पहिरोले ७९ परिवार विस्थापित

पहिरोले ७९ परिवार विस्थापित

बाजुरा : सुदूरपश्चिमको तराइमा सुख्खा परिरहेका बेला पहाडि जिल्लामा भने लगातारको वर्षाले ठूलो नोक्सान गरेको छ। बाजुराको उत्तरी क्षेत्रमा रहेको स्वामीकार्तिक गाउँपालिकामा पहिरोका कारण ३१ परिवार र गौमुलमा ४८ परिवार विस्थापित भएका छन्।

पहिराले किसानले लगाएको बालीनाली नष्ट हुनुका साथै पशुचौपाया पनि मरेका छन्। स्वामीकार्तिक खापर गाउँपालिका– १ को चिसापानी, रुडी, जोरु र चुइकोटमा पहिरो जाँदा ३१ घर परिवार विस्थापित भएको गाउँपालिकाले जनाएको छ। स्थानीय मनबहादुर रोकायाका अनुसार १६ परिवार स्थायी घर भएका र गोठमा बसेका १५ घर पहिराले लगेपछि त्रिपालमुनि बसिरहेका छन्।

केही परिवार भने छिमेकीको घरमा बसोबार गर्दै आएका छन्। बाली लगाएपछि लेकमा कोदो रोप्न र गाइवस्तु राख्न वर्खामा यहाँका किसान लेकमै बस्ने गर्छन्। पहिरोले रुडी सिंचाइ कुलो, खानेपानी र बर्कुको मानाकोटी सिंचाइ कुलो पनि बगाएको छ। सिंचाइ र खानेपानी बगाउँदा स्वामीकार्तिक खापर गाउँपालिका १ र २ का तीन सय परिवार खानेपानीबाट वञ्चित बनेका छन्।

स्वामीकार्तिककै वडा नम्बर २ छुदरीमा पहिरोले ४८ गाइवस्तु बगाएको छ भने छुदरीका ५५ घर परिवार उच्च जोखिममा रहेको शिक्षक हंस बुढाले जानकारी दिए। खोलामा रहेको काठे पुल पनि बगाउँदा आउजाउ गर्न समस्या परेको शिक्षक बुढाले भने। इलाका प्रहरी कार्यालय खापरले पहिराले मानविय क्षति नभए पनि घर र पशुवस्तु मरेको जनाएको छ। प्रहरीको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको छ।

‘पहिरोबाट कति पुग्यो भन्ने एकिन विवरण आएको छैन। टाढा भएकाले प्रहरी घटनास्थल पुग्ने समय लाग्यो’ इलाका प्रहरी कार्यालय खापरका प्रमुख मानबहादुर चन्दले भने, ‘शनिबारसम्म त्यहाँको विवरणबारे जानकारी पाउनेछौं।’ स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जिवी शाहीले पनि वडा अध्यक्षलाई घटास्थल गएर क्षतिको विवरण संकलन गर्न निर्देशन दिएको बताए।

वडाको तथ्यांक आउने बित्तिकै कार्यपालिकाको बैठक बसालेर पीडितलाई राहत र विस्थापित परिवारलाई बासको व्यवस्थापन गरिने जानकारी दिए। वडा नम्बर १ का अध्यक्ष जनक रोकायाले भने तत्काल बस्ती स्थानान्तरण गर्न अर्को ठाउँ नभएकाले जोखिममा रहेको बस्तीका बासिन्दालाई छिमेकीकै घरमा बस्न लगाएको बताए। गाउँपालिका भरी विभिन्न ठाँउमा पहिरो जाँदा स्थानीयले लगाएको धान, कोदो, मकै, फापर लगायतका बाली बगेका छन्। जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार बाजुरामा ९५ बस्ती पहिरोको उच्च जोखिममा छन्। साविकको साप्पाटा गाविसको पूरै बस्ती पहिरोको उच्च जोखिममा रहेकाले तत्काल स्थानान्तरण गर्नुपर्ने बताएको छ।

यस्तै गौमुल गाउँपालिका वडा नम्बर १ अन्द्रडीकोबीच बस्तीमा पहिरो जाँदा ४८ परिवार विस्थापित भएका छन्। आन्तरिक सडक भत्किएर आवतजावतमा पनि समस्या भएको स्थानीयले गुनासो गरेका छन्। बुढिगंगा नदीले बडिमालिका, बुढिगंगा र त्रिवेणी नगरपालिकाका दर्जनौं बस्ती र खेतीयोग्य जमिन कटान गरिरहेको छ। त्रिवेणी नगरपालिकाको पैमा र बुढिगंगा नगरपालिका १ अमकोटमा पहिरो जाँदा बुढिगंगा नदी थुनिने खतरामा बढेको छ। सडकका विभिन्न ठाउँमा पहिरो जाँदा आन्तरिक यातायात सञ्चालनमा आउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.