विप्लव नेकपाले कब्जा गर्यो ६ रोपनी जग्गा
मीना बुढाथोकी
सल्यान : ‘विप्लव’ नेकपाले सल्यानमा ६ रोपनी जग्गा कब्जा गरेको जनाएको छ। छत्रेश्वरी गाउँपालिका-६ लान्तीको जग्गा कब्जा गरेको भन्दै नेकपाले आफ्नो झन्डा र ब्यानर गाडेको छ। खैराबाङ मन्दिरको नाममा रहेको ६ रोपनी जग्गा नेकपाको जिल्ला जनपरिषद् सल्यानले शनिबार राति आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको हो।
तर ब्यानर गाडिएको जग्गा मन्दिरकै नाममा छ वा व्यक्तिको नाममा अझै खुलेको छैन। सो जग्गा स्थानीय दुर्गाबहादुर बुढाथोकीले भोगचलन गर्दै आएको स्थानीयले बताएका छन्। नेकपाको ब्यानर राखिएको जग्गा र खैराबाङ मन्दिरको नाममा रहेको जग्गा सटेको हुनाले जग्गा मन्दिरकै हो भन्नसक्ने अवस्था नरहेको स्थानीयले बताएका छन्।
सो स्थानमा जनपरिषद्ले राखेको कालो ब्यानरमा ‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भूमाफिया हाम्रो निसाना, जनयुद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुनः जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउँछौं’ उल्लेख छ। सशस्त्र द्वन्द्वकालमा तत्कालीन माओवादीले सल्यानमा कब्जा गरेका घरजग्गालाई विप्लव नेतृत्वको नेकपाले फेरि कब्जा गर्ने नेकपा सल्यानका सेक्रेटरी लोकपाल केसीले बताए। आफूले कब्जा गरिएका जग्गालाई के गर्ने भन्नेबारे पार्टीको केन्द्रीय निर्णयपछि मात्र भन्न सकिने उनको भनाइ छ।
यता घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय लुहामबाट एक टोली घटनास्थलमा पुगेको र मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ। ब्यानर राखिएको जग्गा कसको नाममा छ त्यो लालपुर्जा हेरेपपिछ मात्र थाहा हुने प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।