युवाको रगत र पसिना निर्यात गरेर मुलुक समृद्ध हुँदैन : कमल थापा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले ४५ लाख युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन्।
राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित श्रमिकहरुको राष्ट्रिय भेलालाई सम्बोधन उनले श्रमिक र किसानको प्रतिनिधि बताउने कम्युनिस्टले सरकार चलाएका बेला युवाहरुले खाडीमा रगत र पसिना बेचिरहेको बताए।
सरकारले अवलम्वन गरेको आर्थिक नीति नै श्रमिकमैत्री नभएको भन्दै अध्यक्ष थापाले उद्योग व्यवसाय फस्टाउन नसक्नु, आशातित रुपमा आर्थिक वृद्धिदर नबढ्नु गलत अर्थनीतिको परिणाम भएको बताए।
श्रमिकहरुलाई प्रयोग गरेर नव सामन्त र नव धनाढ्यहरुको दिनप्रतिदिन वृद्धि भइरहेको बताउँदै उनले नेपालको इतिहासमै श्रमिकहरुको चरम शोषण भइरहेकोले यसतर्फ ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ध्यानाकर्षण गराए।