९७ काण्ड

९७ काण्ड

बनारसमै हुँदा बीपी कोइरालाले मदनमणिलाई छात्र संघको सभापति हुन आग्रह गरेका थिए। तर आफ्ना पूर्वज चन्द्रसेवक भएको र कोइराला परिवार चन्द्रविरोधी भएको हुँदा दीक्षित अस्वीकार मात्र गर्दैनन्, नेपालमा राणालाई बिन्तीपत्रसमेत पठाइदिन्छन् पोल खोलेर।


मदनमणि दीक्षित (१९७९ फागुन ६—२०७६ साउन ३०) आफ्नो लामो जीवनयात्रा सधैं चौबाटोमा उभिएको बताउँथे। उनका चार बाटा थिए— अध्ययन, राजनीति, पत्रकारिता र साहित्य। उनले साहित्यलाई मूलबाटो भने पनि अरू तीन बाटा सहायकजस्ता लाग्दैनन् हामीलाई।

मदनमणिले बहुचर्चित ‘माधवी’ उपन्यास त्यस्तो बेला लेखेका हुन् जतिबेला उनले जिउमा पेट्रोल खन्याएर राजदरबारअघि आत्मदाह गर्ने निर्णय गरेका मात्र होइन, स्वर नचिनिने गरी पत्रकारसमेत बोलाइसकेका थिए। खासमा यो उपन्यास प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र सञ्चार राज्यमन्त्री राधा घिमिरे (मदनमणिले यो प्रसंग लेख्दा यी दुईलाई ‘अपराधी’ लेखेका छन्) को ‘समीक्षा’ पत्रिका बन्द गर्ने कदमविरुद्ध ‘देखाइदिन्छु’ भनी लेखिएको ‘धम्की’ हो। त्यही ‘धम्की’ आज नेपाली साहित्यको एक नम्बरी उपन्यास लाग्छ मलाई।

‘धनवज्र वज्राचार्य : स्मृति र स्पन्दन’मा पुराविद् एवं संस्कृतज्ञ महेशराज पन्तले मदनमणि दीक्षितबारे लेखेका छन्, ‘नेपालका च्यान्टे च्यान्टे पत्रकारहरूमध्ये अग्रगण्य चिन्तक।’

पन्त ‘मदनमणिको चन्द्रशमशेर’ लेखमा लेख्छन्, ‘मेरो कैशोर्य र यौवनको त के कुरा गर्नु, अहिले पनि उनको जोडाका पत्रकार पाउन मुस्किल नै छ जस्तो मलाई लाग्छ। म १६ वर्ष नपुग्दै उनले निकाल्न थालेको साप्ताहिक ‘समीक्षा’को एउटा अंक छापिएपछि अर्को अंक नआएसम्म म त्यो पत्रिका अधीर भएर पर्खिरहन्थेँ। चक्रपाणि’ छद्मनामले जस्तो लाग्छ, उनले त्यहाँ लेख्ने गरेको ‘व्यक्तित्वको खोजी’ भन्ने कोलममा त्यस ताका चर्चित नेपालीहरूको विषयमा लेखिएको हुन्थ्यो। खासगरी, उनको त्यस कोलममा म फिदा नै थिएँ। ती कोलम अहिलेको सन्दर्भमा पनि त्यत्तिकै पठनीय छन् भन्ने म ठान्छु। तर ती कोलमलाई मैले जोगाएर राख्न सकिनँ, यसैले तिनमा लेखिएका कुरामध्ये केही मेरो स्मृतिमा रहे पनि ती पूरा कोलम फेरि जिउँका तिऊ छापियून् भन्ने मेरो इच्छा छ।’

पन्तको इच्छा पूरा हुने भएको छ। मदनमणिका स्तम्भ–लेखहरूको संकलन कृष्ण अविरल छाप्तै छन्। उनले मदनमणिका धेरै पुस्तक अहिले भटाभट छापिरहेका छन्। ‘मेरी माता’, ‘भूमिसूक्त’, ‘हिन्दूसंस्कृतिको परिशीलन’, ‘ऋग्वैदिक नारी चरित्र’ जस्ता पुस्तक प्रकाशन–पुनप्र्रकाशन गरिरहेका छन्।

०००

२०३९ मा ‘माधवी’ र जनकलाल शर्माको ‘हाम्रो समाज : एक अध्ययन’ लाई संयुक्त रूपमा साझा पुरस्कार दिने निर्णय हुन्छ। मदनमणिले आफ्नो पुस्तक ‘काल्पनिक’ भएको हुँदा त्यसमा त्रुटि भए पनि क्षम्य हुने तर शर्माको पुस्तक समाजशास्त्रीय भएको हुँदा त्यसमा गल्ती हुन नहुने आग्रह राखी पुरस्कार नलिने निर्णय गर्छन्। मदन पुरस्कार पर्खेको घमण्डी भनी मदनमणिको आलोचना पनि हुन्छ। एक जनाले ‘दुवै पुस्तक उच्चस्तरीय छन्’ भनी गोरखापत्रमा लेख लेख्छन्। ‘दुवै पढेर लेख्नुभएको हो ?’ भनी मदनमणिले सोध्दा समीक्षकले ‘दुवै पढेको छैन’ भनिदिन्छन्। आफैं अखबार चलाएका पत्रकार मदनमणिले ‘अखबारी आलोचना’ भनी बेवास्ता गरिदिन्छन्, जवाफ दिँदैनन्।

मदनमणिले आफ्नो साहित्यिक वैचारिकीबारे ‘जीवन : महाभियान’मा भनेका छन् : ‘सृष्टिको मूलतत्त्व पदार्थ हो। ईश्वर तत्व मनुष्यद्वारा गरिएको सृष्टि हो। पदार्थ र चेतना दुवैका गति द्वन्द्वात्मक चरित्रका हुन्छन्। समाजका नरनारीलाई मूलतः कल्याणमा, श्रममा समर्पित स्रष्टा, करुणामय अर्थात् सकारात्मक मानवीय मूल्यहरूद्वारा अभिप्रेरित रहन्छन् भन्ने दृष्टिकोण नै मेरो साहित्यिक कृतिहरूका आधारभूत विचारहरू हुन्।’

०००

लेखपढको हाम्रो ‘सानो संसार’मा चिनाइरहनुपर्ने नाम होइन, मदनमणि दीक्षित। ‘राणाहरूको सेवक’ आचार्य वंशमा जन्मेका, बनारसमै पढी उतै विद्यावारिधि गर्दागर्दै छोडेका, कम्युनिस्ट, ‘हालखबर’का सम्पादक तथा ‘समीक्षा’का प्रकाशक—सम्पादक, ‘माधवी’ जस्तो गम्भीरतम उपन्यासलगायत पचासौं गहन पुस्तकका कर्ता हुन्, उनी। ९७ वर्षको उमेरसम्म लेखपढमै व्यस्त रहँदारहँदै मदनमणिको महाप्रस्थान भएको छ। उनी यस्ता लेखक हुन्, जो वैदिक कालदेखि यो गणतान्त्रिक कालसम्मका विषयमा निरन्तर लेखिरहन्थे।

०००

मदनमणि पौरस्त्य दर्शनमा पारंगत भइसक्दा पनि उनमा समाजवैज्ञानिक, विश्व इतिहास र विचारधाराबारे कौतुहल ज्युँका त्युँ रहिरन्छन्। एक रात अस्पतालमा माक्र्स र लेनिन पढेपछि उनी तात्तातै कम्युनिस्ट सदस्यताका लागि निवेदन लेख्छन्। भाइ महेशमणि पहिल्यै कम्युनिस्ट भइसकेका थिए। मणिखलकमा यी दाजुभाइ कम्युनिस्ट भएपछि अपमान, अभाव र दुःखका भुइँचाला लगभग जीवनभरजसो आइरहेको प्रसंग मदनमणिले धेरै ठाउँमा लेखेका छन्।

चन्द्रशमशेरको निगाहमा हुर्कीबढी आएका यिनका पूर्वजलाई पछि भीमशमशेरले सहयोग गरेनन्। मदनमणिका बा तीन पटक गरी ११ महिना खोरमा थुनिएथे। दण्ड–जरिवानाबापत ७२ हजार रुपैयाँ तिरेथे। मदनमणिको हालै प्रकाशित पुस्तक ‘मेरी माता’मा उनले आफ्ना बाको क्रोध र यौन चाहनालाई निर्मम तरिकाले प्रस्तुत गरेका छन्। बा कतिसम्म क्रोधी र सन्की थिए भने सोझी र इमानदार पतिव्रतालाई कुट्नु कुट्थे। छोराछोरी बाहिर निकालेर दाउराले ४०–५० पटकसम्म मरणासन्न हुने गरी पिटेको भनी मदनमणिले लेखेका छन्। एकचोटि त मदनमणिले पनि श्रीमती कुटेथे। यसमा उनले प्रायश्चित्त गरेका छन्। आफ्नो र परिवारको कमजोरीलाई पनि मदनमणिले निर्धक्क भएर लेखेका छन्।

मदनमणिले आफ्नो पुर्खा–परिवारको पनि आलोचना गर्न बाँकी राखेनन्। उनले आफ्ना पुर्खालाई ‘टुप्पादेखि पलाएका’ भनी लेखेका छन्।

मदनमणिका आर्थिक कठिनाइका प्रसंग मन घोच्ने खालका छन्। डेरा समस्या त छँदै छ, पैसा नभएर छटपटिएका मदनमणिले धेरै समयदेखि रोगले गलेकी आमाको अन्तिम अवस्था आइसक्यो भनी औषधि नै छुटाइदिएका थिए। आमाको किरियामा बसेका बेला कमल र सुन्दरमणि परिवारले नमागीकन १६ सय रुपैयाँको खाम दिएपछि मदनमणि त्यसैले किरियाकर्म सकाउँछन्।

झ्वाट्ट हेर्दा मदनमणिलाई आर्थिक अभावले यति धेरै गाँज्यो होला भन्ने कल्पनासमेत गरिँदैन। आजका दीक्षितहरू २००७ अघिका राणा र २०६५ अघिका शाहझैं हरेक क्षेत्रमा शक्तिशाली र प्रभुत्वशाली भएको देखिन्छ।

५० वर्ष पुरानो पत्रिका ‘अभिव्यक्ति’का अविछिन्न सम्पादक नगेन्द्रराज शर्माले ‘अभिव्यक्ति’को पघिल्लो अंकमा मदनमणिले २०१४ सालतिर भोगेको आर्थिक कठिनाइबारेको निबन्ध फेरि छापेका छन्। मदनमणिले एक–दुई रुपैयाँ सापट माग्दै हिँड्नु परेको दुःखेसो छ, निबन्धमा।

०००

विद्यार्थी जीवनमै दोस्रो विश्वयुद्ध, हिरोसिमा–नागासाकी बम प्रकरणले मदनमणिलाई तात्कालिक केटौले प्रभाव पार्छ। बनारसमा ‘भारत छोडो’मा सहभागी हुन्छन्। उनी कसरी कम्युनिस्ट भए, त्यसपछि के–के भोगे, पुष्पलाल, केशरजंग, मनमोहनलगायतका आफ्नै कम्युनिस्ट–पाखण्ड के के हुन्, मदनमणिले आफ्ना धेरै पुस्तकमा निरपेक्ष ‘समीक्षा’ गरेका छन्। (पत्रिकाको नाउँझैं आफ्नै कमजोरीबारे पनि निर्मम ‘समीक्षा’ गरेर लेख्नेमा उनी अग्रपंक्तिमा देख्छु म।)

पुष्पलाल सार्वजनिक हुँदा झुत्रेझाम्रे देखाउन शृंगार गरिएको कुरा मैले उनकै पुस्तक पढेर थाहा पाएको हुँ। सहिद गंगालालका छोरा एसएलसीमा फेल भइरहने हुँदा पुष्पलालले मदनमणिलाई तपाईंको भाइ अंग्रेजीको उत्तरपुस्तिका परीक्षक भएकाले ३० नम्बर थपिदिन भनिदेऊ भनी धेरैपटक दबाब नै दिए रे। उनै पुष्पलालले मदनमणिलाई गनाउने ओछ्यानमा सुताइस् भन्दा र ‘समीक्षा’ छाप्न सहयोग माग्दा पत्रिकालाई जीवन धान्ने स्रोत बनाउने कुरा गरेको भनी मदनमणि पुष्पलालप्रति क्रोधित बनेको पनि देखिन्छ। मदनमणिले विभिन्न व्यक्तिबारे लेखेका संस्मरण पढ्दा उनी घटना विशेषबाट मोहित वा क्रोधित भएको देखिन्छ, तर समग्रतामा उनीहरूको निष्कर्ष–व्यक्तित्व र योगदान भने निर्क्योल गरेको देखिँदैन।

कम्युनिस्टको स्थापनातिर लालसलाम कि नमस्कार, कामरेड भन्ने कि श्रीमान् भन्ने बहस लामै चलेको भनेर उनले आफ्नो पुस्तकमा लेखेका छन्। २००७ सालको परिवर्तन किन कालो दिन हो र त्यसमा भारत अझ नेहरुको सहभागिता कति धेरै थियो भन्नेबारे मदनमणिले अडान लिएको देखिन्छ। विधानसभाको चुनाउ गर्ने लक्ष्यसहितको २००७ को अन्तरिम संविधान उतै मस्यौदा गरिएको हुँदा ‘डेमोक्रेसी’को नेपाली अनुवाद अञ्जानमै ‘गणतन्त्र’ गरिएको उनको तर्क छ।

०००

बनारसमै हुँदा बीपी कोइरालाले मदनमणिलाई छात्र संघको सभापति हुन आग्रह गरेका थिए। तर आफ्ना पूर्वज चन्द्रसेवक भएको र कोइराला परिवार चन्द्रविरोधी भएको हुँदा दीक्षित अस्वीकार मात्र गर्दैनन्, नेपालमा राणालाई बिन्तीपत्रसमेत पठाइदिन्छन् पोल खोलेर। त्यो बिन्तीपत्र उनले आफ्नो पुस्तकमा जस्ताको तस्तै छापेका छन्।

मदनमणिले बीपीलाई ‘२००७ को दिल्ली सम्झौतालाई निन्दा गरेर वक्तव्य निकाले उसैदिन कांग्रेस हुन्छु’ पनि भन्छन् भन्न त। तिनै बीपीले ‘समीक्षा’ सुरु गर्न पैसा खोजिरहेका दीक्षितलाई मासिक ६ सय रुपैयाँ सहयोग गर्छन्। मदनमणिले बीपीका अधिकांश कुरा नमाने पनि बीपीले भने मदनमणिलाई धेरै सहयोग गरेको देखिन्छ।

केही मामिलामा मदनमणिमा विरोधाभास भनौं वा उनकै भाषामा ‘इमानदारी’ देखिन्छ। उनी पञ्चायतको सधैं विरोध गर्थे। तर राजा महेन्द्रको भूमिसुधार, चीन–सोभियत संघमैत्री परराष्ट्र सम्बन्ध, राजमार्ग निर्माण इत्यादि कदमबाट प्रभावित हुन्थे। महेन्द्रसँगको पहिलो र अन्तिम भेटमा रूस जानुपूर्व घरखर्चबापत भनेर दुई सय अमेरिकी डलर र पन्ध्र सय भारु लिएको उनले लेखेका छन्। पञ्चायतको चार सदस्यीय स्नातक चुनावमा उठेर हारेका हुन्, मदनमणि। त्यो चुनावको नौ बुँदे लक्ष्यको एक नम्बरमा के राखेका रहेछन् त भन्दा ‘बीपी, मनमोहन, गणेशमानको मुक्तिको माग।’ अनि किन जित्थे मदनमणि !

भूमिगत रूपमा कम्युनिस्ट तर खुला रूपमा नेपाल प्रजा परिषद्को सदस्य भई काम गरेथे मदनमणिले तराईमा केही वर्ष।

मदनमणि माक्र्सवादी भए, सैद्धान्तिक र व्यावहारिक दुवै रूपमा। कुनै व्यक्ति शासक स्तुति वंशमा जन्मँदैमा ‘सामन्त’ र वैदिक विषय छान्दैमा धार्मिक–आध्यात्मिक–मिथकीय लेखक हुँदैन। विषय जे–जस्तो लिए पनि रचनामा उसको विश्वदृष्टि र स्थान के छ, त्यो मूल कुरा हो।

मदनमणि वचन र आचारसंहिताका पक्का थिए। पत्रकार भइखाएका मदनमणिले २०१७ पुस १ देखि २०४७ असोज २२ सम्म राजालाई भेटेनन्। आफूमा भएको काम क्रोध, लोभ, मोहलाई उनी छिपाउँदैनथे। लेखेका छन्, ‘अर्थशास्त्र पढाउने शिक्षककी छोरी जेट्लीको पुष्ट स्तनको उचाइ देखेपछि त्यो केटीलाई सुम्सुम्याउने इच्छा प्रकट हुन्थ्यो।’

कम्युनिस्ट भएको साँचो कुरा लेख्दा उनले अमेरिकी सहायताको जागिर गुमाएका छन्।

अनुशिष्ट अध्येता, चिन्तक, दार्शनिक, पत्रकार, सम्पादक, फोटोग्राफर मदनमणि हामीले संसारमा गर्व गर्नलायक महान् व्यक्तित्व हुन्। हामी सधैं सम्झिरहनेछौं, हार्दिक श्रद्धाञ्जलि !


@BimalSalyan


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.