संविधान संशोधन गर्न मात्र सरकारमा सहभागी भएका हौं : उपप्रधानमन्त्री यादव
गोरखा : नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गराउने एक मात्र स्वार्थमा वर्तमान सरकारमा सहभागी भएको दाबी गरेका छन् ।
समाजवादी पार्टीको जिल्ला समिति समायोजन घोषणा सभामा सहभागी हुन शनिबार गोरखा आएका उपप्रधानमन्त्री यादवले गोरखाका पत्रकारसंगको कुराकानीमा संविधान संशोधन नभए सरकारमा नबस्ने पनि बताए ।
‘संविधान संशोधनको सर्तमा सरकारलाई दुई तिहाइ पु¥याइदिनका लागि मात्र हामी सरकारमा गएका हौं’, उनले भने, ‘जुन सर्त र सम्झौतामा हामी सरकारमा गएका हौं, त्यो कार्यान्वयन भएन भने हामी त्यहाँ जानुको कुनै औचित्य रहँदैन ।’
संविधान संशोधनका लागि अहिलेसम्म कुनै कदम नचालिएको भन्दै उनले सरकारको नेतृत्व गर्ने नेकपाको आलोचना गरे । ‘अहिलेसम्म संविधान संशोधनका लागि कुनै कदम चालिएको छैन । किन चालिएन भनेर तपाइँहरुले सरकारको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीका दुइटा अध्यक्षलाई सोध्नुहोला’, उनले भने, ‘पहिचानको विषयमा, निर्वाचन प्रणालीको विषयमा, शासकीय स्वरुपको विषय जस्ता असमानता र विभेदकारी प्रावधान कहाँकहाँ छन्, त्यहाँत्यहाँ संशोधन गर्न हामीले संशोधन प्रस्ताव पेश गरेका छौं ।’ संविधान संशोधन गर्न ढिला गरे जनतामा जाने उनले बताए ।
नेपालका अस्पतालमा धेरै रोगको उपचार नेपालमा भए पनि नेता, मन्त्री उपचारको क्रममा उपचार गर्न गइरहेकोमा चिन्ता व्यक्त गरे ।
‘सरकारी ढुकुटीबाट खर्च गरेर विदेश उपचार गर्न जान पाउने ब्यबस्था हामीले खारेज गरेका छौं, यति हुँदाहुदै पनि कोही व्यक्तिगत पैसा खर्च गरेर विदेश उपचार गर्न जान्छ भने उसको अधिकार हो । त्यसलाई रोक्ने नीति छैन’, उनले भने ।