निर्यात गृह बनाइँदै

निर्यात गृह बनाइँदै

काठमाडौं : तुलनात्मक लाभका वस्तु उत्पादन र निर्यात गर्ने उद्यमीलाई लक्ष्य गरी सरकारले निर्यातगृह निर्माण गर्ने भएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) ले साना, लघु, घरेलु र मझौला उद्योगी, सहकारी र किसानलाई लक्ष्य गरी निर्यातगृह स्थापना गर्न लागेको हो।

साना, लघु, घरेलु, मझौला उद्योगी, सहकारी तथा किसानले ससानो परिमाणमा तुलनात्मक लाभका वस्तु उत्पादन गर्दै आएका छन्। तर, उनीहरूको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म छैन। अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा त्यस्ता वस्तुले बजार नपाएर उत्पादकले लागत खर्च उठाउन नसक्ने र उत्पादन गर्ने कार्यबाट बिमुख हुने समस्यालाई समाधान गर्न निर्यातगृह स्थापना गर्न लागिएको हो।

आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले साना, लघु, घरेलु तथा मझौला उद्योगबाट उत्पादित अलैंची, अदुवा, फेल्ट, फेसनका समानलगायत अन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारसँग जोडन आवश्यक विभिन्न प्रकारको सेवा उपलब्ध गराएर निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वच्छ व्यवसायी समूहसँग सहकार्य गरी निर्यातगृहको अवधारणा अघि बढाइने घोषणा गरेको थियो। यसका लागि सरकारले चालु आवमा सुरुआति बजेट ३२ लाख रुपैयाँ विनियोजन गरेको छ। टीईपीसीका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार निर्यातगृह स्थापना भएपछि यस्ता समूहले उत्पादन गर्ने वस्तुले सहजरूपमा अन्तर्राष्ट्रिय बजार पाउनुका साथै व्यापार घाटालाई पनि कम गर्न सकिन्छ। राणाले भने, ‘निर्यात गृहमा आवद्ध हुने निर्यातकर्ता व्यवसायीलाई आवश्यक अन्तर्राष्ट्रिय बजारसम्मको पहुँचको सुनिश्चितता, प्रक्रिया सहज बनाउनुका साथै आवश्यक सुविधा प्रदान गर्ने योजना छ।’

‘निर्यातगृहमा मुख्य गरी साना, लघु, घरेलु, मझौला उद्योगी, सहकारी तथा किसानलाई आवद्ध गर्ने योजना छ’, कार्यकारी निर्देशक राणाले भने,‘तर यसमा आवद्ध हुने कुनै बाध्यकारी व्यवस्था छैन। ठूला निर्यातकर्ता पनि यसमा सहभागी हुन सक्छन्।’ उनका अनुसार यो गृहमा ससाना उत्पादनकर्तालाई आफूसँग जोडेर राखेका ठूला निर्यातकर्ता पनि समावेश हुन सक्छन्। यो संस्था पूर्णरूपमा व्यवसायीले सञ्चालन गर्नेछन्। निर्यातगृहमार्फत तुलनात्मक लाभका वस्तु समावेश गरिएको छ। यसबाहेक थप तुलनात्मक वस्तु छनोट गरी समावेश गर्न सकिने राणाले जानकारी दिए।

टीईपीसीले निर्यातगृह स्थापना र सञ्चालनको कार्यविधि तयार पार्न नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल महिला उद्यमी महासंघ र नेपाल निर्यात परिषद्ले छलफल सुरु गरेका छन्। यसैगरी, नेपाल तयारी पोसाक उद्योग संघ, नेपाल पश्मिना उद्योग संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातकर्ता संघ, नेपाल धागो उत्पादक संघ, स्वच्छ व्यवसायी समूह, नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना र दि अर्गानिक भ्यालीसहित विभिन्न बैंकसँग छलफल गर्न सुरु गरेको छ।

यस्ता संस्थाबाट आएका सुझावका आधारमा कार्यविधिको मस्यौदा तयार पारेर यसै आर्थिक वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वीकृत गराएर निर्यातगृह निर्माण गर्ने टीईपीसीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.