रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो, थपिएला त म्याद ?
चितवन : पत्रकार रवि लामिछानेसहित तीनजनालाई चितवन जिल्ला अदालतमा आज मंगलबार उपस्थित गराइएको छ । पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले उनीहरुलाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।
प्रहरीले गरिरहेको अनुसन्धानलाई मध्यनजर गर्दै अदालतले लामिछानेसहित तीनलाई पुनः म्याद थप्न सक्नेछ । यदी हिरासत बाहिरै राखेर अनुसन्धान गर्ने अवस्था अदालतले देखेमा उनीहरु छुट्न पनि सक्छन् । पटकपटक गरी उनीहरुलाई अदालतले २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिनसक्ने व्यवस्था छ ।
लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलविरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन गरेको मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार दिउसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो ।
पुडासैनीकी पत्नी सम्झना पुडासैनीले पनि आइतबार काठमाडौं प्रहरी परिसरमा पुगेर लामिछानेसहित तीनविरुद्ध किटानी जाहेरी दिएकी छन् । पुडासैनीले आत्महत्याअघि आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए ।
उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।