मन्त्रीकै योजना गुणस्तरहीन
परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका हुँदै सरावल गाउँपालिका जोड्ने कालोपत्रे सडक निर्माण कार्य नसकिदैं उक्किएको छ। प्रदेश सरकारको बजेट अन्तर्गत सडक निर्माण भइरहेको छ। मापदण्ड विपरित र गुणस्तरहीन सामाग्री प्रयोग गरेकाले निर्माणकै क्रममा उक्किएको पाइएको हो। बर्दघाट नगरपालिका–८ को सूर्यपूराबाट सडक निर्माण कार्य सुरु गरिएको हो।
यो सडकले सरावल गाउँपालिका १,२ को मगरमुढा, अत्रहट्टी र खोखरपुरालाई जोड्छ। प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री एंव सरकारका प्रवक्ता बैजनाथ चौधरीले उक्त योजना पारेका हुन्। सरावलको ती दुई वडा मन्त्री चौधरीको निर्वाचन क्षेत्र हो। ०७५÷७६ मा मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा २३ वटा योजना पारेका थिए। ती योजना पुल र सडक हुन्।
जसको लागत कुल २० करोड ९८ लाख ९६ हजार रहेको मन्त्री चौधरीका स्वकीय सचिव राजनकुमार आचार्यले जानकारी दिए। यसवर्ष सञ्चालन हुने गरी सडकका मात्र १३ वटा योजना छन्। जसको लागत २५ करोड २६ लाख छ। गतवर्ष सञ्चालन भएका सबैजसो योजना कार्यान्वयन भइसकेको स्वकीय सचिव आचार्यले जानकारी दिए।
निर्माण भइरहेको साढे ३ किलोमिटर सडकको लागत ३ करोड १३ लाख छ। निर्माण भएको सडकका अधिकांश स्थानमा कालोपत्रे उक्किएको छ। केही ठाउँ भत्किएको छ। ठाउँ ठाउँमा ठूला खाल्डा परेका छन्।
मन्त्रालयको भौतिक विकास कार्यालयले सडक निर्माणको जिम्मेवारी समिर कन्स्ट्रक्सन परासीलाई दिएको हो। तर उक्त कन्स्ट्रक्सनले काम नगरी बर्दघाटस्थित नविन कन्स्ट्रक्सनलाई जिम्मेवारी दिइएको छ। गुणस्तरहीन काम र मापदण्ड विपरित भएको भन्दै स्थानीयले विरोध गरे पनि निर्माण कम्पनीले बेवास्ता गरेका कारण एक महिनामै कालोपत्रे उक्किएको स्थानीय गोपेन्द्र चौधरीले बताए।
सडकका केही ठाउँमा कालोपत्रे उक्किएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताए। केही ठाउँमा कालोपत्रे भत्किएको देखिएको छ। ठाउँ ठाउँमा खाल्डा परेका छन्। सडक पनि मापदण्ड र गुणस्तरहीन सामग्री प्रयोग गरेको देखिएको चौधरीले बताए।
निर्माणको काम जेठबाट सुरु भएको हो। असारभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको कम्पनीले अहिलेसम्म सडकको काम सकेको छैन। म्याद सकिए पनि समय थपिएको छैन। निर्माण भएको सडकका केही स्थानमा कालोपत्रे उक्किए र केही स्थानमा भत्किएको पाइएको पूर्वाधार विकास कार्यालय रुपन्देहीका सिनियर डिभिजन अधिकृत ललित न्यौपानेले बताए। गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण पनि सो समस्या आएको उनको भनाइ छ। केही स्थानमा मापदण्ड विपरित काम भएको पाइएकाले पुनः काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको डिभिजन अधिकृत न्यौपानेले बताए। सडक निर्माणको अवधि सकिए पनि म्याद नथपिएको न्यौपानेले जानकारी दिए। ‘हामीले कसलाई काम दियो भन्ने सरोकार हुँदैन्। कारबाही गर्नु परे सम्झौता गरेको कम्पनीलाई गर्ने हो,’ न्यौपानेले भने।