सिंगापुर उड्नुअघि ओलीले दिए प्रचण्डलाई कार्यकारी भूमिका
काठमाडौ : प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच तथा उपचारका लागि सिंगापुर जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकारी दिएका छन्।
सिंगापुर जानुअघि बिहीबार बिहान बसेको नेकपा सचिवालयको बैठकमा ओलीले आफ्नो अनुपस्थितिमा पार्टी एकता र अन्य विषयमा छलफल र निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई भएको बताएका थिए। पार्टीमा विकसित नयाँ समिकरणसँगै ओलीले प्रचण्डलाई कार्यकारी भूमिका प्रदान गरेका हुन्।
वरिष्ठ नेता माधव नेपालले अध्यक्ष ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै सात बुँदै नोट अफ डिसेन्ट पेस गरेर संस्थापनविरुद्ध क्रियाशिल भएपछि ओली र प्रचण्डबीच निकटता अचानक बढेको छ। विस्तारै पार्टीको जिम्मेवारी प्रचण्डलाई सुम्पने आश्वासन ओलीले दिइसकेको स्रोतको दाबी छ। यसअघि ओली देश बाहिर हुँदा वा बिरामी पर्दा पनि पार्टीको नियमित बैठक तथा निर्णय प्रकिया अवरुद्ध हुने गरेको थियो।
प्रचण्डलाई कार्यकारी भूमिका प्रदान गरिएको पुष्टि गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीसँग भने, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णय गर्ने तय भएको छ। उनले सांगठनिक एकताका बाँकी काम र विषयबारे प्रचण्डको अध्यक्षतामा बस्ने बैठकमा छलफल र ठोस निर्णय हुने बताए । उनले भने, अध्यक्ष प्रचण्डले छिटै बैठक बोलाउनुहुनेछ।
सचिवालय बैठकमा असन्तुष्ट माधव नेपालले आफ्नो नोट अफ डिसेन्ट राख्नुपर्ने पृष्ठभूमि र कारणबारे बताएका थिए। उनले पार्टीमा छलफल र सहमति नगरीकन एकलौटी ढंगले अघि बढ्न खोजिएको बताएपछि केहीबेर ओली र नेपालबीच चर्काचर्की भएको थियो। प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि नेकपाको आन्तरिक समिकरण तरंगित भएको छ। पार्टीभित्रको शक्ति संरचनामा अब माधवको भूमिका थप कमजोर हुने देखिएको छ।