गृह राजनीतिको सीमा र अस्थिरता
दल, नेता, प्रबुद्ध समूह र आम नेपालीको महत्त्वपूर्ण कर्तव्य बाह्य हस्तक्षेपको संयन्त्र नबन्ने र यसको पक्षमा नउभिने अठोटसहित राष्ट्रभक्ति प्रदर्शन गर्नु हो ।
संयुक्त राज्य अमेरिकामा एउटा प्रख्यात भनाइ छ, ‘पार्टीसन पोलिटिक्स मस्ट स्टप एट द वाटर्स एज।’ अर्थात्, दलगत राजनीति पानीको किनारामा रोकिनैपर्छ। विशाल राष्ट्र अमेरिकाको अन्तर्राष्ट्रिय सीमा पूर्वमा एट्लान्टिक महासागर र पश्चिममा प्रशान्त महासागर पर्छ। त्यसैले अमेरिकी दलगत आन्तरिक राजनीति समुद्र किनाराको पानीमा अर्थात् अन्तर्राष्ट्रिय सिमानामा रोकिनुपर्छ भन्ने भनाइ यसैकारण रहन गएको हो। गृह राजनीति अन्तर्राष्ट्रिय सीमाभन्दा बाहिर लैजान र जान दिनु हुँदैन। अन्यथा, यसले अस्थिरताबाहेक अरू केही निम्त्याउँदैन।
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसले हस्तक्षेप गरी निर्वाचन परिणाममा प्रभाव पारेको आरोपमाथि लामो र स्वतन्त्र छानबिन भयो। बाह्य हस्तक्षेपले लोकतन्त्र कमजोर पार्छ भन्ने अमेरिकी समाजको स्पष्ट बुझाइ छ। त्यसैकारण, बाह्य राजनीतिक हस्तक्षेपलाई गम्भरीतापूर्वक लिने परम्परा रहेको अमेरिकालगायत परिपक्व लोकतन्त्र भएका अन्य मुलुकमा राजनीतिक स्थिरता कायम छ। आन्तरिक मामिलामा बाह्य हस्तक्षेप र राजनीतिक अस्थिरताबीच गहिरो अन्तरसम्बन्ध हुन्छ। नेपाल दक्षिण एसियामा सबैभन्दा बढी राजनीतिक अस्थिरता भएको मुलुकको श्रेणीमा पर्छ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा विद्रोही नेता लरां डेजिरे कबिलाले युगान्डा र रुवान्डाको सैनिक सहयोगमा पूर्वीकंगो हुँदै एकपछि अर्को सहर तथा गाउँबस्ती कब्जा गर्दै राजधानी किन्सासा पुगी राष्ट्रपति मोबुतुलाई सत्ताच्युत गरेर सन् १९९७ मा आफू राष्ट्रपति बने। राष्ट्रपति बनेको एक वर्षपछि उनले रुवान्डा र युगान्डाको सेना फिर्ता जान आदेश दिए। राजधानी किन्सासाबाट फिर्ता गए पनि पूर्वीकंगोमा युगान्डा र रुवान्डाको फौजले आफ्नो अधिपत्य कायम राखेर बस्योे। मुलुकको झन्डै आधा भूभागमा विदेशी सेनाको कब्जा कायम रहेपछि राष्ट्रपति कबिलाले एंगोला, जिम्बाबे र अन्य क्षेत्रीय राष्ट्रहरूको सैनिक सहयोग लिए। यसरी सुरु भएको बाहिरी हस्तक्षेपको पक्ष र विपक्षमा लड्न कैयन् सशस्त्र विद्रोही समूह जन्मे। देशको पश्चिमी भागमा सरकारी सेना र पूर्वीभागमा विदेशी सेनाको कब्जा कायम भई देश विभाजित अवस्थामा पुग्यो। गृहयुद्ध रोक्ने उद्देश्यले सन् २००० मा संयुक्त राष्ट्रसंघको तत्वावधानमा शान्ति सेना तैनाथ भयो। यसरी करिब २२ वर्षदेखि कंगो निरन्तर गृहयुद्धमा पिल्सिइरहेको छ। नेपालले पनि सन् २००० देखि नै त्यहाँ शान्ति सैनिक पठाई योगदान गर्दै आएको छ।
प्राकृतिक स्रोतसाधनको दृष्टिले संसारकै धनी र विशाल देश कंगो अहिले विश्वको सबैभन्दा गरिब र अस्थिर देशको श्रेणीमा पर्छ। बाह्य हस्तक्षेपबाट क्षत्विक्षत् भएको देश कंगोबाट नेपालले प्रशस्त पाठ सिक्न सक्छ। बाह्य हस्तक्षेपले राष्ट्रिय हितको पक्षपोषण गर्दैन, तर केही दल, समूह, गुट र व्यक्तिको भने हित हुन सक्छ। आधुनिक नेपालको प्रारम्भ लोकतन्त्र स्थापनाबाट भयो। तर, लोकतन्त्रको स्थापना आन्तरिक बलबाट मात्र नभई आन्तरिक र बाह्य शक्तिको संयुक्त प्रयासबाट भएकाले आधुनिक नेपालको आन्तरिक मामिलामा बाह्य राजनीतिक हस्तक्षेपले सँगसँगै प्रवेश पायो। त्यसपछिका प्रत्येक परिवर्तन दलहरूबाट सञ्चालित जनआन्दोलन र बाह्य मद्दतको तालमेलबाट मात्र हाँसिल भएकाले नेपालको आन्तरिक मामिलामा बाह्य राजनीतिक प्रभाव अभिन्न अंग बन्न पुग्यो।
राहदानीधारी राजनीतिले आफ्नो अन्तर्राष्ट्रिय सिमाना कहाँ टुंगिन्छ र अर्को देशको सिमाना कहाँबाट सुरु हुन्छ भन्ने होस पाउँदैन। विदेशी राजधानीमा पुगेपछि आफ्नो ताकत, कर्तव्य र हैसियत सबै बिर्सन्छ।
एकतन्त्रीय राणाशासन १०४ वर्ष टिक्नु, २००७ सालमा स्थापना भएको बहुदलीय प्रजातन्त्र १० वर्ष मात्र टिक्नु, पञ्चायत व्यवस्था ३० वर्ष टिक्नु र पुनस्र्थापित बहुदलीय प्रजातन्त्र १५ वर्ष मात्र टिक्नुले के प्रमाणित गर्छ भने जुन व्यवस्थामा बढी राजनीतिक हस्तक्षेप हुन्छ, त्यो व्यवस्था कम समयावधि टिक्छ। निर्दलीय पञ्चायत व्यवस्थामा भन्दा पुनस्र्थापित बहुदलीय व्यवस्थामा बाह्य राजनीतिक हस्तक्षेपको मात्रा बढी थियो। माओवादी–सरकार सशस्त्र द्वन्द्वले पनि त्यो परिस्थिति सिर्जना गर्यो। बाह्य राजनीतिक हस्तक्षेप आफैं आउँदैन, आन्तरिक कारण र आन्तरिक शक्तिहरूले नै निम्त्याउने गर्छन्। बाह्य हस्तक्षेप आफैं हिँडेर आउँदैन, बुई चढेर मात्र आउँछ भन्ने उदाहरण कंगो र नेपालको इतिहासले सावित गरेको छ।
राजनीतिक स्थिरताको पहिलो पूर्वसर्त गृह राजनीतिलाई नेपालकै सीमामित्र कैद गर्न सक्नु हो। गृह राजनीतिलाई कुनै पनि हालतमा अन्तर्राष्ट्रिय सिमानाभन्दा बाहिर जान दिनु हुँदैन। बाहिर लगिहालेमा शीघ्र अनुसन्धान गरी सम्बन्धित व्यक्ति र समूहमाथि छानबिन अघि बढाउन सक्नुपर्छ। राजनीतिक स्थिरताबिना शान्तिसुरक्षा कायम गर्न र आर्थिक विकास गर्न सम्भवना भएकाले स्थिरता कायम राख्नु नेपालको एउटा महत्त्वपूर्ण राष्ट्रिय हित हो। यो राष्ट्रिय हितको प्रवद्र्धनका खातिर सबै आन्तरिक शक्ति र जनताले मलजल गर्नुपर्छ। यसमा आँच आउने गरी कसैले कुनै गतिविधि गर्नु हुँदैन र गरेको खण्डमा त्यो राष्ट्रिय हितविरुद्ध हुन जान्छ। नेपालको संविधानको धारा ५ मा राष्ट्रिय हितप्रतिकूलको आचरण र कार्य संघीय कानुनबमोजिम दण्डनीय हुनेछ भनी किटान गरिएको छ। विदेशी हस्तक्षेप निम्त्याउने बोली र व्यवहार पनि राष्ट्रिय हित प्रतिकूलका कार्य हुन्। राष्ट्रिय हितको प्रतिकूल हुने गरी कार्य गर्ने व्यक्ति र संस्थामाथि निगरानी राख्ने, सूचना संकलन र कारबाही गर्ने दायित्व सरकारको हो। यो कार्यलाई संस्थागत गर्नु अत्यावश्यक छ।
विडम्बना, नेपालको गृह राजनीति लामो समयदेखि राहदानीधारी बनेको अवस्था छ। राहदानीधारी भएकाले स्वेच्छाले यो विभिन्न बहानामा विदेश भ्रमणमा जाने र आउने गर्छ। भ्रमण पूरा गरी आउँदा उज्यालो अनुहार लिएर विजयी मुद्रामा आउने गर्छ। विदेशी राजधानीमा फुरुंङ भएर घरको नालीबेली सुनाउने, छलफल गर्ने, सल्लाह तथा प्रेस्क्रिप्सन लिने र राजनीतिक उद्देश्य बोकी नेपाल आएका विदेशीसँग साक्षीबिना अलगअलग गोप्य भेटघाट गर्ने तथा व्यहोरा गोप्य राख्नेजस्ता आचरण नेपाली गृह राजनीतिमा पनि देखिएको छ। राहदानीधारी राजनीतिले आफ्नो अन्तर्राष्ट्रिय सिमाना कहाँ टुंगिन्छ र अर्को देशको सिमाना कहाँबाट सुरु हुन्छ भन्ने होस पाउँदैन। विदेशी राजधानीमा पुगेपछि आफ्नो ताकत, कर्तव्य र हैसियत सबै बिर्सन्छ। यसले शीघ्र र दीर्घकालमा मुलुकलाई पार्ने अहितको हिसाब किताब बिर्सन्छ र सम्झने चेष्टा पनि गर्दैन। यसले विदेशी राजधानीमा बोलेका कुरा आफ्नै समूहभित्र पनि बे्रकिङ न्युज बन्ने गर्छ। यस्तो गतिविधिले गृह राजनीतिक वातावरणमा नयाँ तरंग र आकार दिनेसम्मको प्रभाव पार्छ। गृह राजनीतिका पात्रहरूलाई कहिले मिलाइदिन्छ त कहिले झगडा पारिदिन्छ। कहिले प्राकृतिक र कहिले अप्राकृतिक गठबन्धन बनाइदिने काम गर्छ। भाँडाकुटी खेलमा जस्तै यो खेल निश्चित नियम, सिद्धान्त र नैतिकताको परिधिभित्र खेलाइँदैन।
दुई देशका राष्ट्रिय हितहरूबीच विवाद वा टकराव भएमा बलियो राष्ट्रले कमजोर राष्ट्रमाथि अनेक तरिकाले हस्तक्षेप गर्ने गर्छ। बाह्य हस्तक्षेप साधारणतया दुई अवस्थामा हुने गर्छ— आफ्नै देशभित्रको भैmझगडा गहिरिएर अरू देशका लागिसमेत सुरक्षा चुनौती बनेको अवस्थामा एक वा एकभन्दा बढी आन्तरिक पक्षले हस्तक्षेपका लागि बाह्य शक्तिलाई अनुरोध गरेमा र बाह्य देशले उसको राष्ट्रिय हित र रणनीतिक योजनाअन्तर्गत हस्तक्षेपको लागि अनुकूल परिस्थिति सिर्जना गरेमा। आन्तरिक शक्तिहरूबीच स्वार्थको टकराव र झैझगडाको स्थिति, राजनीतिक वा सशस्त्र द्वन्द्वले सिर्जना गरेको विषम परिस्थिति, लामो राजनीतिक अस्थिरता र आन्तरिक शक्तिहरूले राष्ट्रिय स्वार्थभन्दा दल वा समूहगत स्वार्थलाई सर्वोपरि मानी क्रियाकलाप गरेको अवस्थामा बाह्य हस्तक्षेपका लागि अनुकूल वातावरण बन्छ। बाह्य शक्तिले पनि आफूसँग पहिचान मिल्ने, राजनीतिक आस्था मिल्ने, आफ्नो स्वार्थअनुकूलको मुद्दा बोकेको वा स्वार्थअनुकूल काम गराउन सकिने र तत्कालीन गृह राजनीतिमा उदयीमान शक्तिका रूपमा देखा परेकोे शक्तिको पक्षमा उभिने गर्छ। राजनीतिक नेतृत्व र नीतिनिर्मातामा सामरिक संस्कृतिको अभाव र राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षाबारे ज्ञान तथा अनुभवको कमीले बाह्य हस्तक्षेपलाई सजिलो बनाइदिन्छ।
राज्यहरूको विलय, जन्म वा विघटन आन्तरिक कलह र बाह्य हस्तक्षेपको संयुक्त कारणबाटै भएका छन्। बाह्य हस्तक्षेप आन्तरिक र बाह्य शक्तिहरू बीचको सहकार्यबाटै सम्भव हुन्छ। विभिन्न देशको अनुभव हेर्दा हस्तक्षेपमा संयन्त्रको काम मुख्यतया हस्तक्षेप गरिने मुलुकका पात्रहरूबाटै लिइन्छ। हस्तक्षेप कार्यान्वयनका लागि विभिन्न हतकण्डाको उपयोग गरिन्छ। प्रलोभन दिनेदेखि फकाउने, उक्साउने, हप्काउने, थर्काउने, धम्क्याउने, चेतावनी दिने, सूक्ष्म व्यवस्थापन गर्ने, आपूर्तिमा बन्देज लगाउने र सैनिक हस्तक्षेपसम्मका तरिकाहरू यसका उदाहरण हुन्। बाह्य राजनीतिक हस्तक्षेप प्रायः गरिब र कमजोर देशहरूमा हुने गर्छ। व्याप्त गरिबी, बेरोजगार र राज्यको कमजोर इन्टेलिजेन्स र काउन्टर इन्टेलिजेन्स क्षमता यसका प्रमुख कारण हुन्।
नेपालको विगतका घटना केलाउने हो भने बाह्य शक्तिहरूले कूटनीतिक संयन्त्रभन्दा आफ्ना गुप्तचर विभागलाई बढी क्रियाशील बनाएकोे र रणनीतिक तहमा भन्दा कार्यान्वयन तहमा बढी रुचि देखाएको आरोप लाग्ने गरेको छ। नेपालले चाहिँ वार्ताको टेबुलमा बसेर समस्या समाधान गर्ने क्षमता प्रदर्शन गर्नेभन्दा मिडियाबाजी वा सडकमा ओर्लिएर प्रदर्शन वा आरोप लगाउने प्रवृत्ति देखिएको छ। नेपालले कूटनीतिक र राजनीतिक तहमा सीधै कूटनीतिक वार्ता गरेर आपसी समझदारी बढाउने, समस्यामाथि स्पष्ट छलफल गर्ने र संयुक्त रूपमा सम्बोधन गर्ने उपाय अपनाउनुपर्छ। २००७ सालयताका राजनीतिक अस्थिरताको शृंखलालाई विश्लेषण गरेर पाठ सिक्ने हो भने अहिले प्रत्येक दल, नेता, संघसंगठन, प्रबुद्ध समूह र आम नेपालीको पहिलो र महत्त्वपूर्ण कर्तव्य भनेको बाह्य हस्तक्षेपको संयन्त्र आफू नबन्ने र यसको पक्षमा नउभिने अठोट गरेर राष्ट्रभक्ति प्रदर्शन गर्नु हो।
—सिलवाल अवकाशप्राप्त उपरथी हुन्।