सधैं दुर्गन्धित सिसडोल
काठमाडौं : बालाजु बाइपासबाट अगाडि बढेपछि सिसडोल पुग्ने बाटो कसैलाई सोध्नु पर्दैन। बाटोमा ट्रकले झारेको फोहोर र त्यसबाट निस्केको दुर्गन्धले पुर्याउँछ सिसडोल। त्रिशूली राजमार्ग हुँदै करिब १७ किमि यात्रा गरेपछि यो डम्पिङ साइट पुगिन्छ। तर, त्यहाँ पुग्न १७ किलोमिटर अगाडिबाटै दुर्गन्ध सामना गर्न तयार हुनुपर्छ।
फोहोरका गाडीबाट झरेको लेदोको गन्धले बाटोमा हिँड्ने यात्रुलाई मात्रै असर गरेको छैन, सँगै सडक नजिक हुने घर पनि प्रभावित छन्। तर, यसबाट टाढा भाग्न सक्ने उपाय छैन। बालाजुबाट डेढ घण्टा यात्रा गरेपछि तीनपिप्ले चोक पुगिन्छ। चोकबाट ३–४ किमि यात्रापछि सिसडोल गाउँ पुगिन्छ। त्यहाँका स्थानीयबासीकोे घरबाट करिब २ सय मिटर अघिल्तिर उपत्यकाको फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाइएको छ। त्यहाँ स्थानीयले व्यहोरेको दुःखका अनेक दृश्य देख्न सकिन्छ।
दृश्य १ : सिसडोल वरिपरिको भूगोल घुम्न जाने कुनै पार्कजस्तो लाग्छ। वरिपरि अग्लो जमिन। हरियाली भूभागले घेरिएको। खेती गर्न बनाएको गह्राले अझ रहरलाग्दो देखिन्छ। तर, वरिपरि राम्रो छैन बीच भागमा फोहोरको डंगुर छ। दुर्गन्ध छ। फोहोर भरिएर टिपर बीच भागसम्म नआएको प्रस्ट अनुमान लगाउन सकिन्छ। फोहोरलाई चुली बनाउन तीन/चारवटा स्काभेटर पनि कुदिरहेका छन्।
स्काभेटरले जति खाली गर्छ त्यसको दुई गुणा बढी ठाउँ ओगट्ने फोहोर टिपरले झारिरहन्छ। त्यहाँको फोहोर पुर्न नजिकै कुनै ठाउँबाट माटो ल्याउन सकिने अवस्था देखिँदैन। फोहोरले सबै ठाउँ भरिएको छ। फोहोर फ्याँक्ने ठाउँ मुनितिर कोल्पु खोलो छ। अब फोहोर धेरै भए त्यही खोलामा झर्न सक्छ। फोहोरबाट बगेको लेदो त्यही खोलामा मिसिएर खोलाको प्राकृतिक रूप देखिँदैन। फोहोर पुर्न छेउको भित्तो काट्दा–काट्दा भीर भएको छ। जुन भीरमा स्थानीय गाईवस्तु चराउँछन्। पानी पर्दा जमिन गिलो भएर पहिरो जान थालेको छ।
दृश्य २ :
मानव बस्तीबाट फोहोर फाल्ने ठाउँसम्मको करिब २ सय मिटरको बाटो हिलाम्ये छ। साँघुरो पनि छ। दुईवटा गाडी सजिलै ओहोरदोहोर गर्न सक्ने अवस्था छैन। पालो गर्दै गाडी फोहोर फालिरहेका छन्। तर, फोहोर फाल्ने ठाउँमा खाली जमिन नहुँदा स्काभेटरले पन्छाउँदै फोहोर खसाल्नुपर्ने अवस्था छ। त्यहाँ उपत्यकाबाट फोहोर बोकेर आउने गाडीको क्रम पनि रोकिएको छैन।
दुर्गन्ध नजिकै घरसम्म आइरहेको हुन्छ। फोहोरको लेदो आँगनसम्म पुग्छ। फोहोरवरिपरि गाउँका केटाकेटी खेलिरहेका थिए। कोही भने झिँगा भन्किएका खानेकुरा खाइरहेका थिए। केटाकेटीले खानेकुरा मात्र खाँदैनन्, सँगै झिँगा पनि खाइरहेको सहजै अनुमान लगाउन सकिने अवस्था थियो।
दृश्य ३ :
अन्नपूर्णकर्मी सिसडोलका स्थानीय सन्तराम श्रेष्ठको घर पुग्दा उनकी श्रीमती खाजा बनाउँदै थिइन्। सन्तराम भने काममा गएको थाहा पाइयो। बस्न दुई/चारवटा मुढा राखिएको थियो कोठामा। नजिकै भित्तामा सटाएर खाट राखिएको थियो। खाटमाथि नाङ्लोमा कालो केही राखिएको देखियो। नजिकबाट हेर्दा चामल रहेछ। सामान्यतया चामल सेतो देखिनुपर्ने। तर, त्यसमाथि बसेका झिँगाले गर्दा पूरै कालो भएको रहेछ। एकछिनपछि सन्तरामको घरअगाडि फोहोरका गाडीको ताँती लाग्यो। गाडीले फोहोरको लेदो झारिरहेको थियो। एकैछिनपछि सन्तरामकी श्रीमती वाकवाक गर्दै कोठाबाहिर निस्किइन्। उनलाई यो वाकवाकी फोहोरको दुर्गन्धले आएको थियो। आफ्नै घरमा सधँै यसरी बान्ता गर्दै बस्नुपर्ने बाध्यतामा त्यहाँका स्थानीय छन्।
‘प्रशासन लगाएर दबाइन्छ आवाज’
जब फोहोरले जीवनयापन कष्टकर बन्न थाल्यो। स्वास्थ्यामा समस्या आउन थाल्यो। आफ्नै घरमा दुर्गन्धले बस्न नसकिने भयो। स्थानीयको धैर्यताको बाँध टुट्यो। आक्रोशित भएर आन्दोलनमा उत्रिए। तर, उनीहरूको आवाज गाउँबाट बाहिर आउन पाएन। आक्रोशको आवाज गाउँमै बिलायो। फोहोरबाट उत्पन्न समस्या समाधान गर भन्दै पटक–पटक विरोध गर्दा प्रशासन लगाएर आवाज दबाउने गरेको स्थानीयवासी सन्तराम श्रेष्ठले बताए। ‘हामीले पटक–पटक यसको विरोध गरेका छौँ,’ उनले भने, ‘तर हामीलाई काठमाडौंदेखि प्रहरी ल्याएर कुटपिट गरिन्छ।’ अहिले सिसडोलमा फोहोर फाल्ने सरकारी जमिन सकियो। फोहोर पुर्ने माटो छैन।
०६२ सालमा २ वर्षका लागि सिसडोललाई उपत्यकाको फोहोर फाल्ने ‘ल्यान्डफिल साइट’ बनाइएको थियो। तर, फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपाय अझै निकालिएको छैन।
फोहोर खुलै छाड्न थालियो। नपुरेको फोहोरबाट निस्केको दुर्गन्ध र किराले घरमा बस्नै नसकेपछि १५ दिनअघि स्थानीयले फोहोरका गाडी रोके। अवरोध गर्दा प्रहरी आएर कुटपिट गरी फोहोर फ्याँक्न थालेको स्थानीय कान्छीमाया बलामीले बताइन्। ‘हामीलाई समस्या पर्यो भन्दा पनि प्रहरी आएर कुट्छ,’ उनले भनिन्, ‘आइमाई केटाकेटी केही नभनी सबैलाई कुट्दै भेनमा हाल्यो। अहिलेसम्म जिउ दुखिरहेको छ।’ अब त आन्दोलन गर्न पनि त्रास हुन थालेको बताउँछन् सन्तराम।
संविधानमा भएको हक पाइएन
नेपालको संविधान २०७२को भाग ३ मा मौलिक हकको व्यवस्था गरिएको छ। जसमध्ये धारा २५ मा सम्पत्तिसम्बन्धीको हक छ। उक्त धारामा प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ भनी लेखिएको छ। तर, यो धाराले दिएको हक नपाएको स्थानीय दिवस श्रेष्ठ बताउँछन्। ‘हाम्रो जग्गामा गएर काम गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘बेच्न खोज्दा पनि कसैले किन्दैन। दुर्गन्धले काम गर्न जानै सकिँदैन। जमिन काटेर भीर बनाइदिएको छ।’ नजिकको जमिन अधिग्रहण गर्न अनुरोध गर्दा पनि सम्बन्धित निकायले यस्तो जमिनको मूल्यमा दलाली गरेको उनले गुनासो गरे।
जमिनसँगै स्वच्छ वातावरणमा बाँच्न पाउने हक पनि राज्यले शोषण गरेको सन्तराम बताउँछन्। संविधानको हक किताबमै सीमित भएको उनले बताए।
वातावरण र स्वास्थ्यमा असर
०६२ सालमा २ वर्षका लागि सिसडोललाई उपत्यकाको फोहोर फाल्ने ‘ल्यान्डफिल साइट’ बनाइएको थियो। तर, फोहोर व्यवस्थापन गर्ने वैकल्पिक उपाय अझै निकालिएको छैन। महानगरले प्रभावित धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकालाई वार्षिक १–१ करोड रुपैयाँ दिँदै आएको छ। नगरपालिकाले दूरीअनुसार स्थानीयलाई केही पैसा दिइरहेको छ। तर, त्यसबाट स्थानीय भने सन्तुष्ट छैनन्। ‘नगरपालिकाले पनि पैसा आइरहेको छ भनेर हाम्रो समस्यालाई उठाउन सकेको छैन,’ स्थानीय दिवस भन्छन्, ‘पैसा दिएर हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्न पाइन्छ ? ’
महानगरले फोहोर फाल्ने विकल्पका रूपमा बञ्चरे डाँडालाई सारेको छ। तर, त्यहाँ पनि फोहोर लैजान सकिने स्थिति छैन। महानगरको वातावरण विभागका हरिकुमार श्रेष्ठका अनुसार अझै केही समय सिसडोलबाट अन्त सार्न सकिने अवस्था छैन। वातावरणविद् भूषण तुलाधरले भने, ‘फोहोरको लेदो कोल्पु खोला हुँदै त्रिशूलीमा मिसिन्छ, प्रदूषित पानी उपभोग गर्ने जीवजन्तु सवैकोे स्वास्थ्यमा असर पर्छ।’ फोहोर व्यवस्थापन नहुँदा त्यहाँको पारिस्थितिक प्रणाली नष्ट हुँदै गएको उनले बताए।