कपडा बैंकको लोकप्रियता बढ्दै

कपडा बैंकको लोकप्रियता बढ्दै

काठमाडौं : ‘तपाईँको पुरानो लुगा कसैको लागि नयाँ हुनसक्छ’ अनामनगर जाने बाटो छेउ आजभोलि यो स्लोगनलाई बटुवाहरु फर्किफर्कि पढ्छन्। एक महिनाअघि उक्त स्थानमा हन्रेडस् ग्रुप्सले कपडा बैंक सञ्चालनमा ल्याएको थियो। अनावश्यक लुगा छाड्न मिल्ने र जसलाई आवश्यक छ उसैले निःशुल्क लिन मिल्ने बैंकप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ।

बैंकको लोकप्रियता बढेसँगै समूहका युवायुवती यतिबेला यस्ता बैंक उपत्यकाका विभिन्न ठाउँमा खोल्न लागि परेका छन्। नाम कपडा बैंक भए पनि यो बैंकमा पैसाको कारोबार हुँदैन। उपलब्ध सबै लत्ताकपडा निःशुल्क हुन्छन्। हाल ५० जना युवाको सक्रियतामा ‘लुगा चाहिन्छ, यहाँबाट लिनुहोला। पुराना, सफा, कपडा यहाँ छाडिदिनुहोस्’ भन्दै ठाउँ–ठाउँमा स्टल राखिएको छ।

त्यसलाई पढ्दै कोही पुराना कपडा छोडेर जान्छन् त कोही छानीछानी लिएर जन्छन्। डिल्लीबाजारमा बस्दै आएका दयानाथ राउत कपडा बैंक सञ्चालन भएको थाहा पाएर अनामनगर आउँछन्। उनले आफ्नो लागि एउटा कमिज र पत्नीको लागि साडी लिएका छन्। कवाडीको काम गर्दै आएका राउतले उत्साहित हुँदै भने, ‘हामी जस्ता गरिबलाई कपडा बैंकले ठूलो राहत मिलेको छ।’ बैंकमा सडक बालबालिकादेखि असहाय महिला तथा विपन्न वर्गले आफूले इच्छाएको लुगा छानेर लिन पाएका छन्।

अनामनगरका ३९ वर्षीय रामेश्वर अधिकारीले अभियानको बारेमा थाहा पाएपछि एक बोरा नचाहिने लुगा बैंकमा राख्न ल्याएका छन्। उनी भन्छन्, ‘लुगालाई पेलेर डस्ना बनाउनुभन्दा पुनः प्रयोगमा आउनु राम्रो हो। मानव भएपछि असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई सकेसम्म मद्दत गर्नुपर्छ।’ जुन कपडा बैंकमार्फत सहज भएको उनको बुझाइ छ। २२ वर्षीय विवेक ढकाल बैंकलाई सर्वसाधारणसम्म पुर्‍याउन ‘हन्ड्रेड््स ग्रुप्स’ मा आवद्ध भएर काम गर्दै आएका छन्।

बिहानको कलेज पढेर उनी सिधै अनामनगरमा रहेको कपडा बैंकको व्यवस्थापनमा जुट्छन्। ढकाल भन्छन्, ‘बैंकमा हामी बिहान आठदेखि बेलुकी आठ बजेसम्म आलोपालो बस्छौं। विदेशमा यस्ता कपडा बैंक प्रचलनमा रहे पनि नेपालका लागि यो नौलो हो।’ समूहमा आवद्ध अर्का युवा विमल पन्त भन्छन्, ‘तीन वर्षदेखि असहाय बालबालिका, बाढी पीडित तथा आगलागी पीडितका लागि मात्र लुगा जुटाउने काम गथ्र्यौं, तर अहिले सबैका लागि कपडा बैंकको अवधारणा ल्याएका हौं।’

उनका अनुसार समूहले बाढी पीडितलाईसमेत लत्ताकपडा उपलब्ध गराउँदै आएको छ। बैंकमा पुराना लुगाका साथै भाडावर्तन, जुत्ता, खेलौना जस्ता अनेक सामान छोड्ने क्रम पनि बढ्दै गएको छ। आवश्यक परेका व्यक्तिले निःशुल्क त्यहाँबाट कपडा तथा अन्य सामान लिएर जान सक्छन्। नचाहिने कपडाको पुन प्रयोग र गरिबसम्म कपडाको पहुँच पुर्‍याउन यो अभियान सञ्चालन गरिएको पन्तले बताए। दिनभरी जम्मा भएको कपडालाई ग्रुप्सले उमेर समूह छुट्याएर प्याक गर्ने र बृद्धा श्रम तथा बाल आश्रमहरुमा पुर्‍याउने गरेको अर्का युवा सौगात गौतमले बताए।

उनले भने, ‘अनामनगरमै हाम्रो सानो गोदाम छ। कपडा त्यहीँ लगेर व्यवस्थापन गर्दै आएका छौं।’ स्थानीय सरकारको सहयोगमा सञ्चालनमा आएको कपडा बैंकको प्रभावकारीता बढे पनि यो व्यवस्थित हुन अँझै समय लाग्ने ग्रुप्सका सञ्चालक विक्रम ओली बताउँछन्। ‘मानिसले आफूलाई नचाहिने लत्ताकपडा र अन्य सरसामान धमाधम बैंकमा छाडेर जान थालेका छन्’ उनले भने, ‘हालको सानो स्टलमा सामान अटाउनै सकिएको छैन।’

फेसबुकबाट बनेको युवाहरूको सन्जाल हन्ड्रेड्स ग्रुप्सले काठमाडौंको अनामनगरबाट सुरु गरेको कपडा बैंक हाल भक्तपूरको राधेराधे, शङ्खमुल, बनेपा, सामाखुसीमासमेत सञ्चालन भइसकेको छ। युवाहरुले यस बैंकलाई छिट्टै पशुपति क्षेत्रमासमेत सञ्चालन गर्न लागेको जानकारी दिए। हाल कपडा बैंकको लोकप्रियता बढ्दै गएपछि दशैभरीका जुझारु युवाहरुले स्वतस्फूर्त रुपमा ठाउँ–ठाउँमा बैंक सञ्चालनमा ल्याएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.