मुख्यमन्त्रीले चलाए एम्बुलेन्स
कालिकोट : कालिकोटमा एक वर्षपछि एम्बुलेन्स सेवा संचालन भएको छ। जिल्ला अस्पताल कालिकोटको एम्बुलेन्स दुर्घटनामा परेपछि जिल्ला एम्बुलेन्स सेवाविहीन भएको थियो।
कालिकोटको पचालझरना गाउँपालिकाले किनेको एम्बुलेन्स कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैंले मंगलबार करिब एक किलोमिटर गुडाएर सेवा सुरुवात गरेका हुन्।
मुख्यमन्त्री शाही गृह जिल्लाका विभिन्न स्थानिय तहमा गरिएका कार्यक्रममा सहभागी हुन आएको मौका पारेर पचालझरना गाँउपालिकाले एम्बुलेन्स सेवा सुचारु गरेको हो।
जिल्ला सदरमुकाम मान्म बजारस्थित होटल हिलसाइड अगाडिबाट मुख्यमन्त्री शाहीले एम्बुलेन्स चलाएर एक किलो मिटर गुडाए। एम्बुलेन्समा गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल, जिल्ला समन्य समिति सदस्य ऐना शाही र पत्रकारहरु चढेका थिए। मुख्यमन्त्री शाहीले एम्बुलेन्स चलाएको हेर्न ठूलै घुइँचो लागेको थियो।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले पनि कालिकोटका लागि दुई वटा एम्बुलेन्स खरिद गरेको जानकारी दिए। कुनै बिरामीलाई एम्बुलेन्स नभएर स्ट्रेचर र डोकामा बोक्नु पर्ने अवस्था अन्त्य भएको दाबी गरे।
जिल्ला अस्पताल कालिकोटका प्रमुख भीष्म पाख्रेलका अनुसार प्रदेश सरकारले जिल्ला अस्पतालका नाममा खरिद गरेको एम्बुलेन्स सुर्खेत आइपुगेको छ। यस्तै जिल्ला स्वास्थ्य कार्यालयको नाममा खरिद गरेको एम्बुलेन्स कागजात नमिल्दा भन्सारमा रोकिएको छ।
पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले जनप्रतिनिधिका लागि गाडी किन्न छुटयाइएको बजेटबाट एम्बुलेन्स किनिएको बताए। राजश्व छुट सहित १२ लाखको लागतमा एम्बुलेन्स खरिद गरिएको हो।
जिल्लाका अन्य गाँउपालिका पलाँता गाँउपालिका, शान्नित्रिवेणी गाँउपालिका र रास्कोट नगरपालिकाले पनि एम्बुलेन्स खरिद गर्न लागेको जनाएका छन्। तिलागुफा नगरपालिकाले एम्बुलेन्स खरिद गरिसकेको छ।