बिसाएको उद्देश्य र भट्टी पसल

बिसाएको उद्देश्य र भट्टी पसल

एकातिर महिलाहरू यौन हिंसा भयो भनेर कराइरहने अनि अर्कोतिरबाट यौनमा जति आनन्द केहीमा हुन्न भनेर पुरुषहरू फलाकिरहने ? यो विरोधाभाष कहिलेसम्म ?


मैले वर्षौं लगाएर आफ्नो उद्देश्य बनाएकी थिएँ, म लेखक बन्छु। यो उद्देश्य बनाउन मलाई वर्षौं लाग्यो। किनभने मेरा उद्देश्यहरू फेरिएका फेरियै हुन्थे। मलाई आजसम्म के हुन मन लागेन र ? सबथोक हुन मन लाग्यो। सबैभन्दा बढी त स्कुलमा पढाउने शिक्षिका हुन मन लाग्यो। अनि अलि पछि विश्वविद्यालयमा पढाउने प्रोफेसर। यीबाहेक मलाई कहिले बैंकको सीईओ हुनुपर्छ भन्ने लाग्यो, कहिले खतरा बिजनेस वेमेन। कहिले नयाँ आविष्कार गरेर सबैलाई चकित बनाउने मन हुन्थ्यो। कहिले आईटी पढूँ र आईटी इन्जिनियर बनूँ भन्ने लाग्यो। कहिले सिभिल इन्जिनियर त कहिले के कहिले के। कसैले के बन्छेस् भनेर सोध्दा मैले एकचोटि खेलाडी बन्छु भनेकी रहेछु। अहिले भेट हुँदा खिसिट्युरी गर्छन्। धन्न कुन खेलाडी बन्ने भनेनछु। यसरी मेरो बदलिइरहने लक्ष्य देखेर म आफैँ अन्योलमा थिएँ। भविष्यमा के बन्ने भनेर।

अन्तिममा मैले छानेँ, बरु म बिहे गर्छु र आमा बन्छु। टन्नै सन्तान जन्माउँछु। अनि आफ्ना सन्तानमध्ये कसैलाई के बनायो कसैलाई के। एउटै मान्छे सबै बन्न कहाँ सम्भव छ र ? आमा बनेर टन्नै जन्मायो र कसैलाई पाइलट, कसैलाई इन्जिनियर, कसैलाई प्रोफेसर, अनि कसैलाई के बनायो कसैलाई के। वाह ! यसपछि मैले बिहे गर्न केटाहरू खोजेँ।

जब म उनीहरूलाई सन्तान टन्नै जन्माउनुपर्छ भन्थेँ, सबै साइड लागिहाल्थे। कतिले सम्झाउँथे। महँगीको कुरा गर्थे। कतिले के के भनेर चित्त बुझाउन खोज्थे। तर मैले कहिल्यै चित्त बुझाइनँ। प्रेमीहरू चेन्ज गर्थें, तर आफ्नो धेरै सन्तानको आमा बन्ने सपना होइन।

धेरै पछि मैले बुझेँ, सन्तानको पनि आफ्नै सपना हुन्छ। उनीहरूलाई उनीहरू जे बन्न चाहन्छन् त्यसैमा सहयोग गर्नु नै आमाबुवाको धर्म हो। सन्तान मैले जन्माउने अनि मैले भनेअनुसार उनीहरूलाई बनाउन नपाउने ? मनभरि तिक्तता छायो। यस्तो सोचिरहँदा मैले भुलेको थिएँ कि म पनि कसैको सन्तान हुँ। उनीहरूको पनि सपना छ। उनीहरू म के बन्दा खुसी हुन्छन् ? यो मैले कहिल्यै सोध्न चाहिनँ। सुनाउन खोजे भने पनि म सुन्दिनँ। मलाई थाहा छ, अरूको सपनामा बाँच्न गाह्रो हुन्छ। केही त बन्नैपर्ने छ। के बन्ने त ? जिन्दगीको उद्देश्य के हो ?

मैले मेरो खुबी चिन्न बहुत मेहनत गर्नुपर्यो। मैले साथीहरूको डायरीमा लेखेको देखेर साथीहरू भन्थे, ‘तिमी साहित्यकार हुन्छौ।’ म साथीहरूको कुराले मक्ख पर्थें, तर त्यसैमा डुब्दैनथेँ। मलाई थाहा थियो, म राम्रो लेख्दिनँ। लेख्नचाहिँ सक्छु। साथीहरूको काम के। भनिदिए पुग्यो। तैपनि साथीहरूको कुरा पत्याएँ। मैले म्यासेज गरेको आधारमा प्रेमीहरू भन्थे, क्या खतरा म्यासेज पठाउँछ्यौ तिमी। तिमीमा लेखक हुने ठूलो सम्भावना छ।

सोचेँ, सायद प्रेमीले जति आफ्नी प्रेमिकाको खुबी कसले चिन्न सक्छ ? अनि मैले मेरा प्रेमीहरूको कुरा पत्याएँ। मैले प्रेमी फेरे पनि प्रेमीहरूले आफ्ना कुरा फेरेनन्। सबैले स्टाटस र म्यासेज कुनै साहित्यकारले लेखेको भन्दा कमसल छ भनेनन्। ब्रेकअप भएर आफूले छाडे पनि लेख्न नछाड भनेर छुट्टिए। मैले पनि ऊसँग छुट्टिएपछि अर्को प्रेमीलाई उसैगरी म्यासेज र डेडिकेटेड स्टाटसहरू लेख्न छाडिनँ। ज–जससँग छुट्टिए पनि लेख्न नछाड्नू भनेको कुरा मानिरहेँ। प्रेमी पो छाडेको त ऊप्रतिको प्रेम त हैन नि। लेख्ने भनेको स्टाटस र ब्ल्याक म्यासेजबाहेक फेरि अरू केही होइन। र पनि पढ्नेहरू भन्थे, ठूलो सम्भावना छ लेखक बन्ने। पछिपछि त मक्ख पर्ने मात्रै होइन, उनीहरूको कुरा पत्याउन थालेँ। म खत्रा लेख्न सक्छु भन्ने लाग्यो। म जिन्दगीमा लेखक बन्नै जन्मेको रहेछु भन्ने सोचेँ। ‘प्रेममा धोका नखाईकन लेखक कसरी बनिन्छ र ? टुटेफुटेका सम्बन्ध भनेको लेख्नका लागि खुराक हो’ भन्ने दुईचारजना खत्रा लेखकहरूको इन्टरभ्यु पढेपछि लाग्यो, मसँग लेखक हुने गुण छ। अब मेरो लक्ष्य भविष्यमा ठूलो लेखक हुने हो।

ठूलो लेखक हुने सपना पनि लगभग दुई वर्ष बोकी हिडेँ। एक दिन कसैले कानमा फुस्फुस्यायो, ‘अरे, खत्रा लेखक हुन त दारु पिउनुपर्छ। मदिरालयमै गुँड बनाउनुपर्छ।’ यसबीचमा म धेरै खतरा भइसकेकी थिएँ।

मैले आफैं खोज्न थालेँ, ‘सत्य के हो ?’ जब रिपोर्ट मेरो हातमा पर्‍यो म छाँगाबाट खसेजस्तै भएँ। हो त रहेछ— लेखक बन्न, लेखिरहन प्रेरित गर्ने चिज भनेका चुरोट र रक्सी रहेछन्। लेखन आइडिया जति सबै भट्टीमा फुर्दा रहेछन्।

यसपछि मैले पत्रिकाहरू पढ्न थालेँ। त्यहाँ कुनै पनि अंकमा रक्सी, चुरोट, बियर, भट्टी नलेखेका शुद्ध शाकाहारी आर्टिकल, ब्लग, कथाहरू थिएनन्। ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाले त चुरोट तान्दै शाकुन्तल, मुनामदन लेखेका हुन्। हामी पनि चुरोट तानेर लेख्नुपर्छ। खतरा आउँछ।’ यस्तो भन्नेहरू चिया पसलमा चियाभन्दा बढी चुरोट उडाइरहेका भेटेँ। उफ्, कति गाह्रो ! आखिर जे बन्न पनि गाह्रो रहेछ। ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेर लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै भनिदिए। उति बेला उडेर चन्द्रमा छुन सकिँदैनथ्यो र पो। अहिले त्यो लक्ष्य पनि कतिले पूरा गरे कतिले। आखिर पूरा नभइन्जेल त रहेछ उद्देश्य ठूलो लाग्ने। यसै पनि कविहरू लेख्छन्, ‘कहिल्यै नहिँडेको बाटो सबसे सुन्दर हुन्छ। कहिल्यै नलेखिएको कविता संसारकै सुन्दर कविता हुन्छ। अनि कहिल्यै पूरा नभएको सपना सुन्दर हुन्छ।’

सुन्दर हुनलाई अपूर्ण हुनुपर्ने रहेछ भनेर बुझ्यो मेरो सोझो मनले। उद्देश्य राख्ने तर पूरा नगर्ने गर्दा नै तिनीहरूले सुन्दरता बोकी हिँड्छन् भन्ने कुरा बुझेँ। फेरि चुरोट, रक्सी आदिले कवि, लेखक बनाउने रहेछ भनेर पनि बुझेँ। सबसे बढी भट्टी जानेहरूमा लेखक, कविहरू नै छन्। नपत्याए शनिबार आउने साहित्यिक अखबारहरू पल्टाए हुन्छ। अखबारहरूमा केटी, रक्सी, भट्टीबाहेकका कुरा कमै भेटिन्छन्। कवि, लेखकहरू ‘मैले यति गर्लफ्रेन्ड बनाएँ, यति रात नगरवधूसँग बिताएँ’ भन्नुमा आफूलाई खतरा ठान्छन्। पढ्नेहरू त्यस्तै खोजीखोजी पढ्छन्। यस्तो पढ्न रुचाउने को हुन् ? युवाहरू हैनन् र ? पुरुष जमात हैन ? मैले हरेकपल्ट यस्तो पढ्दा दिक्क मानेकी छु। अनि मैले यौनको विषयमा खुलेर बोल्ने लेखकसँग सोधेँ, ‘तपाईंले यतिजना गर्लफ्रेन्डहरू बनाएभन्दा हिरो भइजानु भयो। तपाईंका गर्लफ्रेन्डहरूले पढे भने के उनीहरू खुसी हुन्छन् ?’

उहाँले बेपर्वाह उत्तर दिनुभयो, ‘के फरक पर्छ उनीहरू दुःखी भएर ?’

साहित्यिक पृष्ठहरूमा धेरैजसो प्रेम, यौन, रक्सी, सपना, भट्टी, पुस्तकचर्चा, महिला हिंसा र यसका अनुभूतिहरू पढ्न पाइन्छ। लेखकहरूको अन्तर्वार्तामा यौनको विषय किन लुकाउनुभयो भनेर सोधिन्छ। उफ् ! पुरुषहरूको अनुभूतिजन्य आर्टिकल विशेषगरी यौन, केटी, रक्सीसँग सम्बन्धित हुन्छ। अनि महिलाहरूको अनुभूतिजन्य आर्टिकल विशेषगरी यौन हिंसा, महिला हिंसा, अधिकार बहसको कुरा हुन्छ। एकातिर महिलाहरू यौन हिंसा भयो भनेर कराइरहने अनि अर्कोतिरबाट यौनमा जति आनन्द केहीमा हुन्न भनेर पुरुषहरू फलाकिरहने ? यो विरोधाभाष कहिलेसम्म ?

शनिबारको साहित्यिक पत्रिका पढ्ने किशोरले के सिक्छ ? उसको मनस्थिति के हुन्छ ? साहित्यले समाज परिवर्तन गर्न सकिन्छ भनेर सोच्नेहरूले यति सानो कुरामा किन ध्यान दिँदैनन् ?

संगत र वातावरणद्वारा मैले पनि रक्सी, चुरोट भनेको लेखक, कविभन्दा ठूलो जिनिस रहेछ भन्ने बुझेँ। ‘देवकोटा चुरोट खाएरै महाकवि भए। भट्टी गफ लेख्नेले चियापसलमा यस्तै गफ लाउँछन्। अब आउनेहरूले उनकै सिको गरिरहेछन्। सिर्जनशीलता जन्माउन सक्ने चुरोट र रक्सीबारे खुलेरै लेख्छन् साहित्यकारहरू। हरिभक्त कटवाल, भूपि शेरचन भट्टीमै जन्मिएका हुन्। नत्र तिनीहरू त्यति राम्रो होशमा हुँदा लेख्न सक्दैनथे। म पनि त्यस्तै हुनुपर्‍यो नि। हि..ही..।’ भनेर भनेपछि मैले पत्याएँ। रक्सीले नै जन्माउन सक्ने त के हुन् र ? बरु रक्सी जन्माउनु ठूलो कुरा। कवि, लेखकभन्दा रक्सी पार्नेहरू पो ठूला रहेछन्। चुरोट बनाउने र व्यापार गर्नेहरू ठूला रहेछन्।

अनि वर्षौंदेखि आफैंले बोकी हिँडेको सपना आफैंले बिसाएँ। भट्टी पसल छिरेँ र सोधेँ, ‘साहुनी यहाँ काम पाइन्छ ?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.