नेकपामा स्कुल विभागको ‘पावर’ के हो ?
काठमाडौं : लामो विवादपछि नेकपा सचिवालय बैठकले विभिन्न विभागको टुंगो लगाएको छ। सबैभन्दा धेरै बहस भएको स्कुल विभागले पार्टीका नीति, सिद्धान्त, विचारहरू कार्यकर्तामाझ लगेर प्रशिक्षण दिन्छ।
नेकपाको नियमावलीमा विभागका मुख्य ७ ओटा काम तोकिएका छन्। पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिअनुरूप नियमित वा आवधिक स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटीसमक्ष प्रस्तुत गर्ने, पार्टी सदस्यको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने, स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञ तयार गर्ने काम विभागको हुनेछ।
त्यस्तै, पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने, प्रशिक्षण कार्यक्रमको मूल्यांकन गर्ने, प्रशिक्षार्थीको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने, स्वदेश तथा विदेशका पार्टी स्कुलसँग अनुभव आदानप्रदान गर्ने र पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने काम विभागको हुन्छ।
तत्कालीन एमालेको स्कुल विभाग प्रमुख भई काम गरेका र अहिले नियमावली मस्यौदासमेत गरेका नेता वेदुरामले भने, ‘स्कुल सञ्चालन गरेर नेताकार्यकर्तालाई प्रशिक्षित गर्ने, चेतनास्तर उठाउने स्कुल विभागको प्रमुख काम हो। यसले आफैं नीति निर्माण गर्दैन। पार्टी कमिटीको सहयोगीका रुपमा मात्र काम गर्ने हो।’
स्थायी समिति सदस्य भुसालले भने, ‘प्रचारमा स्कुल विभाग आफैंले विचारका पक्षमा निर्णय गर्ने हो भने जसरी आइरहेको छ। त्यस्तो होइन। यसले आफैं विचारको नेतृत्व गर्दैन। पार्टीको जुन स्थापित नीति, विचार, कार्यक्रम हुन्छ, त्यसलाई नेताकार्यकर्ताका बीचमा पुर्याउने काम मात्र गर्छ,।’
तर कामको बोझिलोपना भने पार्टीका अन्य विभागमा भन्दा यो विभागमा अलिक बढी हुन्छ। वैचारिक राजनीतिक क्षेत्रमा पार्टीका नीति योजना कार्यकर्ताबीचमा पुर्याउनुपर्ने भएकाले स्कुल विभागको महत्त्व भने फरक खालको रहेको नेताहरू बताउँछन्।
‘कामको प्रकृतिका हिसाबले अरू विभागको भन्दा अलिक बोझिलो हुन्छ। अलिक धेरै काम हुन्छ। आमकार्यकर्ताका बीचमा जाने, प्रशिक्षत गर्ने, नेताहरूलाई समेत बेलाबखत विभिन्न ढंगले प्रशिक्षित गर्ने, अन्तरक्रिया गर्ने जस्ता काम विभागको हुन्छ’, भुसालले भने।
बाहिरी प्रचारका लागि यो विभाग होइन। यसले पार्टीभित्रकै आन्तरिक संरचनामा रहेका नेताकार्यकर्तालाई मात्र प्रशिक्षित गर्नका लागि विभाग नेकपाले बनाएको हो। भुसालले भने, ‘स्थापित विचारका विषयमा यसले छलफल चलाउन सक्छ। यसले पाठ्यक्रम बनाउन सक्छ। त्यही पाठयक्रमका आधारमा पाठ्यपुस्तक बनाउन सक्छ। लेख्न सक्छ। त्यसैमा आधारित रहेर क्लास लिन सक्छ। यही काम हो स्कुल विभागको।’
विगतको पार्टी अभ्यास
स्कुल विभागको अभ्यास नेकपा शान्तिपूर्ण राजनीतिमा आएपछि मात्रै हुन थालेको हो। तत्कालीन एमाले र माओवादी दुवैमा विभागको अभ्यास त्यसरी भएको देखिन्छ। भूमिगत कालमा पार्टी नेतृत्वले नै पार्टीका नेताकार्यकर्तालाई बेलाबेला जम्मा गरेर प्रशिक्षण दिने गरेका थिए।
नेकपाका संस्थापक महासचिव पुष्पलालको पालामा उनले बनारस, गोरखपुर, दरभंगालगायत बोर्डर क्षेत्रमा नेताकार्यकर्तालाई जम्मा गरेर प्रशिक्षण दिने गरेको दस्ताबेजमा भेटिन्छ।
पुष्पलालपछि नेतृत्वमा आएका मनमोहन अधिकारी, तुलसीलाल अमात्यका पालामा त्यति प्रशिक्षण भएको देखिँदैन। ‘त्यसबेला अहिले जस्तो विभाग बनाउने भन्ने थिएन। महामन्त्री आफैंले कार्यकर्ताकहाँ पुगेर प्रशिक्षण दिनुहुन्थ्यो’, नेता भुसालले भने।
पछिल्लो कालमा एमाले धारतिरका माले, मार्क्सवादी हुँदै एमाले र माओवादी धारतिरको मसाल, एकता केन्द्र हुँदै माओवादीमा भने क्रमशः प्रशिक्षण दिने प्रचलन विकास भएका नेताहरू बताउँछन्।
नेतृत्वमा को को रहे ?
तत्कालीन एमालेले माले–मार्क्सवादीबीच एकतापछि पार्टीभित्र स्कुल विभाग गठन गरेको थियो। त्यसपछि नै पार्टीका व्यवस्थित स्कुल सञ्चालन हुन थालेको हो। सुरुमा मदन भण्डारी आफैं स्कुल विभागका प्रमुख थिए।
भण्डारीको निधनपछि मोदनाथ प्रश्रितले लामो समय एमाले स्कुल विभागको प्रमुख भएर काम गरे। त्यसपछि माधव नेपालले पनि केही समय विभागको नेतृत्व लिए। नेपालले ‘महासचिवले भ्याइँदो रहेनछ’ भनेर फेरि प्रश्रितलाई नै स्कुलको जिम्मा दिएका थिए।
बीचमा झन्डै दुई वर्ष युवराज ज्ञवालीले पनि स्कुल विभाग प्रमुख भएर काम गरे। केपी ओलीले पनि जिम्मा लिए केही समय। आठौं महाधिवेशनपछि एक वर्ष जति तत्कालीन अध्यक्ष झलनाथ खनाल आफैंले विभाग प्रमुखको जिम्मा लिए। उनले वेदुरामलाई उपप्रमुख बनाए। त्यसपछि नभ्याएको भन्दै खनालले भुसाललाई पूरै जिम्मा दिएका थिए।
प्रश्रित विभाग प्रमुख हुँदादेखि नै एमालेको स्कुल विभागले पाठ्यक्रम बनाएर पार्टी शिक्षा नामक तीन पुस्तक प्रकाशन गरेको थियो। ‘हामीले त्यही पुस्तकको पाठ्यक्रममा आधारित रहेर देशव्यापी रूपमा पार्टी प्रशिक्षण चलाउँथ्यौं,’ भुसालले भने।
नवौं महाधिवेशनपछि भने पार्टी अध्यक्ष ओलीले नै यो विभागको जिम्मा लिएका थिए। घनश्याम भुसाललगायतले विभागको नेतृत्व मागे पनि ओलीले दिएका थिएनन्। उनले विभागको उपप्रमुखमा शंकर पोखरेललाई राखेर स्कुलको जिम्मा आफैंले राखेका थिए।
यतिसम्म कि एमालेले नवौं महाधिवेशनले पारित गरेको विधानमै पार्टी सदस्यता लिने, पार्टी कमिटीको जिम्मेवारीमा रहन पार्टी स्कुलको शिक्षा कतिसम्म पास गरेको हुनुपर्ने भनी परीक्षा नै लिने व्यवस्थासमेत गरेको थियो। ‘तीनवटा पाठ्यपुस्तकअनुसार फलानो कमिटीमा आउँदा फलानो पाठ्यक्रम पास गनुपर्ने भनेर नवौं महाधिवेशनले पारित गरेको विधानमै लेखिएको थियो,’ भुसालले भने, ‘तर कार्यान्वयनमा ल्याउन सकेनौं।’
तत्कालीन माओवादीमा भने शान्ति प्रक्रियामा आएको धेरै समयपछि मात्र स्कुलको अभ्यास भएको पाइन्छ। सुरुमा आवश्यक पर्दा पार्टीका शीर्ष नेताहरूले पार्टी नेताकार्यकर्तालाई केन्द्रदेखि जिल्लासम्म केन्द्रीकृत गरी प्रशिक्षण दिने काम गर्ने गरेका थिए। तर २०६५ पछि मात्र विभागको अभ्यास भएको देखिन्छ। सुरुमा माओवादी धारमा ‘स्वनाम साथी’ ले विभागको नेतृत्व पाएका थिए।
त्यसपछि नारायणप्रसाद शर्मा, हेमन्तप्रकाश वली हुँदै नारायणकाजी श्रेष्ठले विभागको नेतृत्व पाएका थिए। ०७२ सालदेखि माओवादीमा श्रेष्ठ नै विभाग प्रमुख थिए।