प्रशासनको छड्के निरीक्षण : ९६ कर्मचारी अनुपस्थित
स्याङ्जा : प्रशासन कार्यालयले गरेको आकस्मिक निरीक्षणमा स्याङ्जाका ९६ कर्मचारी अनुपस्थित देखिएका छन् । एकै दिन ४ समूह बनाएर गरेको अनुगमनमा ९६ जना कर्मचारी अनुपस्थित देखिएको प्रशासनले जनाएको छ ।
टोलीले सदरमुकाम स्थित कार्यालयका हाजिरी रजिस्टर प्रशासन कार्यालयमा ल्याई निरीक्षण गरेको थियो । छड्के निरीक्षणमा २ सय ७४ कर्मचारीमध्ये १९ जना अधिकृत र ७७ जना विभिन्न पदका कर्मचारी कार्यालयमा नभएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
अनुगमन गर्दा जिल्ला अस्पतालमा ८ अधिकृतसहित ३६ जना कार्यालयमा नभेटिएको प्रशासनले जनाएको छ । आयोजना कार्यान्वयन इकाई (शिक्षा) का १० जना कर्मचारी मध्ये सबै कर्मचारी काजमा बसेको बताइएको छ । यस्तै तथ्याङ्क कार्यालयका ११ जना कर्मचारीमध्ये ९ जना कर्मचारी फिल्ड लेखेर बिदामा बसेको प्रशासन कार्यालयले जनाएको छ ।
सदरमुकाम स्थित खानेपानी डिभिजन, नापी कार्यालय र घरेलु शाखामा भने सबै कर्मचारीहरु कार्यालयमा भेटिए । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने गयल जनाउने प्रजिअ निरौलाले भने ।
प्रशासनको छड्केमा पुनर्निर्माण कार्यालयमा ८, डिभिजन वन र हुलाक कार्यालयमा ७-७, सुन्तला जोनमा ६, कृषि ज्ञान केन्द्रमा ५, जलश्रोत तथा सिंचाई डिभिजन र समन्वय समितिमा ४-४, भेटनरी बिज्ञ केन्द्रमा ३, आयुर्वेदमा २, जिल्ला स्वास्थ्यमा २, कोष तथा लेखा नियन्त्रण, विद्युत प्राधिकरण, शिक्षा विकास तथा समन्वय इकाइ, मालपोतमा १-१, जना कर्मचारी अनुस्थित भेटिएका हुन् ।