संसद सचिवालयसँग मगाइयो गाडी खरिदको फाइल
काठमाडौं : संसदीय समितिका सभापतिको गाडी बिग्रिएको विषयमा छानबिन गर्न बनेको समितिले संसद सचिवालयसँग फाइल मागेको छ ।
एक हप्ताअघि बनेको छानबिन समितिको सोमबारको बैठकले संसद सचिवालयबाट गाडी खरिदसँग जोडिएका सम्पूर्ण फाइल माग्ने निर्णय गरेको हो । दुई दिनभित्र फाइल उपलब्ध गराउनुपर्ने छानबिन समितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए । ‘हामीले अब छानबिनको काम सुरु गर्याैँ,’ बिडारीले भने ।
समितिले गाडीको खरिदमा पनि अनियमिताको आशंका गरेको छ । यसको खरिदका विषयमा खरिद अनुगमन कार्यालयबाट सहसचिवको टोली बोलाएर सबै कागजपत्रको गम्भीर अध्ययन गर्ने समितिले निष्कर्ष निकालेको छ ।
समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पनि विज्ञ इन्जिनीयरलाई बोलाएर गाडीको सबै पाटपूर्जाको अध्ययन गर्न लगाउने निर्णय भएको संयोजक बिडारीले बताए ।
संघीय संसद सचिवालयले सभापतिहरूका लागि एक महिनाअघि ११ वटा नयाँ स्कर्पियो गाडी खरिद गरेको थियो । तर, सभापतिले प्रयोग गर्नासाथ गाडी बिग्रन थालेपछि अनियमितताको आशंकामा संसद सचिवालयले छानबिन समिति गठन गरेको हो ।
समिति सभापतिका लागि खरिद गरिएका गाडीमा स्टार्ट नहुने, ब्रेक नलाग्ने, साउण्ड सिस्टमले काम नगर्ने, झ्यालको सीसा नलाग्ने जस्ता समस्या देखिए । संसद सचिवालयको निरन्तरको ताकेतापछि अर्थ मन्त्रालयले बजेट रकमान्तर गर्दै नयाँ गाडी खरिदका लागि करिब ६ करोड बजेट उपलब्ध गराएको थियो ।
१६ संसदीय समितिमध्ये संसद सचिवालयले बैशाखमै पाँच समिति सभापतिलाई नयाँ गाडी उपलब्ध गराएको थियो । यस्तै, छानबिन समितिले ११ वटा गाडी प्रयोग गरिरहेका संसदीय समितिका सभापतिलाई समेत बोलाएको छ । उनीहरूले चढिरहेको गाडीको समस्या बुझ्नका लागि मंगलबारको बैठकमा बोलाइएको संयोजक बिडारीले बताए । उनले भनेका छन्, ‘उहाँहरूको गाडीमा देखिएको समस्या बारे बुझेर त्यहीअनुसार काम अघि बढाउँछौँ ।’
अघिल्लो आइतबार संसद सचिवालयले गठन गरेको छानबिन समितिको म्याद १५ दिनको छ । समिति गठन भएको आठ दिनपछि मात्रै पहिलो बैठक बस्यो । तर समितिले काम सुरु भएको दिन अर्थात् सोमबारबाट मात्रै गन्ति सुरु हुने बताएको छ । तोकिएको समयमा काम सक्ने समितिको दाबी छ ।