आयोगहरूमा जिम्मेवारी तोक्ने नेकपा सचिवालयको तयारी
काठमाडौं : सत्तारुढ नेकपाको सचिवालय बैठक दिउँसो बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो तीन बजे डाकिएको बैठकमा पार्टी एकतालाई पूर्णता दिन सम्पन्न गर्नुपर्ने कामबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
लामो रस्साकस्सीपछि विभागहरूको जिम्मेवारी टुंग्याएको नेकपाले केन्द्रीय आयोगहरू गठन गर्न बाँकी छ। नेकपाले जनवर्गीय संगठनहरूको पनि जिम्मेवारी टुंग्याएको छ। नेकपा विधानमा ६ वटा आयोग रहने व्यवस्था छ।
नेकपामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चमा जिम्मेवारी तोक्न बाँकी छ।
सचिवालय बैठकले वरीयतामा माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाललाई राख्ने निर्णय गरेपछि नेपालले असन्तुष्टि देखाएका छन्। वरीयतामा असन्तुष्टि जनाउँदै 'नोट अफ डिसेन्ट' राखेका उनले मंगलबारको बैठकमा लिखित रुपमा असहमति राख्न सक्ने स्रोतले जनाएको छ।
नेपालले तीन नेतालाई सचिवालयमा लैजान प्रस्ताव गरे पनि आइतबारको सचिवालय बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरेको थियो।