कीर्तिपुरमा गाईजात्रा
काठमाडौं : दिवगंत आफन्तको सम्झनामा शुक्रबार कीर्तिपुरमा गाईजात्रा मनाइएको छ। कीर्तिपुरमा बसोबास गर्ने नेवारी समुदायले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकालेका हुन्।
यस दिनमा आफन्त गुमाएका परिवारले गाईको प्रतिमूर्तिलाई नगरपरिक्रमा गराउने चलन छ। वर्षदिनभर दिवंगत भएकाका आफन्तहरु कीर्तिपुरमा जम्मा भए। र्यालीमा दिवंगत भएका व्यक्तिका आफन्तसहित ढोल झ्याम्टा बजाउँदै बजार परिक्रमा गरियो। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएका थिए।गाईजात्राको र्याली सहर परिक्रमा मनाउँदा पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुसार गाईजात्रा सुरु भएको इतिहासमा उल्लेख छ।
गाईजात्राको अवसरमा सरकाले काठमाडौं उपत्याकामा सार्वजनिक विदा समेत दिएको छ।