एसईई ग्रेड वृद्धि परीक्षा : भुँइमा बसेर परीक्षा दिँदै विद्यार्थी
कालिकोट : कालिकोटमा आइतबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षामा भद्रगोल भएको छ। परीक्षा दिने विद्यार्थी खचाखच भुँईमा बसेर परीक्षा दिन बाध्य छन्।कक्षा कोठाको अभावमा भुँईमा बसेर परीक्षा दिन बाध्य भएका हुन्।
जिल्लामा ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि ३ वटा परीक्षा केन्द्र तोकिएको भएपनि कक्षा कोठाको अभावले निजी विद्यालयमा भुँइमा खाँदिएर विद्यार्थीले परीक्षा दिइरहेका छन्। महादेव आधारभूत विद्यालय बालमन्दिरमा कक्षा कोठाको अभाव हुँदा निजी विद्यालय कर्णाली हट बोर्डिङ स्कुलमा गएर विद्यार्थी परीक्षा दिइरहेका छन्।
निजी विद्यालयमा विद्यार्थीका लागि न राम्रो भौतिक संरचना छ। नत बस्नका लागि डेक्स र बेन्च छ। तर विद्यार्थी कोचाकोच गरी कार्पेटमा बसालेर परीक्षा दिन बाध्य पारिएको छ। परीक्षार्थीलाई यताउती फर्किने ठाउँ पनि छैन्। परीक्षाको मर्यादा कायम हुने त कुरै भएन।
भुँईमा बसेर परीक्षा दिनुपर्दा निकै कठिन भएको परीक्षार्थीले गुनासो गरेका छन्। विद्यार्थीले जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाका विद्यालयमा डेक्स, बेन्चसमेतको समस्या व्यहोर्नु परेको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका- ३ बाट पुरक परीक्षा दिन आएकी छात्रा सुनिता उपाध्यायले भनिन्,'सधैं हामीले हाम्रा विद्यालयमा डेक्स बेन्च छैन भनेर शिक्षकलाई गाली गर्यौं तर जिल्लाको मुटुकारुपमा रहेको खाडाचक्र नगरपालिकाका विद्यालयको समेत यस्तो हालत छ।'
सदरमुकामका विद्यालयको तुलनामा जिल्लाका ग्रामीण भेगमा विद्यालयको व्यवस्थापन नै राम्रो रहेको उनको भनाई छ। महादेव आधारभुत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि कर्णाली हट बोडिङ स्कुलमा परीक्षाको व्यवस्था गरेको शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख महेश देवकोटाले बताए।
विद्यार्थीको चाँप बढेपछि कक्षा कोठाको अभाव भएको हो।गणित विषयमा जिल्लाबाट १ हजार २ सय ९४ जनाले परीक्षा दिएका छन्।उनले भने, 'परीक्षा केन्द्र ३ वटा मात्र छ। विद्यार्थीको संख्या बढी छ।'