डाक्टरले अझै २०-२५ वर्ष केही हुँदैन भनेका छन् : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको दाबी गरेका छन्। उनले सञ्चार माध्यमले हल्ला मात्रै फैलाएको आरोप लगाए। गृहजिल्ला झापाबाट आएका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले डाक्टरले आफूलाई अझै २०–२५ वर्ष केही हुँदैन भनेको दाबी गरे।
‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु’, उनले भने, ‘डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०-२५ वर्ष केही हुँदैन भन्छन्। त्यस कारण म बिरामी होइन।’
उनले बिहीबार आफूलाई सामान्य ज्वरो मात्रै आएको बताए। ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो’, उनले भने, ‘एउटा सिटामोल खाइदिएपछि सबै निको भयो। तर अफवाह म सिकिस्त भएजस्तै फैलाइयो।’
झापाका नेकपा अगुवा कार्यकर्ताले झापा क्षेत्र ५ को दमक, गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिए थिए।
‘प्रधानमन्त्री हाम्रो निर्वाचन क्षेत्रको पनि प्रतिनिधि हो। त्यसकारण धन्यवाद दिन गएका थियौँ’, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले भनिन्, ‘प्रधानमन्त्रीको स्वास्थ्यबारे बाहिर हल्ला आइरहेको थियो। त्यो पनि बुझौँ भनेर गएका थियौँ। तर, बाहिर आएजस्तो रहेनछ।’