सुदूरपश्चिममा लिम्बू परिवार
भाषा नजानेकाले कर्णबहादुरलाई पूर्व जाँदा अप्ठ्यारो लाग्छ। भाषा नजान्ने पनि के लिम्बू भनेर आफ्नै दाजुभाइले भन्छन्।
शोधको सिलसिलामा सुदूरपश्चिम, कैलाली हसुलियाको विभिन्न स्थान पुगेर फर्किंदा गोलेप्रसाद चौधरीले फूलबारीमा मीठो थुक्पा पाइन्छ भने। भोकले लखतरान थियौं। तर, त्यस पसलमा थुक्पा सकिएको रहेछ। चाउचाउ खाने भयौं।
चाउचाउ पाक्दै गर्दा पसलबाहिर अन्दाजी साठी काटेजस्ती पहाडी आदिवासी अनुहारकी एकजना आमा देखिइन्। गफ गर्दा थाहा भयो, उनी पर्वततिरकी गुरुङ आमा रहिछन्। कुरैकुरामा म पूर्वको भनेपछि फूलबारीमा पूर्वका थुप्रो छिमेकी बसेको बताइन्।
पूर्वेली कसरी सुदूरपश्चिम पुगे ?
मनमा कौतूहल जाग्यो।
गुरुङ आमासँग गफ गर्दागर्दै चाउचाउ पाक्यो। चाउचाउ पकाउने दिदी म्याग्दीकी पुनमगर रहिछिन्। चाउचाउ खाँदै र गफ गर्दै थियौं। एक जना करिब ५०/५५ उमेरका पुरुष (रामकुमार बस्नेत) चिया खान भित्र पसे।
‘नानी कताको ?’
‘इलाम।’
उनी ताप्लेजुङका रहेछन्।
फेरि सोधे, ‘लिम्बू हो ?’
मैले भनेँ, ‘हो।’
‘ताप्लेजुङको मान्छे कसरी आइपुग्नुभो हौ’ भनेँ।
जवाफमा ‘लेफ्ट मुभमेन्टमा लागियो र बसीखानु नसकेर यता पसियो’ भन्नुभयो।
सोधेँ, ‘यहाँ लिम्बू पनि छन् ?’
‘एक घर छ, बाँकी पूर्व नै फर्किए।’
गफ गर्दागर्दै झमक्क साँझ पर्यो।
बिदा हुने बेला ‘बस्ने गरी आउनू है, म लिम्बूको घरमा पुर्याइदिऊँला’ भन्नुभयो।
लिम्बूको बसोबास अन्य आदिवासीका भन्दा अलि फरक छ। अन्य आदिवासीका विभिन्न थरका एकै ठाउँमा भेटिन्छन्। तर लिम्बू भने एउटै थरकाहरू एकै ठाउँमा बसोबास गर्र्छन्। त्यसैले लिम्बूको थर भन्नेबित्तिकै यो गाउँको हो भनेर अड्कल काट्न सकिन्छ। एकै थातथलोमा बस्न रुचाउने लिम्बूहरू कसरी सुदूरपश्चिम पुगे ? कौतूहल जागिराखेको थियो।
भोलिपल्ट धनगढीमा त्रिविका एक सिनियरसँग कुरा भयो। मैले उनीसँग फूलबारीमा भेटिएका मानिसहरूबारे कुरा गरेँ। ‘पुनर्बास’को कुरा आयो। त्यसपछि मात्र थाहा पाएँ, फूलबारीका पूर्वेली धेरैजसो त पुनर्बासका कारण पुगेका रहेछन्।
विसं २०१० मा राप्ती उपत्यका बहुउद्देश्यीय विकास आयोजना सुरु भयो। यसको मुख्य उद्देश्य वन क्षेत्रलाई खेतीयोग्य बनाउनु र बाढीपहिरोपीडित पहाडका बासिन्दालाई आयोजना क्षेत्रमा पुनस्र्थापित गराउनु थियो। यसै योजनालाई मूर्त रूप दिन विसं २०१७ मा नेपाली विज्ञ टोली इजरायलको अनुभव अवलोकन र इजरायली मोडेल अनुसरण गर्न इजरायल पुग्यो। त्यसरी नै इजरायली विज्ञ पनि आफ्नो अनुभव बाँड्न र आफ्नो सहकारी मोडेल लागू गर्न नेपाल आए। यसपश्चात् विसं २०१९ मा नेपाली र इजरायली टोलीले तराई र मध्य तराई (मधेस र भित्री मधेस)का विभिन्न जिल्लाको नापी गर्दा तत्कालीन लुम्बिनी जिल्लाको नवलपरासी, मध्यपश्चिममा बाँके, बर्दिया र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सम्भावित खेतीयोग्य जमिन र नागरिक पुनस्र्थापित गर्न मिल्ने योग्य स्थान पाइएको कुरा प्लान्ड रिसटलमेन्ट इन नेपाल्स तराई भन्ने किताबमा उल्लेख छ।
काम सकेर काठमाडौं फर्कनु एक दिनअघि फेरि फूलबारीतिर हुइँकिएँ, लिम्बू परिवारसँग भेट्ने उद्देश्यले।
टेम्पोमा एकजना मगर बहिनी भेट भयो। बहिनीचाहिँ कैलाली मगर संघको कोषाध्यक्ष रहिछन्। त्यसपछि त्यही बहिनीले मलाई रामकुमार बस्नेतको घर ए गाउँमा पुर्याइदिइन्। भोलिपल्ट बिहानै उठेर चिया खाएपछि फूलबारीको ए गाउँदेखि ई गाउँतिर लाग्यौं। मूल सडकदेखि केही भित्र पसेपछि ई गाउँको ३४ नम्बरको कर्णबहादुर लिम्बूको घरमा पुग्यौं।
अभिवादन र संवाद यही ई गाउँको ३४ नम्बरको घरमा पुग्दा लिम्बू परिवारको जेठो छोरोसँगको थियो। ‘सेवारो’ले मलाई एकदमै छोयो र खुसी हँदै सोचेँ, ‘आफ्नो थातथलोबाट यति टाढा आएर पनि आफ्नो भाषा बिर्सेका रहेनछन्।’
तर त्यो खुसी केही छिनमै सकियो जब कर्णबहादुर लिम्बूले मैले सेवारो भनेर गरेको अभिवादनलाई नमस्ते भनेर फर्काए।
करिब ७७ वर्षपहिले ताप्लेजुङको ओलाङचुंगोलासँगै जोडिएको लेलेपमा जन्मिएका कर्णबहादुर केदेम लिम्बूका धेरै दाजुभाइ थिए। भागबन्डा गर्दै जाँदा खेतीपातीका लागि जमिन कम भयो। लेलेपमा बहुसंख्यक भोटियाहरूबाटै प्रधानपञ्च, जमिनदार थिए। तिनका अधियाँ गर्दा एक साल अन्न दिने एक साल नदिने गर्थे। वन बन्द भएपछि घाँसदाउरा गर्न पनि समस्या हुन थाल्यो।
तैपनि जीवन जसोतसो चलिरहेको थियो।
एक दिन हाङ्देवाका अमर कार्की (जो लेलेपमै जग्गा किनेर बसेका थिए र जसलाई लिम्बू परिवारले कार्की मामा भन्थे)ले आसाममा प्रशस्त जमिन पाइन्छ भने। जेठी छोरीलाई काखमा लिएर विक्रम संवत् २०२६ सालमा कार्की मामाकै फेरो समाएर आसाम छिरे। आसाममा जमिन त प्रशस्त थियो। आफूले उब्जाएको अन्न आफ्नै हुने तर जग्गाको लालपुर्जा नेपालीलाई दिइँदैनथ्यो। केही समस्या भयो कि स्थानीयवासीले साला नेपाली भनेर हेप्थे।
विसं २०२० मा नेपाल पुनर्बास कम्पनी स्थापना गरी २०२१/२२ सालमा पहिलो आयोजना लुम्बिनी अञ्चल, नवलपरासी जिल्लाको नवलपुरमा आरम्भ गरे। विभिन्न चरण गरेर २०३० सालसम्ममा १३ सय ९८ परिवार ४३ सय बिघामा पुनस्र्थापित भए। त्यसैगरी दोस्रो बाँकेको खजुरा, तेस्रो बर्दिया, चौथो कञ्चनपुर, पाचौं झापामा पुनर्बासका आयोजना सुरु भयो। विसं २०३०/३१ मा छैटौं आयोजना सेती अञ्चलको कैलालीमा आरम्भ गरे। कैलालीका केही स्थानमा सर्भे गरेर जग्गा अधिग्रहण गरे पनि फूलबारी (तत्कालीन गाविस)मा पुनर्बासको बस्ती बसाइएको छ। फूलबारीको दक्षिणी भेगमा थारू समुदाय र उत्तरपूर्व र पश्चिमी भेगमा पुनर्बासका बस्ती। केही थारू समुदायका बाहेक बाँकी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका पहाडी समुदायका ए देखि के गाउँसम्म भेटिन्छन्।
आसाममा थरीथरीका नेपाली पुगेका थिए। पुनर्बासका लागि जमिनहरू खुलेको खबर आसामसम्म पुग्थ्यो।
आसाम पुगेपछि अमर कार्की र कर्णबहादुर लिम्बू छुट्टाछुट्टै स्थानमा बसेकाले करिब नौ वर्ष भेटघाट भएन। जब भेट भयो, अमर कार्कीले नै सेती अञ्चल खुलेको जानकारी दिए र फेरि अमर कार्कीकै फेरो समाएर कैलाली पुगे। उनका अनुसार आसामबाट ६ घर नरेन्द्र सर, कार्की मामा र अरू चौमालामा आएर बसेका थिए र उनीहरूसँगै आउने एक घर लिम्बू परिवार र बाहुन परिवार एक रात बसेर फर्किहाले। पूर्वबाट आएका जति प्रायः सबै चौमालामा थुप्रिन्थे। कति त फर्किए पनि, यसरी आएर बस्नेहरूका टहरामा एकचोटि आगलागी भयो। त्यसपछि कैलालीको बिउसा र गेटामा केही महिना मजदुरी गरेर जीविकोपार्जन गरे।
विसं २०३५ मा कैलालीको उर्मा (तत्कालीन गाविस)बाट नागरिकता लिएर पुनर्बासका लागि निवेदन हाल्दा उनीसहित ताप्लेजुङका पाँच सय घरको निवेदन पर्यो। तर कतिपय टाढा भयो, कहाँ हो कहाँ मरिन्छ भनेर गएनन्। २०३६ सालमा ९७ घरले दुई बिघा पाँच कट्ठाका दरमा जग्गा पाए। लिम्बू परिवारले ३४ नम्बरमा पायो।
आसाममा डाँडाकाडा, हावापानी राम्रो थियो। यहाँ भने पानी पनि ए गाउँबाट बोक्नुपर्ने, पुत्लाले टोकेर हैरान। त्यसमाथि सरकारले वन फडानी गरेर सबै सुक्खा देख्दा मन नअडिएर कति त आसाम नै फर्किए। उनको मन पनि अडिएन। उतै फर्किन खोजे। तर कार्की मामाले ‘जे भए पनि आफ्नो देश भनेको आफ्नै हो, आफ्नै नागरिकता हुन्छ, आफ्नै लालपुर्जा हुन्छ’ भनेर सम्झाए। त्यसपछि लिम्बू परिवारले फूलबारीको ई गाउँको ३४ नम्बरमा खम्बा गाड्यो।
कर्णबहादुर लिम्बू ३० वर्षपछि गाउँ पुगे। पहिलेजस्तो थिएन। गाउँले जति प्रायः सबै सत्येहाङ्मा भइसकेका थिए। घरमा भोटियाको जस्तो ध्वजा (लुङ्दर) गाडेका थिए।
‘हाम्रो लिम्बूको त फेदाङमा नभई हँदैन। कसरी पो चासोक, नाहेन गर्नु हँदैछ, हाम्रो चाडबाड कसरी मनाउनु हुँदैछ ?’
‘त्यही फेदाङमा आउन नमानेकाले कति लिम्बू परिवार पूर्व लागे।’
उनका अनुसार कैलालीमा जम्मा दुईतीन घर लिम्बू छन्। अब यहाँ फेदाङमा पाइँदैन। त्यसैले आफैले युमासँग प्रार्थना गर्छन्। चासोक आफैंले गर्छन् र चासोक तङ्नाम मनाउन जनसंख्या कम भएकाले राईहरूको साकेला पर्वमा जान्छन्।
कुटुम्बको साह्रै दुःख छ। पहाडमा कटुम्ब खोज्नु जानु टाढा र पैसाको दुःख। त्यसैले उनका जेठा छोराले बसाइँ सरेर नै पुगेका संखुवासभाको राई बिहे गरे। तर कान्छा छोराको भने पाँचथरको यासोकबाट बुट्टाबारी बसाइँ सरेका लावतीसँग बिहे भयो। दुई छोरीको लिम्बूसँग बिहे भएको छ।
उनका कान्छी बुहारीका अनुसार ससुराका आफन्त बुट्टाबारीमा भएकाले मागीविवाह भएको १५ वर्ष भयो। सुरुमा कैलाली पुग्दा उनलाई विरक्त नै लाग्थ्यो।
भाषा नजानेकाले कर्णबहादुरलाई पूर्व जाँदा अप्ठ्यारो लाग्छ। भाषा नजान्ने पनि के लिम्बू भनेर आफ्नै दाजुभाइले भन्छन्। लेलेपमा विभिन्न जातिका मानिस थिए र भाषा पनि बोल्दैनथे। उनकी आमालाई भाषा आउँदैनथ्यो। यति भएपछि लिम्बू भाषा बोल्न जानेनन्।
छोरा, नातिनातिनाले पढेर भए पनि सिक्छन् कि भनेर कर्णबहादुरले आफ्नो घरमा राखेको लिम्बूू तर अरू कोही बोल्ने नभएकाले भुल्न थालिसकिन्। १५ वर्षे कैलाली बसाइले लिम्बू भाषाभन्दा थारू भाषा मज्जाले बोल्ने भइसकेकी रहिछन्।
छिमेकी बाहुन, क्षत्री र थारू छन्। साह्रोगाह्रो पर्दा अलि अप्ठ्यारो पर्ने हो कि भन्ने मनशायले पूर्व फर्किन पनि खोजे। तर, यहाँ बेचेर पूर्वमा जग्गा लिन गाह्रो छ। कुनै दिन आफ्ना नुन लाग्ने दाजुभाइ रहेको बुट्टाबारी छेउछाउतिरै निस्किने लिम्बू परिवारको मन भने जीवितै छ।
लेखक सामाजिक अनुसन्धाता हुन्।