झ्वाम ! जिन्दगी झ्वाम ! !
कन्याउने ठाउँ नदिएर चिलाइरहेछ अन्तरकुन्तर
औंल्याउने आकाश छोपेर फाटिरहेछ अभ्यन्तर
पानीलाई पानी दुख्न थालेको छ
हावामा आगो सुक्न लागेको छ
खैंजेडी बजाउँदै छ सन्नाटाले आवाजविरुद्ध
लम्पसार परेर
बाँझो खेतले खल्खली पसिना काढिरहेछ
मरकमरक !
अरिंगालले चपाइरहेछ बकैनाको रूख
सपना त सपनाकै कुरा भयो
सपना देख्ता डढेको छ आँखा
सास फेर्दा बाउँडिएको छ मुटु
नाकैमा खुर्सानीको खारजस्तै भएर हराएको छ आफ्नै अनुहार
रोप्नु, यस बेला विचारको बीउ कहाँ रोप्नु ?
भेट्नु, यस बेला विश्वासको लहरो कहाँ भेट्नु ?
जोगाउनु, यस बेला आफूलाई कसरी जोगाउनु ?
ठिस् !
वेदका ऋचा पनि ठिस् !
कृष्णको गीता पनि ठिस् !
ठिस् !
विधान पनि ठिस् !
संविधान पनि ठिस् !
तरकारीमा हाल्ने मरमसलामा पिसिँदापिसिँदै
समय आफैं सिलौटो भएको छ
नियतिको हात भाँच्न त परै जाओससमय,
काई परेको आफ्नै दाँत पुछ्न पनि अहिले असमर्थ छ
ऐँजेरु घामको त भो ! म कुरै गर्दिनँ
कुहिएको हिले माछोको पेरुंगो काँधमा बोकेर
अनिश्चयको यात्रामा भौतारिइरहेछ सहर
र, पेरुंगोबाट
तप् !
तप् !
तप् !
बाटोभरि खसिरहेछ विषाक्त प्रहर
के सद्धे छ र केको आकांक्षा भर्नु ?
को सद्धे छ र कसलाई सम्मान गर्नु ?
को इमानदार छ र कसको विश्वासमा पर्नु ?
ठिस् !
ज्ञान पनि ठिस् !
विज्ञान पनि ठिस् !
ठिस् !
शासन पनि ठिस् !
भाषण पनि ठिस् !
भर नभएपछि
डर त उसै हराउँदो रहेछ
डर हराएपछिको कहर
कहर नभएर आँट हुँदो रहेछ
कहिले आगो चपाइदिऊँ जस्तो
कहिले आकाश फर्काइदिऊँ जस्तो
कहिले पृथ्वी मर्काइदिऊँ जस्तो
कहिले हिमाल सल्काइदिऊँ जस्तो
अचेल म आँटै–आँटले भरिएको छु
अचेल त म आँधी नै आँधी भएर ठडिएको छु
जिन्दगी !
तैंले पनि त सधैं शासन मात्रै गरिस् नि ममाथि
नचाहेरै पनि म तेरो हातको बाँसुरी भएँ
फुकिरहिस् मेरो जन्मोत्सवमा तैंले मृत्युको धुन
मनलागी तैंले
कहिले कुनै त कहिले कुनै प्वाल थुनिरहिस उफ् !
कत्ति चल्छसमुखुण्डोमाथि मुखुण्डोको यो चाल ?
बैरी त हामी जन्मजातै बैरी हौं
मैले जस्तै आँट गर
र, फालिदे तँ पनि अब यी सकुनी–पासाहरू
आइज !
परस्पर आँखा जुधाएर एक पटक सिँगौरी खेलौं
आइज !
परस्पर तिघ्रा ठटाएर एक पटक कुस्तीबाजी गरौं
पक्का छ
फेरि पनि जित
न तेरो हुन्छ न मेरो हुन्छ
रस भए पो कसिन्छ उखुको लाँक्रो
– बोक्रा छ सबैतिर
– छोक्रा छ सबैतिर
– खोस्टा छ सबैतिर
यो सत्यलाई स्वीकार गर तँ पनि
र, अहिलेको लागि
सत्य के पनि हो भने
तेरो वा मेरो अनुपस्थिति छामेर
कतै, कसैले अपशोच मनाउँदैन
मान्छे, अमान्छे भएको यो प्रहरमा
तेरो वा मेरो मुर्दा–शरीरका लागि
कोही पनि मलामी आउँदैन
मर्नु, आफैंमा ठूलो साहस हो
मृत्यु, आफैंमा ठूलो उत्सव हो
आइज !
अब मिलेर निस्सारताको एउटा लामो सुसेली हालौं
र, त्यही सुसेलीको बीचमा
ड्याम ! ड्याम !
म गोली ठोक्छु तेरो अस्तित्वमा
ड्याम ! ड्याम !
तँ पनि मेरो कञ्चटमा गोली दाग
न कृष्ण न राम
न जून न घाम
न मोक्ष न काम
जिन्दगी झ्वाम !
झ्वाम ! जिन्दगी झ्वाम !
‘अतिरिक्त अभिलेख’ कविता संग्रहका लागि मदन पुरस्कार प्राप्त कवि/गीतकार अधिकारीको पछिल्लो पुस्तक ‘म बिर्सूं कसोरी !’ हो।