्नु भएको थियो’, उनले भने, ‘तर अहिलेसम्म कार्यान्वयन भएन। समितिको निर्देशन कार्यान्वयनमा संसद् सचिवालय नै उदासीन देखियो।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.