सम्बोधनपछि संसद् भवनमै ओलीले देउवा र प्रचण्डलाई किन भेटे ?
काठमाडौं : सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्तिबारे प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवाबीच आइतबार छलफल भएको छ।
प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गरेपछि संसद् भवनमै तीनजनाबीच छोटो भेटवार्ता गरेका हुन्।
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगलाई पूर्णता दिएर द्वन्द्वकालीन मुद्दाको दीर्घकालीन समाधान खोज्ने बारेमा सकारात्मक छलफल भएको स्रोतले बतायो।
आइतबारको छलफल मंगलबार फेरि बस्ने गरी सकिएको छ। संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा छिटै पदाधिकारी नियुक्ति हुने र द्वन्द्वकालीन मुद्दालाई टुंगो लगाइने दृढता व्यक्त गरेका थिए।
द्वन्द्वकालीन घटना छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोग झन्डै चार महिना पदाधिकारीविहीन छन्। प्रधानमन्त्री ओली, नेकपाका प्रचण्ड, कांग्रेस सभापति देउवाबीच पटकपटक बैठक भए पनि भागबन्डाको कारण आयोगका पदाधिकारी नियुक्त हुन सकेका छैनन्।
द्वन्द्वकालीन मुद्दासँग प्रत्यक्ष रुपमा जोडिएका दाहाल र देउवा आफू अनुकुलका पात्रलाई त्यहाँ पठाएर जोखिम घटाउने रणनीतिमा छन्।