छोरीको मुखुन्डो लगाएर भाग्ने प्रयास
ब्राजिलको शहर रियो दे जेनेरोस्थित गेरिसिनो कारागारमा अघिल्लो शनिबार एक जना ग्याङस्टरले छोरीको मुखुन्डो लगाएर भाग्ने प्रयत्न गरे। तर, उनको पोल खुल्यो।
लागुऔषध ओसारपसार गर्ने कुख्यात गिरोहका नाइके क्लाउभिनो डा सिल्भा जेलमा सजाय काटिरहेका थिए।
अघिल्लो शनिबार उनकी १९ वर्षीया छोरी उनलाई भेट्न आइन्। यही मौकामा डा सिल्भाले छोरीको अनुहारको सिलिकनले बनेको मुखुन्डो लगाए। टाउकोमा विग धारण गरे। महिलाको भेषमा उनी जेलको मुख्य प्रवेशद्वारतिर हिँडे तर धेरै हडबडाएका कारण प्रहरीले शंका गर्यो र उनको पोल खुल्यो। उनले छोरीलाई जेलमा छोडेर आफू छोरीको भेषमा भाग्ने प्रयास गरेका थिए। प्रहरीले डा सिल्भाको भाग्ने प्रयासमा छोरीको पनि संलग्नता थियो वा थिएन भन्नेबारे अनुसन्धान भइरहेको जनायो।
जेल प्रशासनले भाग्ने प्रयास गरिरहेका डा सिल्भाका केही तस्बिर र एउटा भिडियो सार्वजनिक गरेको छ। तस्बिरमा उनी सिलिकन मास्क, कालो लामो कपाल, टाइट जिन्स र गुलाबी सर्ट लगाएका देखिन्छन्।
डा सिल्भा रियो दे जेनेरोमा सक्रिय शक्तिशाली आपराधिक गिरोह ‘रेड कमान्ड’का नाइकेमध्ये एक थिए। भाग्ने प्रयास गरेपछि अहिले उनलाई कडा सुरक्षा प्रबन्ध भएको जेलमा सारिएको समाचारमा बताइएको छ।