सत्तामा पुटिनको २० वर्ष
आज पुटिन एउटा सम्प्रदाय नै बनेका छन्। उनका तस्बिर कुँदिएका टिसर्ट, मग, छुरी, घडी, क्यालेन्डर र जुत्ता बेचिन्छन्। जस्तोसुकै काम गर्न सक्ने र जस्तोसुकै संकट पनि व्यवस्थापन गर्न सक्ने नेताका रूपमा उनी स्थापित छन्।
ओलिभर क्यारोल
विन्स्टन चर्चिलपछि सबैभन्दा प्रभावशाली विश्व नेता हुन्, भ्लादिमिर पुटिन। कुनै बेला राजनीतिक महत्त्वाकांक्षा शून्य रहेका पुटिनजस्ता नेताका लागि यो भनाइ अतिशयोक्ति लाग्न सक्छ। रोगले गाँजेको बेला हतास बनेका बोरिस येल्तसिनले आफ्नो शक्ति र परिवारको सुरक्षाको ग्यारेन्टीका लागि अरू कसैलाई रोजेको भए इतिहास अत्यन्त फरक देखिन सक्थ्यो।
सन् १९९९ अगस्ट १९ मा प्रधानमन्त्री बन्दा राजनीतिक रूपले पुटिनको हैसियत केही पनि थिएन। धेरैलाई लागेको थियो, पुटिन पनि येल्तसिनले उभ्याउन चाहेका अन्य नेताजस्तै संकटका बेला विस्थापित हुनेछन्।
तर, २० वर्षपछि पुटिन रुसमा सर्वशक्तिमान छन्। सेन्ट पिटर्सबर्गमा हुर्केका यी केजीबीका युवा कर्मचारीले यो दुई दशकको अवधिमा रुसी जीवनका हरेक क्षेत्रमा आफ्नो छाप छोडेका छन्। उनको सत्तारोहणपछि धेरै परिवर्तन भइसकेको छ। रुसको राजनीतिक प्रणालीमा आमूल परिवर्तन भएको छ। सुरुवाती समय पुटिनले शक्तिको संरचना तयार गर्नमा खर्चिए। सबै क्षेत्रमा एउटै व्यवस्था र दह्रो नियन्त्रण कायम गरे। अर्थतन्त्रमाथि राज्यको नियन्त्रण बढाए भने गुप्तचर संस्थाहरूलाई मुख्य भूमिका दिलाए।
समग्रमा उनको कार्यकाललाई दुई वैचारिक कालखण्डमा विभाजन गर्न सकिन्छ। पहिलो चरणमा उनले पश्चिमा समर्थक ‘पपुलिजम’लाई अघि बढाए। पुटिनले नाटोप्रति संशय र अमेरिका तथा खुला बजारका पक्षमा रुसमा जनमत बनाए। यो अवस्था २००६–०७ सम्म रह्यो। त्यसपछि सार्वभौमसत्ताको विचार हाबी भयो। सार्वभौम लोकतन्त्रका रूपमा उनका सहयोगी भ्लादिस्लाव सुर्कोवले अघि सारेको यो विचारले रुस पश्चिमबाट टाढा गइरहेको छ भन्ने संकेत दिन्थ्यो।
सन् २००७ मा पुटिनले म्युनिखमा आक्रामक भाषण दिए। त्यसपछि सन् २०१४ मा उनले क्रिमिया रुसमा मिसाए भने युक्रेनमा युद्ध सुरु भयो। यसले अन्य मुलुकबाट रुसलाई अलग्यायो र स्वतन्त्र अर्थतन्त्र निर्माण भयो। ‘गएको २० वर्षमा अमेरिकामा क्लिन्टन, बुस जुनियर, ओबामा र ट्रम्प राष्ट्रपति भए। सबैको भिन्नाभिन्नै नीति थियो,’ १२ वर्षसम्म क्रेमलिनका सल्लाहकार रहेका ग्लेब पाभ्लोभ्स्की भन्छन्, ‘मान्छेहरू सोच्छन्, एक जना राष्ट्रपति हुँदा एउटै मात्र नीति लागू हुन्छ। तर, यो पुटिनका हकमा लागू हुन्न। सत्तामा आउँदा पुटिन जस्ता थिए, अहिले त्यस्तो छैनन्।’
अर्थात्, यस बीचमा पुटिनले रुसलाई मात्र बदलेनन्, रुसले पनि पुटिनलाई बदल्यो। सुरुमा उनी ‘स्क्रिन’का लागि पनि तयार थिएनन्। उनको टिमलाई उनको छविको चिन्ता हुन्थ्यो। उनले त्यसअघि देखिने राजनीति पनि गरेका थिएनन्। त्यसैले सबैको ध्यानको केन्द्र बन्ने बानी परेका थिएनन्। केही समय त आफूलाई सुहाउने सुट पनि उनी लगाउँथेनन्। ‘बस्दाखेरि उनको कोटको पछाडिको भाग उचालिन्थ्यो,’ पाभ्लोभ्स्की सम्झिन्छन्। आज पुटिन एउटा सम्प्रदाय नै बनेका छन्। उनका तस्बिर कुँदिएका टिसर्ट, मग, छुरी, घडी, क्यालेन्डर र जुत्ता बेचिन्छन्। जस्तोसुकै काम गर्न सक्ने र जस्तोसुकै संकट पनि व्यवस्थापन गर्न सक्ने नेताका रूपमा उनी स्थापित छन्।
आफू मातहतका व्यक्तिको लोकप्रियता गिरे पनि पुटिनको बलबाहु नेताको छवि सधैँ देदीप्यमान रह्यो। हालसम्म जम्मा तीन पटक मात्र उनको लोकप्रियता केही हदसम्म खस्कियोः सन् २००५ मा उनको सुधार योजना अलोकप्रिय भएपछि, २०११ मा चुनावमा धाँधली भएपछि र गत वर्ष पेन्सन सुधारसम्बन्धी उनको योजना अस्वीकृत भएपछि। यद्यपि, रुसको सबैभन्दा लोकप्रिय नेता पुटिन नै हुन्। उनको शासनबारे २० प्रतिशत जनता मात्रै पूरै नकारात्मक धारणा राख्ने गर्छन्। तर, सर्वेक्षेक लेभ गुद्कोभ रुसीहरूले सोचविचार गरेरै पुटिनको मूल्यांकन गरेको बताउँछन्।
पुटिन शक्तिमा आउँदा रुसमा उदार लोकतन्त्र बहाली हुने सम्भावना सीमित थियो। किनभने, येल्तसिनले नै सर्वसत्तावादको जग हालिसकेका थिए। सन् १९९० को दशकको उथलपुथलपछि रुस राज्य व्यवस्थाको खोजीमा थियो। स्थायित्व दिन सक्ने बलियो नेताको खोजीमा थियो। त्यसमाथि बढ्दो तेलको मूल्यका कारण पुटिनलाई सत्तामा रहन सजिलो भयो। दोस्रो कार्यकाल समाप्त हुँदासम्म पुटिन रुसकै सबैभन्दा सफल नेता बन्ने प्रतिस्पर्धामा सामेल भइसकेका थिए।
बहुसंख्यक जनता उनको पक्षमा थिए। त्यसैले राष्ट्रपति बनिरहन उनले संविधानै संशोधन गर्न सक्थे। तर, त्यसको सट्टा उनले नयाँ उत्तराधिकारी छान्ने बाटो रोजे। सन् २००८ देखि उनी प्रधानमन्त्री बने भने दिमित्री मेद्भेदेभ राष्ट्रपति। तर, मेद्भेदेभ राष्ट्रपति बन्नेबित्तिकै संकट सुरु भयो। आर्थिक अस्थिरताले राजनीतिक अस्थिरता निम्त्यायो। सम्भ्रान्तहरूको एक हिस्सा आफूलाई छोडेर मेद्भेदेभको पछि लागेको पुटिनले देखे। उनलाई आफ्नै कदमप्रति पछुतो लाग्न थाल्यो।
त्यसैले सन् २०१२ मा उनी पुनः राष्ट्रपति बने र मेद्भेदेभले लागू गराएका हरेक कार्यक्रम उल्ट्याए। सन् २०११ बाट पुटिन देशका परम्परावादी हिस्सासँग नजिकिन थाले। त्यसपछि उनी आध्यात्मिक तथा नैतिक पक्षलाई प्रवद्र्धन गर्न थाले। सँगसँगै राष्ट्रवादी धार बलियो हुँदै गयो। यद्यपि, यसबाट सबै खुशी थिएनन्। मार्च, २०१२ मा चार जना नारीवादीहरूको समूहले मस्कोको क्याथड्रल अफ क्राइस्टमा ‘पंक प्रार्थना’ गरे। ‘केजीबीले चर्च भत्कायो, पादरी मा¥यो। पुटिन त्यसैका एजेन्ट थिए,’ पुस्सी रायट समूहकी सदस्य मरिया अल्योखिना भन्छिन्, ‘अहिले आएर त्यही चर्च रुस केजीबीको नियन्त्रणमा जानु राम्रो हो भन्दै छ। यो भनेको यहुदी पुजारीले हिटलरको प्रशंसा गर्नुजस्तै हो।’
रुसमा भएका चर्चित हत्याकाण्डका लागि पुटिन जिम्मेवार ठानिन्छन्। नोभेम्बर, २००६ मा पूर्वजासुस अलेक्ज्यान्डर लित्भिनेन्को पोलोनियन–२१० बाट मारिएको संसारले थाहा पायो। सन् २०१८ मा बेलायतमा दोहोरो जासुस सेर्गेइ स्क्रिपालमाथिको नोभिचोक आक्रमणलाई पनि पुटिनसँग जोडियो।
पुटिनका लागि दक्षताभन्दा इमानदारी बढी महŒवपूर्ण देखिन्छ। उनको विश्वास जित्न सक्नेहरूले ठूलो सफलता हात पारेका छन्। उनले आफ्ना अंगरक्षकमध्ये चार जनालाई क्षेत्रीय गभर्नरमा नियुक्त गरेका छन्। सुरक्षा मामिला हेर्नेलाई घरेलु राजनीति व्यवस्थित गर्ने जिम्मेवारी दिएका छन्। ‘सोभियत कालमा केजीबीको जस्तो भूमिका हुन्थ्यो, रुसको मुख्य सुरक्षा एजेन्सीको भूमिका अहिले त्यस्तै छ,’ लेखक तथा सुरक्षा विश्लेषक आन्द्रेई सोल्दातोभ भन्छन्।
चरम गरिबीलाई घटाउन सक्नु पुटिन शासनको ठूलो सफलता हो। यसलाई अस्वीकार गर्न मिल्दैन। तेलको उच्च मूल्य, सुधारवादी एजेन्डा र वर्षौंसम्मको आर्थिक वृद्धिदरका कारण यो सम्भव भयो। सन् १९९९ देखि २००८ सम्मको १० वर्षे अवधिमा रुसको कुल गार्हस्थ्य उत्पादन ९४ प्रतिशतले वृद्धि भयो। त्यसयता भने आर्थिक पक्ष कमजोर हुँदै गएको छ। वृद्धिदर एक प्रतिशत मात्र छ।
पछिल्लो समय भ्रष्टाचार रुसको ठूलो समस्या बन्दै गएको छ। पारदर्शिता छैन। ‘म पुटिनको नजिकको मान्छे हुँ भन्ने महसुस हुनेबित्तिकै मानिसहरू भ्रष्ट बन्छन्,’ पाभ्लोभ्स्की भन्छन्, ‘पुटिन आफैँ भ्रष्ट छन् कि छैनन्, त्यो महŒवपूर्ण छैन। तर, उनको शासनले लिएको बहुसंख्यक निर्णय भ्रष्ट हुन्छन्। किनभने, शासनमा शिरदेखि पुछारसम्मका मान्छे भ्रष्ट छन्।’
पुटिनले रुसलाई विश्वशक्तिका रूपमा पुनःस्थापित गरेको आम मानिसको बुझाइ छ। विपक्षीसमेत यसलाई अस्वीकार गर्न सक्दैनन्। उनले केही ठूला युद्धमा हात हाले र सफल पनि भए। चेचेन्या, जर्जिया, युक्रेन, सिरियामा रुसले चालेको दुस्साहसी कदमका लागि पुटिन सम्झिइनेछन्। उनले सैन्य खर्चमा पनि ठूलो वृद्धि गरे।
अहिले रुसमा निष्पक्ष चुनावको माग गर्दै प्रदर्शन भइरहेको छ। यसले केही न केही संकट आइरहेको जनाउँछ। तर, पुटिनका लागि अवस्था कति गम्भीर छ भन्ने स्पष्ट छैन।
उनको दोस्रो कार्यकाल सन् २०२४ मा सकिँदै छ। त्यसपछि संविधान संशोधन नगर्ने हो भने उनी राष्ट्रपति रहन पाउनेछैनन्। ब्रेजनेभभन्दा बढी समय शक्तिमा रहेका उनले सजिलै सत्ता छोड्ने बाटो आफैँले बन्द गरिसकेका छन्। धेरैले सन् २००८ मा सत्ता छोडेको भए पुटिन महान् नेतामा गनिन्थे भन्ने विश्वास गर्छन्। त्यसैले उनले कसरी सत्ता छोड्लान् वा सत्ताबाट बाहिरिएपछि के होला भन्ने चासो सबैमा देखिन्छ। तर, पुटिनका कारण टेलिभिजनबाट निष्कासित पत्रकार लियोनिड पफ्र्योनोभ भन्छन्, ‘जब पुटिन रहनेछैनन्, उनको शासनको निसान केही पनि बाँकी रहनेछैन।’
(‘दी इन्डिपेन्डेन्ट’बाट अन्नपूर्ण सम्मपूर्णका लागि कवि आचार्यद्वारा अनुदित )