नेकपा सचिवालय : माधवको वरिष्ठता खोसियो, झलनाथ 'एक नम्बर'मा
काठमाडौं : सत्तारुढ नेकपा सचिवालय बैठकले वरीयतामा माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाललाई राख्ने निर्णय गरेको छ। भर्खरै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको बैठकले वरीयतामा वरिष्ठ नेताको एक नम्बरमा खनाल र दुई नम्बरमा नेपाललाई राख्ने निर्णय गरेको प्रवक्ता नरायणकाजी श्रेष्ठले जानकारी दिए।
नेपालले वरीयतामा असन्तुष्टि जनाउँदै 'नोट अफ डिसेन्ट' लेखेको स्रोतले बताएको छ। स्रोतका अनुसार नेपालले तीन नेतालाई सचिवालयमा लैजान प्रस्ताव गरेका थिए। नेपालले नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावललाई सचिवालयमा लैजान प्रस्ताव गरेको तर बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरेको स्रोतले बतायो।
बैठकले जनवर्गीय संगठनहरूको पनि जिम्मेवारी टुंग्याएको छ।
नेताहरूको कार्यविभाजन गर्न शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेव गौतमलाई केन्द्रीय उपाध्यक्षमा प्रस्ताव गरेका थिए। पार्टीमा पाँचौँ वरीयताका गौतमलाई संगठन विभाग र किसान महासंघ विभागको प्रमुख बनाइएको हो।
नौ सदस्यीय सचिवालयमा निर्णय प्रक्रियामा आफूलाई अप्ठ्यारो परेको महसुस गरेपछि ओली गौतमलाई जिम्मेवारी दिन राजी भएका थिए। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेले पनि आफूलाई जिम्मेवारीविहीन बनाइएको भन्दै गौतमले ओलीको विरोध गर्दै आएका थिए। गौतम पनि विपक्षमा उभिएपछि ओलीलाई कतिपय निर्णय आफू अनुकूल गराउन गाह्रो भएको थियो।
तत्कालीन एमाले संसदीय दलको नेतादेखि पार्टी अध्यक्ष बनाउन आफूले ओलीलाई सहयोग गरे पनि गुन बिर्सेको भन्दै गौतमले आलोचना गर्दै आएका थिए।
पार्टी एकताको झन्डै १४ महिनापछि शुक्रबार बसेको सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। नेकपाले ३२ विभागको प्रमुख र उपप्रमुखको नाम तय गरेको थियो ।
कार्यविभाजनसँगै गौतमलाई उपाध्यक्षको प्रस्ताव गरिएको छ। पार्टीको विधानमा भने उपाध्यक्ष पद छैन। स्थायी समितिको आगामी बैठकबाट निर्णय गराएर गौतमलाई उपाध्यक्ष तयारी छ । पार्टी एकताका क्रममा अध्यक्षद्वय र महासचिवको पद सिर्जना गरिएको थियो। एकताको समयमा माधव नेपाल झलनाथ खनाल भन्दा वरीयतामा अगाडि थिए । आजको बैठकले नेपालको त्यो वरीयता खोसिएको हो ।
टुंग्यायो जबसको जिम्मेवारी : को कता ?
बैठकले जनवर्गीय संगठनको जिम्मेवारी टुंग्याएको छ। उपत्यका विशेष कमिटिको इन्चार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल, अरुण नेपाल अध्यक्षमा राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपानेलाई जिम्मा दिएको छ।
उपत्यका विशेष कमिटी अन्र्तगतको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्जमा माधव ढुंगोल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल र सचिवमा सुनिता बराल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा बिना श्रेष्ठ, सहइन्चार्जमा कुमार पौडेल, अध्यक्षमा जगत सिम्खडा र सचिवमा नरनाथ लुइँटेल, पेशागत विशेष जिल्ला कमिटीको इन्चार्जमा केशव नेपाल, सहइन्चार्जमा प्रेमल खनाल अध्यक्षमा प्रेम पराजुली र सचिवमा कृष्ण केसी, उधोगी व्यवसायी विशेष जिल्लाको इन्चार्जमा पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ, अध्यक्षमा नाम टुंगो लगाउन बाँकी र सचिवमा चन्द्र रिजाल, केन्न्द्रीय सम्र्पक समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा, सहइन्चार्जमा डिलाराम आचार्य, विजय गुरुङ, झक्कु सुवेदी, अध्यक्षमा प्रह्लाद बुढाथोकी, सचिवमा नरेन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन्।
सम्र्पकको प्रदेश १ मा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्जमा हेमकुमार राई, अध्यक्षमा इन्द्र भण्डारी र सचिवमा ध्रुव आङदाम्वे, प्रदेश २ को इन्चार्जमा अच्युत मैनाली, सहइन्चार्जमा भरत शाह, अध्यक्षमा सुनिता यादव र सचिवमा विष्णु यादव, प्रदेश ३ को इन्चार्जमा गणेश पहाडी, सहइन्चार्जमा युवराज दुलाल, अध्यक्षमा कमला दोङ र सचिवमा श्याम वस्नेत, गण्डकी प्रदेशको इन्चार्जमा दिलु पन्त, सहइन्चार्जमा चुडामणि खड्का, अध्यक्षमा तारा कुमार र सचिवमा विष्णु सिग्देल, प्रदेश ५ को इन्चार्जमा मानबहादुर बुढा, सहइन्चार्जमा गौराप्रसाद कोइराला, अध्यक्षमा थानेश्वर वस्याल र सचिवमा सुनिता रोकाया, कर्णाली प्रदेशको इन्चार्जमा झकबहादुर मल्ल, सहइनचार्जमा गोविन्दबहादुर साह, अध्यक्षमा पूर्णबहादुर मल्ल र सचिवमा चित्रबहादुर घर्तीमगरले जिम्मा पाएका छन्।
त्यस्तै सुदूरपश्चिम सम्र्पक कमिटीको इन्चार्जमा गौरीशंकर चौधरी, सहइन्चार्जमा महेश्वर पाठक, अध्यक्षमा शिव ठकुल्ला र सचिवमा हेमन्त जोशी चयन भएका छन्।
नेकपाले पार्टीका २२ जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्ज पनि टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार, मजदुरमा इन्चार्ज जयपुरी घर्ती सहइन्चार्जमा विनोद श्रेष्ठ, किसान महासंघमा इन्चार्ज वामदेव गौतम र सहइन्चार्जमा सुनिल मानन्धर, महिला इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोका, युवामा इन्चार्जमा महेश बस्नेत र सहइन्चार्ज र अध्यक्षमा रामप्रसाद सापकोटा , विद्यार्थी इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा विनोद ढकाल, बुद्दिजीवी इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की, पेशागत महासंघको इन्चार्जमा पम्फा भुषाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेलले जिम्मा पाएका छन्।
नेता वामदेव गौतमले संयोजक पाएको किसान महासंघको संयोजक परिवर्तनको निर्णय पनि नेकपाले गरेको छ। किसानमा हरि पराजुलीले संयोजकको जिम्मा पाएको प्रवक्ता श्रेष्ठले बताए।