सुदूरपश्चिममा गौरा सुरु
बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा मंगलबारदेखि सुरु भएको छ। पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्ती गरेको विश्वास गरिन्छ।त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताए।
गौरा पर्वको पहिलो दिन मंगलबार घर-घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन्। भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट शुरु हुने यो पर्व यो वर्ष भाद्र कृष्णपक्षमा परेको ज्योतिष कृष्णानन्द अवस्थीले जानकारी दिए। उनले भने, 'गौरा पर्वको शुरुवात पञ्चमीबाट शुरु भएको छ। दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो।'
गौरा पर्वको पहिलो दिन महिलाले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन्। ब्रतालु महिलाले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको सुर्नया ६ शंकरपुरकी हरिना अवस्थीले बताइन्। उनले भनिन्, 'गौरापर्व हाम्रो मौलिक चाड हो। यो पर्वमा खास गरेर विवाहित महिलाले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाले गौराको पूजाआजा सुरु गर्छन्।'
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विशेष गरेर मनाउने चलन रहेको भएपनि पछिल्लो समय यो पर्व विस्तारित हुँदै गएको छ। पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ। सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ।