फलोअपका लागि प्रधानमन्त्री सिंगापुर जाँदै
काठमाडौं : एक साता उपचार गराएर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि पुनः सिंगापुर जाँदैछन्। बिहीबार दिउसो साढे १ बजे उनी सिंगापुर उड्दैछन्।
सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) मा उनको फलोअप हुनेछ। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सिंगापुर बसाईको अवधि तय नभएको बताए।
प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र प्रमुख स्वीकय सचिव राजेश बज्राचार्यसहितको टोली हुनेछ।
स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए। फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य ठीक रहेको बताएका थिए।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।
प्रधानमन्त्री सिंगापुर उड्नुअघि बालुवाटारमा अहिले सत्तारुढ नेकपाको सचिवालय बैठक बसिरहेको छ। बैठकमा केन्द्रीय आयोगहरूको जिम्मेवारी टुंग्याउनेबारे छलफल चलिरहेको छ।