प्रहरीमाथि पारसको दुर्व्यवहार : प्रहरी भन्छ-‘ठूलो इस्यू होइन’
काठमाडौं : आइतबार पूर्वयुवराज पारस शाहले विमानस्थलको ड्युटीमा खटिएका एक प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल भरि फैलिएको छ। त्यस भिडियोमा पारसले उनकै सुरक्षार्थ उभिएका प्रहरी नायब निरीक्षक(सई)लाई कठालो समाएर घोक्र्याएका छन्।
उनको दुर्व्यवहारपछि ती प्रहरी निरीह देखिन्छन् । पारस शाह सानकासाथ अघि बढ्छन्। यस भिडियोलाई लिएर धेरैले राजतन्त्र अन्त्य भइसकेका बेलामा पनि पारसको पूरानै दम्भ देखिएकाले कारवाही गर्नुपर्ने आवाज उठाई रहेकाछन्। अरोमा युथ नामको युट्युब च्यानलले अपलोड गरेको भिडियो मा पारसले पर पुगेपछि पनि फर्कीफर्की प्रहरीलाई चेतावनी दिएको देखिन्छ।
यसबारे प्रहरी अधिकारीहरुसँग बुझ्न खोज्दा कतिपयले थाहा नभएको बताए। विमानस्थल सुरक्षा प्रमुख सूर्यप्रसाद उपाध्यायले भने यो सामान्य घटना भएको जानकारी दिए। ‘सुरक्षा चेकजाँचका क्रममा सामान्य धकेलाधकेल भएको हो, सुरक्षाकर्मीमाथि जाइलाग्ने नियत थिएन’। उपाध्यायले यसलाई ठूलो मुद्दा बनाउन आवश्यक नभएको बताए।