'कश्मीर' लाई नजिकबाट नियालिरहेका छौँ : परराष्ट्रमन्त्री
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कश्मीर घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताएका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको छ।’
नेपाल भारत संयुक्त आयोग बैठक आरम्भ हुनु दुई दिनअघि मन्त्रालयले पत्रकार सम्मेलन गरेको हो। नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच समग्र दुईपक्षीय विषयमा बैठक हुन लागिरहेको बेला नेपालले कश्मीर मामिलामा धारणा ब्यक्त गरेको हो।
भारतले आफ्नो संविधानको धारा ३७० र अनुच्छेद २५ खारेजीपछि पहिलोपटक नेपाल सरकारको धारणा आएको हो। भारतले जम्मू कश्मीरको विशेष राज्यको मान्यता खोसेको छ भने लद्दाखलाई अलग राज्य बनाएको छ।
नेपालले त्यसलाई क्षेत्रीउ शान्तिको विषयमा अडेर मात्र आफ्नो धारणा राख्ने बताएको थियो। सार्कको वर्तमान अध्यक्ष समेत रहेको नेपालले भारत र पाकिस्तानको विषयमा बोल्न चाहँदैन। यही विषयलाई लिएर जम्मु कश्मीरमा तनाव जारी छ भने पाकिस्तानले पनि विरोध गरेको छ। यो विषय राष्ट्रसंघको सुरक्षा परिषदमा समेत ब्युँतिएको छ।
जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूतावासले काम गरिरहेको पनि उनले जानकारी दिए।
नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताउँदै उनले कुनै पनि घटनाले शान्ति खलबलिन नहुने ज्ञवालीले बताए। यस क्षेत्रको शान्ति खलबलिन नदिने विषयलाई भारतले पनि गम्भीरतापूवर्क लिने विश्वास उनले व्यक्त गरे।
एक संसदीय समितिको बैठकमा कांग्रेस नेता प्रदीप गिरीले राखेको धारणाबारे पनि ज्ञवालीले टिप्पणी गरे। 'उहाँले संसदको समितिमा संचारमा माध्यम आएजस्तो धारणा राखेको मलाई विश्वास छैन', उनले भने।
गिरीले सक्ने भए भारतले नेपाललाई सिक्किम बनाउँथ्यो भन्ने अभिव्यक्ति संसदीय समिति बैठकमा दिएका थिए।