परामर्श र समूह थेरापी
डा. कञ्चन दाहाल । कुनै विषयमा लगातार दुई साताभन्दा बढी निरास र दुःखी भइरहने अवस्था नै उदासीपन हो। यो समस्या विश्वव्यापी रूपमै बढ्दो छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०३० सम्म विश्वमै पहिलो नम्बरको समस्याका रूपमा उदासीपना रहने अनुमान गरेको छ।
पुरुषलाई भन्दा महिलालाई उदासीपनको समस्या बढ्दो पाइन्छ। पाँच जना पुरुषलाई यो समस्या हुँदा १० जना महिला उदासीपनले ग्रसित हुन्छन्। पुरुषको तुलनामा पीडित महिलाको संख्या झन्डै दोब्बर पाइन्छ।किशोरावस्थादेखि नै हर्मोनको परिवर्तनका कारण शारीरिक एवं मानसिक अवस्थामा परिवर्तन हुन्छ। यस परिवर्तनले तनाव उत्पन्न गराउँछ। तनावले उदासीपन नित्याउँछ। पढ्ने बेलाको प्रतिस्पर्धाले पनि किशोरीमा समस्या बढ्ने गर्छ। विद्यालय तथा कलेज जाने क्रममा सार्वजनिक यातायातमा यात्रा गर्ने किशोरीलाई पनि उदासीपनको समस्या देखिन्छ। छाउपडी, तुइनको यात्रा, धारा–पँधेरोमा जानुपर्ने बाध्यतालगायत कारण पनि उदासीपन बढ्ने गर्छ।
वयस्क महिलामा पनि शारीरिक वृद्धिसँगै हर्मोनमा विभिन्न परिवर्तन आउन थाल्छ। थाइरोइड हर्मोनमा घटबड हुन्छ। यसले गर्दा पनि वयस्क महिलामा उदासीपनको समस्या निम्तिन सक्छ। ४५ वर्ष नाघेकामा महिनावारी रोकिएपछि उदासीपन आउन सक्छ। छोराछोरी र श्रीमान्सँगको सम्बन्धका कारण उत्पन्न तनावले पनि उदासीपना निम्त्याउँछ। शारीरिक अवस्था, छोराछोरीसँगको सम्बन्ध, विभिन्न रोग, सामाजिक समस्यालगायत कारणले वृद्ध महिलामा उदासीपनको समस्या देखिन सक्छ। पाठेघर निकालिएको छ भने पनि उदासीपन देखा पर्न सक्छ।
पाठेघरमा भएका विभिन्न रसायनले पनि विभिन्न क्रियाकलापलाई सन्तुलनमा राख्न सहयोग पुर्याउँछ। यो निकालेपछि यसैका कारण पनि महिलामा उदासीपन बढ्दै जान सक्छ। विभिन्न रोग लागेका महिलामा उदासीपन देखा पर्न सक्छ। कसैलाई स्तन क्यान्सर छ। उसको एउटा स्तन निकालिएको छ भने कस्तो देखिएकी छु भन्ने सोचेर उदासीपन आउन सक्छ। कुनै महिलालाई म राम्री छु भन्ने सोच भएका बेला छालामा विभिन्न समस्या आए पनि उदासीपन हुन सक्छ।
कामकाजी महिलामा भेदभावपूर्ण व्यवहारले गर्दा तनाव उत्पन्न हुन्छ। यात्रामा निस्केदेखि नै तनावले पिरोल्छ। कार्यालय पुगेपछि भोग्नुपर्ने दुव्र्यवहारले गर्दा पनि उदासीपन बढ्दै जान्छ। उदासीनता बढ्दै गएर चिन्ता थपिन सक्छ। मानव मस्तिष्कमा विभिन्न किसिमका न्युरोट्रान्समिटर हुन्छन्। यसलाई परिवर्तन गराउने विभिन्न तत्व हुन्छन्। कार्यस्थलको वातावरणले पनि महिलामा उदासीपन निम्तिने गर्छ।
लक्षण
निद्रा कम वा बढी लाग्ने
सुतेको बेला बिउँझिरहने
मन खुसी नहुने
कुरा गर्न मन नलाग्ने
स–सानो कुरामा रिस उठ्ने
वजन बढ्ने वा घट्ने
जिन्दगी बेकारको महसुस हुने
बाँचेर केही छैन भन्ने लाग्ने
राम्रै कुरालाई पनि नकारात्मक रूपमा लिने
अरू हाँस्दा खिल्ली उडाएझैं लाग्ने
डोरी देखे झुन्डिन खोज्ने
औषधि देखे खाइदिऊँजस्तो लाग्ने
आत्महत्याको उपाय खोजिरहने
उपचार
मनोसामाजिक परामर्श नै उदासीपन उपचारको उत्तम उपाय हो। शरीरमा के परिवर्तन आइरहेको छ ? यसलाई कसरी व्यवस्थापन गर्ने कुरा मनोचिकित्सकसँग सल्लाह लिन सकिन्छ। न्यून उदासीपनमा यो उपचार पद्धतिले काम गरे पनि मध्यम र उच्च खालको उदासीपनमा औषधि प्रयोग गर्नुपर्छ। मध्यम र उच्च खालको उदासीपनमा न्युरोट्रान्समिटर परिवर्तन भइसकेका हुन्छन्। यसलाई पुनः आफ्नै अवस्थामा ल्याउन औषधि सेवन गर्नै पर्ने हुन्छ। मनोचिकित्सकको परामर्श पनि लाभदायक मानिन्छ।
मनोपरामर्श विधिमा ग्रुप थेरापी पनि हुन्छ। उदाहरणका लागि कामकाजी महिला सँगै बस्दा फाइदा हुन्छ। अरूको पनि मेरोजस्तै समस्या रहेछ, प्रयास गर्दा न्यून गर्न सकिन्छ भन्ने हिम्मत आउँछ।
(मानसिक रोग विशेषज्ञ डा. दाहालसँग अन्नपूर्णकर्मी रामकला खड्काले गरेको कुराकानीमा आधारित)