समितिलाई जवाफ दिएन मन्त्रालयले, बोलाइयो दुई मन्त्रीलाई

समितिलाई जवाफ दिएन मन्त्रालयले, बोलाइयो दुई मन्त्रीलाई

काठमाडौं : टिचिङ अस्पताल महाराजगञ्जमा निर्माणाधीन ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ निर्माणको ढिलासुस्तीबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटेरी गरेको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पत्र लेखेर जानकारी माग्दासमेत स्वास्थ्य मन्त्रालयले जवाफ नपठाएको हो । २३ असारमा बसेको समिति बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा मन्त्रालयलाई १० दिनभित्र अस्पताल निर्माण ढिलासुस्तीबारे जवाफ मागेको थियो । शिक्षा मन्त्रालयले भने त्रिभुवन विश्वविद्यालयमार्फत लिखित जवाफ पठाएको छ ।

तर, स्वास्थ्यले पत्रको कुनै प्रतिक्रिया नजनाएको समिति सभापति जयपुरी घर्तीले बताइन् । ‘हामीले दश दिनभित्र जानकारी मागेका थियौँ । स्वास्थ्यको पर्खँदा–पर्खँदै डेढ महिना बित्यो । शिक्षाले त्रिविमार्फत पठाएको छ । त्यो पनि चित्तबुझ्दो छैन,’ उनले भनिन् । तत्कालीन माओवादी सशस्त्र युद्धको क्रममा गोरखामा मारिएका माओवादी नेता वाग्लेको नाममा बन्न लागेको उक्त अस्पतालको भौतिक पूर्वाधार ८ वर्षदेखि लथालिंग अवस्थामा छ ।

२०७१ सालमै काम सक्ने गरी ८ मंसिर २०६८ मा गौरा कन्स्ट्रक्सन प्रालि र एटलस इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि संयुक्त रूपमा ठेक्का लिएका थिए । सुरुमा ५५ करोड ५१ लाख २८ हजार ६४० रुपैयाँमा ठेक्का दिइएको थियो । तेस्रोपटक म्याद थप्दा उक्त अस्पतालको लागत ६१ करोड २१ लाख ८७ हजार ५८७ पुगेको छ । तर, तेस्रोपटकको म्याद पनि २ साउन २०७५ मै सकिएको छ । अस्पतालको भौतिक प्रगति भने जस्ताको त्यस्तै रहेको सभापति घर्र्तीले बताइन् ।

त्रिभुवन विश्वविद्यालयले लेखेको पत्रमा भने निर्माण सम्पन्न नहुनुलाई २०७४ सालमा भएको तीन चरणको निर्वाचनलाई देखाइएको छ । यस्तै, उक्त निर्माणधीन अस्पतालमा एकजना कामदारको दुर्घटनमा मृत्यु भएका कारण काम समयमा नसकिएको उल्लखे गरिएको छ । निर्माण कम्पनीले पुनः काम म्याद थपका लागि आग्रह गरेको भए पनि पटकपटक थप्दा पनि काम नसकिएको भन्दै नथपिएको उल्लेख छ । तर, सांसदले भने त्रिविको स्पष्टिकरणलाई चित्त बुझाएनन् ।


सांसद जीवनराम श्रेष्ठ भन्छन्, ‘यो त अचम्म भयो । निर्वाचनका कारण, एकजना कामदार मरेका कारण राज्यले यस्तो महत्त्व दिएको काम रोकिन्छ ?’ समितिले अस्पतालका बारेमा तीजनपटक छलफल गर्दा पनि निष्कर्ष निकाल्न सकेको छैन । पहिलोपटक त्रिविका उपकुलपति, निर्देशकलगायतसँग छलफल गरेको थियो । त्यसपछि २२ असारमा बसेको बैठकमा अस्पताल निर्माणमा ठूलो चलखेल भएको भन्दै कागजात मगाएको थियो ।

दुई मन्त्रीलाई बोलाइयो

समितिले स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादव र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुधबार समितिमा बोलाएको छ । निर्माणाधीन अस्पतालमा मन्त्रालयले ध्यानै नदिएको भन्दै दुई मन्त्रीलाई बोलाइएको समिति सभापति घर्तीले बताइन् ।

उनले भनिन्, ‘दुई मन्त्रीज्यूसँगै मन्त्रालयका सचिवलाई पनि बोलाउने निर्णय भएको छ । शहरी विकास मन्त्रालय हाम्रो समितिको जिम्मेवारीमा पर्दैन । तर, यो विषयमा सम्बन्धित भएकाले यस मन्त्रालयबाट पनि प्रतिनिधि बोलाउने निर्णय भएको छ ।’

समितिले त्रिविको उपकुलपतिलाई पनि बोलाउने निर्णय गरेको छ । राज्यको करोडौं खर्च भएको अस्पतालमा राज्यले बेवास्ता गरेको भन्दै सांसदहरूले कडा कदम चाल्नुपर्ने बताए ।

अस्पतालको निर्माणमा स्वास्थ्य मन्त्रालयले नै सम्झौत गरेको कारण मुख्यजिम्मेवार मन्त्रालय यही भएको सांसदहरूको भनाइ छ । तर, मन्त्रालयले नै जवाफसम्म नपठाएको भन्दै सांसदहरूले आपत्ति जनाए । ‘हामी कस्तो शासन प्रणाली चलाइरहेका छौँ भन्ने यो एउटा नमुना हो । सरकारले निर्णय गर्ने अनि निर्णय कार्यन्वयन भयो कि भएन भन्ने खोजी नै नगर्ने अचम्मको अवस्था देखा परेको छ’, सांसद श्रेष्ठले भने ।

अहिलेसम्म कामको अवस्था के भइरहेको छ भन्ने थाहा नहुनु स्वास्थ्य मन्त्रालयको गैरजिम्मेवारीपना रहेको उनको भनाइ छ । सार्वजनिक खरिद ऐनलाई खुकुलो बनाउँदा यस्तो अवस्था आएको बताउँछन् सांसद शन्तकुमार थारु । सांसदहरूले यस विषयमा समितिले कडा निर्देशन दिनुपर्ने उनको धारणा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.