'सर्वसत्तावाद लाद्ने दुस्साहस भयो'

'सर्वसत्तावाद लाद्ने दुस्साहस भयो'

भैरहवा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले संविधान मिचेर सर्वसत्तावाद लाद्ने दुस्साहस गरिरहेको आरोप लगाएका छन्। वर्तमान ओली नेतृत्वको दुईतिहाई सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उनले उक्त आरोप लगाएका हुन्।

उनले वर्तमान सरकार प्रजातन्त्र विरोधी भएको स्पष्ट भइसकेको जनाउँदै प्रजातन्त्रको विरुद्ध लाग्ने जुनसुकै सरकार एवं व्यवस्थाका विरुद्धमा नेपाली कांग्रेस लडिरहेने बताए।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीको भैरहवामा सुरु भएको प्रदेश पाँच स्तरीय दुई दिने महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले राणा, पंचायत, राजाका विरुद्ध कांग्रेसले संघर्ष गरेको स्मरण गराउँदै अब कम्युनिष्ट निरंकुशताका विरुद्ध लडन तयार रहेको चेतावनी दिए।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रजातन्त्रको खिलाफ र यसलाई सिध्याउन लाग्ने कुनै शक्तिलाई कांग्रेसले नछाड्ने चेतावनी दिँदै प्रजातन्त्रको खिलाफमा नलाग्न सबैलाई आग्रह गरे।

अहिले कम्युनिष्ट सरकारले नागरिकको मौलिक हकमाथिको अधिकार एवं प्रजातन्त्रका मुल्य र मान्यताहरुलाई वेवास्ता गरी ऐन कानुनहरु ल्याउने काम गरिरहेको उनले बताए। सरकारले मानव अधिकार र राष्ट्रिय सुरक्षा पनि आफ्नो अन्डरमा राख्ने कानूनको मस्यौदा ल्याएको प्रति आपत्ति जनाए।

सभापति देउवाले सरकारले विद्यमान कानूनलाई तोडमोड गर्दै प्रेस स्वतन्त्रता, मानवधिकार आयोग, निर्वाचन आयोग, सर्वोच्च अदालत, भूस्वामित्वको विषयमा समेत नागरिकको मौलिक हक खोसी निरंकुश बन्न खोजेको आरोप लगाए।

'मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ, तर सरकारले आयोगको अधिकार खोस्न खोजेको छ , सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अगाडि बढ्न खोजेको छ , मिडिया विधेयक काउन्सिल प्रजातन्त्र विरुद्धको हस्तक्षेप हो', उनले भने, 'यी कुरामा सरकार नसच्चिए कांग्रेस सदन र सडकबाट आन्दोलन समेत गर्न पछाडि हट्ने छैन।'

उनले कांग्रेसमा जस्तो समावेशिता अन्य पार्टीमा नरहेको बताउँदै समावेशिता अनुसारको भोट पनि ल्याउनुपर्ने उल्लेख गरे। 'कांग्रेस जस्तो समावेशी अरु पार्टी छैन तर त्यस अनुसारको भोट आएको छैन', उनले भने, 'जुन समुदायले जति प्रतिशत आरक्षण पाएका छन् त्यसअनुसार भोट ल्याउनुपर्ने हो। महिला ३३ प्रतिशत ल्याउनुपर्यो। आदिवासी, जनजाति सबैले प्रतिशत अनुसार भोट ल्याउनुपर्यो।'

उनले पार्टीमा अन्तरघात गर्नेलाई कारवाही गरिने बताए। 'पार्टीलाई मर्यादित र अनुशासित ढंगबाट संचालन गर्न निर्वाचनमा अन्तरघात गर्ने जोसुकैलाई पनि पार्टीले कारवाही गर्छ', सभापति देउवाले भने।

पार्टी एकता आवश्यकता रहेकोमा जोड दिदैं देउवाले चुनाव जित्न पार्टी एकता बिना सम्भव नभएको बताए। प्रशिक्षण कार्यक्रममा सहभागीलाई इङ्गित गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाटीपार्टी नेतृत्व पारदर्शी, निष्पक्ष, न्याय एवं इमान्दार हुनुपर्ने, विधि र विधानमा सबै बाँधिए मात्रै पार्टी बलियो हुने धारणा राखे।

'तपाईंहरुले अब गुटबन्दी छोड्नुस्, देउवा, रामचन्द्र नभन्नुस्, हिजोको पूर्वाग्रह त्यागेर अब सबै कांग्रेस बन्नुस्', उनले भने। उनले जनताले दुईतिहाई बहुमत दिएर पठाएको बाम सरकारले दुईतिहाईलाई दुरुपयोग गरेको आरोप लगाए। उनले सरकारले संविधानको मर्ममाथि नै प्रहार गरेको बताउँदै केही कामसमेत गर्न नसकेको आरोप लगाए।

पार्टीका उपभापति तथा नेपाली कांग्रेसका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले सरकारले लोकतन्त्र विरुद्धमा काम गरिरहेको आरोप लगाए। उनले लोकतन्त्र रक्षा गर्दै पार्टीले नीति तथा सिद्धान्तलाई आम कार्यकर्ता र मतदाता माझ लैजान आवश्यक रहेको बताए।

कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नेपाली कांग्रेस संगठित हुन आवश्यक रहेकोमा जोड दिए। उनले कांग्रेसका नेता कार्यकर्ता लोकतन्त्र तथा स्वतन्त्रताको लागि लड्दै आएको बताए। आउँदो उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनका लागि आजैबाट प्रचारप्रसारमा जुट्नु पर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.