‘पायलिया...’
सिक्काको आवाजभन्दा त पाउजुको आवाज पो मीठो ! कहाँ पैसाको ट्वाक्ट्वाक् छन्छन्, कहाँ पाउजुको छिनिनीछिनिनी छन्छन्।
पायलिया नींद चुराए, होस उडाए
पायलिया नींद चुराए, होस उडाए
हिन्दी फिल्म दिवानाको यो गीत गुनगुनाउने मान्छे प्रशस्तै होलान्। सायद गीत सुन्नासाथ त्यो फिल्मकी नायिका दिव्या भारतीको यादमा डुब्दा हुन्। मैले पनि गुनगुनाएको छु यो गीत कैयौं पटक तर नायिकाको यादमा हैन। यो गीत अनेक तरिकाले गुनगुनाएँ, फरक परिवेशमा गुनगुनाएँ। कहिले हाँसेर त कहिले रोएर गुनगुनाएँ। कहिले कल्पनाको दुनियाँमा रमाउँदै त कहिले यथार्थमा खुट्टामा पाउजु बजाउँदै। कहिले पछुतोमा आँखा रसाउँदै त कहिले पाउजु (पायलिया) प्रतिको लगावमा गुनगुनाएँ।
२०५२ सालतिर मलाई पाउजु लगाउने भूत सवार भएको थियो। घरछिमेकमा रेडियोमा ‘पायलिया तेरे निदे चुराए’ गीत बज्नु र यता मेरो मनमा पाउजु लगाउने इच्छा उत्कट हुनु। कश्मीरा नाम गरेकी मेरो साथीको कस्मेटिक पसल थियो। कस्मेटिक भनेसी हुरुक्कै हुने ऊ आफ्ना पसलका सामान बिक्री गराउने अनेक तरिका रच्थी। प्रत्यक्ष परोक्ष दबाब दिन्थी। अरु कस्मेटिक किन्ने रहर त मलाई कहिल्यै पलाएन। तर खै किन, पाउजु लगाउन भने साह्रै रहर जाग्यो। पाउजु नलगाई नछाड्ने निधो गरेँ। दुःखको कुरा, कश्मीराको पसलमा पाउजु थिएन। अलि पर अंकलको पसलमा खोजेजस्तै पाउजु थियो, २० रुपैयाँ पर्ने।
‘बोक्रो राम्रो, गुदी खोक्रो भए काम छैन, नक्कल पार्ने हैन, राम्ररी पढ्नू’ भनेर बाबाममी कराइरहनुहुन्थ्यो। त्यसैले होला, सानादेखि ठूला रहर पूरा गराउन अड्डी कस्ने मलाई पाउजुको माग गर्ने आँटै आएन। मनैमन गुन्दा पाउजु मागे खुट्टामा पाउजुको सट्टा गाली हात लाग्छ भन्ने लाग्यो। पाउजु लगाउने रहर पक्का थियो। पाउजुका लागि पैसा जम्मा गर्ने निश्चय गरेँ। दुःखको कुरा, मसँग पाउजुका लागि खाजा खर्चको पैसा जोगाउने विकल्प पनि थिएन। किनकि हामी खाजाका लागि नगद पाउँदैनथ्यौँ। सिलागें साहुकोमा आमग्राहकका लागि ‘आज नगद, भोलि उधारो’ उक्ति भए पनि उहाँका लागि बाबा त विशेष साथी। उहाँको खाजा पसलमा बाबाको नामको खाता थियो। हामीले खाएको उधारो खाजाको पैसा चढ्थ्यो दैनन्दिन। हिसाबअनुसारको रकम भने एकमुष्ठ भुक्तानी हुन्थ्यो, सालमा एकपटक। पैसा जम्मा गर्ने अर्को उपाय भनेको आफन्त आउँदा प्राप्त हुने पैसाको बाटो कुर्नु थियो। आफन्त आउने दिन कति कुर्ने ? आफन्तले दिने एकदुई रुपैयाँ कुरेर बीस रुपैयाँ कहिले पो पुग्ने ? सायद यस्तै कारणले भ्यागुतालाई धार्नी पुर्याउन गाह्रो भनिएको होला।
पैसाको जोहो गर्ने तरिकाहरू सोचेँ। इमानदार छवि गुमाउन मनले मानेन। बेलाबखत घरको राखनधरनको जिम्मा लिने मान्छे म, चोर्न पनि भएन। घरको खरिददारीको जिम्मा मेरै थियो, फिर्ता आएको खुद्रा पैसा ममीलाई नदिई जम्मा पार्ने सोचेँ। बाबा टोलभरि हल्ला फिँजाउनुहुन्थ्यो, सेतीदोभान बजारमा मेरो छोरीलाई कसैले ठग्न सक्दैन भनेर। म केही पसल पसेर केही सामानको मूल्य सोधिटोपल्थेँ। ओहो अंकल/आन्टी, कस्तो महँगो, अर्को पसलमा यति रुपैयाँले सस्तो छ भन्दिन्थेँ। बाबाले फिँजाइदिएको हल्लाउपर मेरो मूल्यभाउ सोध्दै हिँड्ने बानी। पसलेहरू मलाई साँच्चै सबै सामानको मूल्य कुन पसलमा कति छ, एकएक थाहा छ सोच्थेँ। भ्रम भनूँ या झुट, यसकै भरमा पसलेहरू मलाई छुट दिन्थे। मलाई पाउजु जसै किन्नु थियो। तसर्थ, यो अवधिमा म अझै धेरै छुट पाउनका लागि सामानको मूल्य गम्भीर रूपमा बुझ्न थालेँ। पैसा जम्मा पार्न थालेँ, पसल जाँदा बचेको मोहोर वा रुपियाँ फिर्ता दिन छाडँे। जम्मा पारेको पैसा गन्थेँ, गनिरहन्थेँ। गनेर पैसा आफैँ बढ्दैन भन्ने थाहा थियो तर पाउजुको मोहले खसखस पार्थ्यो, पैसा गनूँगनूँ हुन्थ्यो। मोहोर, रुपैयाँ र दुई रुपैयाँका सिक्कालाई हामी डबल भन्थ्यौं, मसँग त्यस्तै मात्र थिए। गम्थेँ, सिक्काको आवाजभन्दा त पाउजुको आवाज पो मीठो ! कहाँ पैसाको ट्वाक्ट्वाक्वाला छन्छन्, कहाँ पाउजुको छिनिनीछिनिनी छन्छन्।
दिनकै दुईतीन पटक गन्थेँ। एकातिर कम्तीमा यति पैसा जम्मा भयो भनेर सन्तुष्टि हुन्थ्यो, अर्कोतिर २० रुपियाँ कहिले पुग्ला भन्ने छटपटीले बढ्थ्यो। मनमा डर थियो, पसले अंकलले अरू कसैलाई पाउजु देलान् भन्ने। दिन बिराएर अंकलकहाँ पुग्थेँ। ‘म पैसा जम्मा पार्दैछु, त्यो पाउजु राखिदिनू है, फेरि नदिनु नि’। उहाँ मुस्काउँदै जवाफ दिनुहुन्थ्यो, ‘तुकुन कस्तो पाउजु लगाउने रहर लाग्या हुन्। मुकुन राख्देता हुँ। तुकुन ढुक्क रहनु।’
म भन्थेँ, ‘ल अंकल, प्लिज, अल्लाहको कसम खानु त।’
‘राख्छु भनेसी राख्छु, तुकुन किन यस्ता सानासाना बातमा अल्लाहलाई बीचमा ल्याउता हौ। अल्लाहको कसम, म राख्दिऊँला।’
कश्मीरा र सल्मा सधैं हाम्रो भगवान्भन्दा उनीहरूको अल्लाह कडा हुन्छ भन्थे। रमदानमा महिनासम्म व्रत बस्न लगाउने अल्लाह कडै होलान् भन्ने लाग्यो। अंकलले अल्लाहको कसम खाएसी ढुक्क लाग्थ्यो। तर जब पाउजुको याद आउँथ्यो र यादसँगै कतै मैले पैसा जम्मा नपार्दै होला भन्ने डर उब्जिन्थ्यो; सिलसिला दोहोरिन्थ्यो, मेरो अनुरोध अनि उहाँको आश्वासन। उहाँ भन्नुहुन्थ्यो, ‘यो फोटोको छोरी कुन कस्तो पायल लगाउने रहर लाया हुन्। बाउआमालाई भने त किन्दाहुन्। आफैं कुन पैसा जम्मा गर्न गाह्रो भया जस्तो छ, दिनबिराई सोध्न आउतारेहती हुन्।’
फेरि म अंकलकहाँ सोध्न गएँ। उहाँले सदाझैं, पाउजु राखेको छु भन्नुभयो। म फर्किनै लाग्दा उहाँले बोलाउनुभयो।
‘रुक त, तुकुन कति पैसा बनाइराउ।’
सम्झेर भनेँ, ‘साढे अठार रुपैयाँ।’
‘अहिले पैसा ल्याका हौ ?’
‘अझै डेढ रुपैयाँ पैसा पुगेको छैन। पैसा पुगेपछि ल्याउँछु, अपूरो पैसा त किन ल्याउनु ?’
‘भो, लग।’
‘तर २० रुपैयाँ पुगेको छैन, बाँकी डेढ रुपैयाँ कहिलेसम्म ल्याउनु त।’
‘तुकुन साह्रै रहर गर्यौ, तिमिकुन म विशेष सहुलियत दिन्छु।’
फुरुंग पर्दै घर आएँ। पाउजु लगाउन पाउने खुसीमा खुट्टा बुरुक् बुरुक् थियो। लुकिछिपी जम्मा पारेका सिक्काहरू गोजीमा भरेर घरबाट निस्केँ। दुई पाइला के हिँडेथेँ, गोजीका सिक्काले हल्ला गर्न थाले। परेन फसाद, अब ममीले सुने त मार्नुहुन्थ्यो। बिस्तारै बिरालोको चालले हिँडे। घरभन्दा अलिक पर पुगेपछि भने सिक्काहरूलाई आफ्नै धुनमा बज्न दिएँ। विशेष छुटका लागि अंकललाई विशेष धन्यवाद भन्दै गोजीमा पाउजु राखेर फर्कें। सिक्काको ठाउँमा पाउजु राख्दा गोजी गह्रौं भो, मनचाहिँ हलुंगो। कहिलेदेखिको इच्छा पूरा हुँदा मन साँच्चै चंगा थियो।
पाउजु घरमा ल्याएँ तर लगाइनँ। किनकि पाउजु बज्थ्यो र बज्नासाथ म पक्राउ पर्न सक्थेँ। मेरो कोठा पहिलो तलामा थियो। त्यहाँसम्म पाउजु राखे कुनै पनि बेला ममीले पाउजु भेट्न सक्नुहुन्थ्यो। पाउजुको पोल त खुल्थ्यो नै, गाली र पिटाइको दाबेदार हुन सक्थेँ। जोखिम मोलिनँ। भुइँतलामा रहेको पसलमा पाउजु लुकाएँ। दसैँ आयो, हजुरबुवा बितेको साल भएकाले हाम्रो टीका थिएन। बाबा बुटवल बस्नुहुन्थ्यो, त्यो बेलाको फेसनको अम्ब्रेला कुर्ता ल्याइदिनुभयो। कल्पनामा एकपटक अम्ब्रेला कुर्तासँगै पाउजु लगाएर एकफेर नाचिहालेँ। तर साँच्चै पाउजु लगाउन भने बडो असमन्जसमा परेँ। लगाऊँ, पक्राउ पर्ने। नलगाऊँ, त्यति गरी किनेको पाउजु, दसैंमा नलगाए कहिले लगाउने ? मनमा दुई थरी कुरा आए तर जित भने पाउजु लगाउनुपर्छ भन्ने तर्कको भयो। आँट बटुलेर पाउजु लगाएँ। एकछिन निकै सतर्क भएँ। पछि याद गर्न छोड्छु, पाउजुले बज्ने धर्म किन छोड्थ्यो ? राम्रै बज्यो। पाउजुको आवाज सुन्दा एकखाले आनन्द महसुस भएको थियो। पाउजुको आवाजले मलाई एकखाले आत्मसन्तुष्टि दियो। बडो दुःखले आर्जेको पाउजु लगाउँदा दंग थिएँ। एकछिनमा बाबाले बोलाउनुभयो। मनमा त चोर थियो। बाबाले बोलाउनसाथ त्यो चोर काँपिहाल्यो। बिस्तारै गएँ।
‘के बजेको ?’
‘खै मलाई के थाहा ?’
‘आवाज तिम्रै हो, खै सुरुवाल माथि गर।’
लामो सुरुवालले पाउजु छोपिएको थियो। म केही थाहा नपाएजस्तै बसिरहेँ। बाबाले सुरुवाल माथि सार्न लगाउनुभयो। पाउजु देखियो। म अनकनाएँ।
‘अघिदेखि केको आवाज रहेछ भन्या त, पाउजु पो। ममीले किन्देको हो ?’ मसँग केही जवाफ भए पो बोल्न।
बाबाले ममीले सुन्ने गरी भन्नुभयो, ‘पाउजु किन्देको होस् ?’
‘कहाँ किन्नु ? नक्कलझक्कल किन पार्नु पर्यो ?’
मम्मीले मेरो आँखामा हेरेर सोध्नुभयो, ‘पैसा कहाँबाट ल्याइस्, कसले दियो पाउजु ?’
मैले भुइँमा हेर्दै भनेँ, ‘आफैं पैसा जम्मा गरेको। खासमा २० रुपियाँ पर्छ तर अंकलले त मलाई साढे १८ मात्र लिनुभयो।’
एक निमेषमा नै यति भनिसकेछु।
छोरीले यत्रो करामत गरिसक्दा मम्मीलाई केही थाहा रहेनछ। मेरो करामत र बाबाको व्यंग्यका बीच ममी मौन बस्नुभयो। बाबाले हाँस्दै सम्झाउनुभयोे, ‘नक्कल पार्ने हैन, पढाइमा ध्यान दिने भनेको पो त। पाउजु लगाउनै हुन्न भनेको हैन नि। तिमीलाई लगाउन मन भए त म नक्कली हैन, सक्कली नै लिदिन्छु। तिम्रो अस्ति भुड्की फोर्दाको पैसा मसँग नै छ। त्यही पैसाबाट किन्दिऊँला म।’
कति दिनदेखिको तनाव अचानक दूर भयो। पाउजु अब रहस्य रहेन। पाउजुको धुनमा निस्फक्री हिँड्न पाउने भएँ घरमा। पाउजु बजाउँदै टोलछिमेक डुल्न पनि त पाउने भएँ। बाबाले असली चाँदीको पाउजु किन्दिने भनेपछि त मेरो खुसी डबल भएको थियो। त्यसैले होला, बिनाटीकाको दसैं पनि रमाइलो लाग्दैथ्यो। दिनभरि लगाएको पाउजु साँझ जतनसाथ खोलेँ। सुत्दा लगाए कुच्चिएला कि भन्ने लाग्यो। बाबाममीलाई नै थाहा भइसकेकाले पाउजु आफ्नो कोठामा लग्न मिल्थ्यो। खै, मैले किन लगिनँ। सधंै लुकाउने गरेको फोटो फ्रेमको पछाडि लुकाएँ। दसैं बिदामा पनि बिदाभरिलाई पुग्ने गृहकार्य दिन्थे। दसैं नसकी गृहकार्यको झमेलामा को फँसोस् भनेर गरिनँ। दसैंपछिका तीन दिन म गृहकार्य सक्न घुँडा धसेँ। अचानक पाउजु सम्झँे। खोज्न जाँदा त पाउजु फेला परेन। मुसाले पो लग्यो कि भनेर पसलको अन्तरकुन्तर सबै सफा गरेँ। दसैंको बेला भर्खर सफा गरेको अन्तरकुन्तर खोतल्दा केही भेटिएन। बाबाममीलाई पनि अब पाउजुको रहस्य थाहा भइसकेकाले लुकाउनुपर्ने केही भएन। उहाँहरूलाई सोधेँ तर थाहा छैन भन्ने जवाफ आयो।
बाबाले ‘त्यो नक्कली थियो, म अर्को असली चाँदीको किन्दिऊँला, बुटवलमा राम्रो डिजाइनको पाइन्छ’ भन्नुभयो। कल्पनामा नयाँ डिजाइनको पाउजुमा छमछम एक पटक नाचिहालेँ, सकीनसकी हाँसिहालेँ। साँझपख पाउजुको खोजीमा टोलस्तरीय हल्लीखल्ली गरेँ। छिमेकी बहिनीलाई शंका गरेँ, किनकि उसले पनि मेरो जस्तै पाउजु लगाएकी थिई। माइजूले दिएको उपहार हो भन्नासाथ मेरो अनुमान आधारहीन ठहरियो। मनमनै शंका गरे पनि मसँग ठोस सबुत थिएन। हराएको मेरो पाउजु भेटिएन।
आज पनि पाउजुको आवाज मीठो लाग्छ। साना नानीहरूलाई उपहार दिएकी पनि छु तर आफैंलाई चाहिँ पुनः पाउजु लगाउन मन लागेन। स्मृतिको पानामा बज्ने पाउजुको छमछमको सुमधुर संगीतलाई ताजा पाउजुको आवाजले खल्लो पार्ला कि भनेर डराउँछु। मान्छेहरू हराएको माया ठूलो भन्छन्, आफूलाई भने हराएको पाउजु झनै ठूलो भयो। पाउजु आफ्नो नहुन्जेल पाउजु किन्ने अठोटले निदाइनँ। पाउजु किनेर घरमा ल्याएपछि आफूले लुकाएको ठाउँ पत्ता लाग्ला भन्ने डरले निदाइनँ। पछि मेरो पाउजु कसले चोर्यो होला, भेटिएला कि नाइँ भनेर निदाइनँ। मेरो धेरै रातको निद्रा पाउजुले चोर्यो, तपाईंको निद्रा पनि कसैले चोरेको छ ?