थरुहट-थारुवान राष्ट्रिय सम्मेलन : अगुवा नै विभाजित

थरुहट-थारुवान राष्ट्रिय सम्मेलन : अगुवा नै विभाजित

टीकापुर : ०७२ भदौ ७ गते भएको टीकापुर घटनाको सम्झनामा आयोजना गर्न लागिएको कार्यक्रमको विषयमा थारु अगुवा नै दुई धारमा विभाजित देखिएका छन्। थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति र सत्तारुढ नेकपा निकट थारु राष्ट्रिय मुक्ति मोर्चा तथा नेपाल लोकतान्त्रिक थारु संघसँग आबद्ध थारु अगुवाको फरक धारणा देखिएको छ।

सम्मेलन गरिरहेको पक्षले टीकापुर घटनालाई बिर्सिएर सामाजिक सद्भाव कायम राख्न कार्यक्रम आयोजना गरेको दावी गर्दै आएको छ भने थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघ पक्षधरले कार्यक्रमलाई उद्देश्यविहीन भन्दै आरोप लगाएको छ।

थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघले टीकापुरमा बुधबार पत्रकार सम्मेलन गरेर थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई उद्देश्यविहीन कार्यक्रम भएको आरोप लगाएको छ।

पत्रकार सम्मेलनमा वितरित संयुक्त विज्ञप्तिमा राजनैतिक उद्देश्य स्पष्ट नभएको र आधिकारिक संस्थागत आयोजक नरहेकोले कार्यक्रमको औचित्य नभएको दावी गरिएको छ। ‘विगतमा आन्दोलनको क्रममा घटेको दुःखद घटनालाई स्मरण गराउन झल्को दिने गरी कार्यक्रम तय भएको प्रति असहमति जनाउँदै अन्यौलपूर्ण कार्यक्रममा मोर्चाको समर्थन नरहेको र कुनै पनि गतिविधिमा सहभागिता नरहने स्पष्ट गर्न चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ।

आफ्ना नेता कार्यकर्तालाई कार्यक्रमका विभिन्न समिति र उपसमितिमा राखेको प्रति मोर्चाले आपत्ति जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका नेता फिरुलाल चौधरी ‘रणभूमि’ ले कार्यक्रममा अवरोध भने नहुने बताए। ‘केही व्यक्तिले आफ्नो निहित स्वार्थका लागि थारु समुदायलाई प्रयोग गरेका छन्’ रणभूमिले भने।

टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेल परेर हालै रिहा भएका संगम चौधरीलेसमेत थारु समुदायको भावनामाथि खेलवाड गर्ने काम भइरहेको दावी गरे। ‘यो कार्यक्रमको उद्देश्य नै राम्रो भएन’ उनले भने, ‘यसले हामी थारु समुदायको भावनामाथि खेलवाड गरिरहेको छ।’

तर बुधबार नै सम्मेलन आयोजक पक्षधरले धनगढी र टीकापुरमा पत्रकार सम्मेलन गर्दै सम्मेलनले कुनै राजनीतिक एजेण्डा नबोकेको बताएको छ। थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति संयोजक मीनराज चौधरीले सम्मेलनको मुख्य उद्देश्य एकताको सन्देश भएको बताए। ‘राज्यले टीकापुरमा सद्भावको वातावरण बनाउन नसकेको बेला आफूहरु अग्रसर भएका हौं, कार्यक्रमले हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी सम्मेलन समापन हुनेछ’उनले भने।

टीकापुर घटनामा जेल भुक्तान गरेर हालै छुटेका लक्ष्मण चौधरीले विगतलाई बिर्सिएर सबै एकजुट हुनुपर्ने बताए। उनले भने, ‘सुदूरपश्चिम हरेक कुरामा पछि पारिएको क्षेत्र भएकाले यसको विकासका लागि हातेमालो गर्न जरुरी छ, न्याय र अधिकारका लागि हामी सबै एक ठाउँमा उभिनुपर्नेछ।’

टीकापुरमा यही ७, ८ र ९ गते थरुहट थारुवान राष्ट्रिय सम्मेलनको आयोजना हुँदैछ। सम्मेलनमा २५ जिल्लाका २ हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताइएको छ।

सम्मेलनका क्रममा कुनै अप्रिय घटना हुन नदिन जिल्ला सुरक्षा समिति कैलालीले टीकापुर क्षेत्रमा ब्यापक सुरक्षाकर्मी परिचालन गरेको छ। टीकापुरमा सम्मेलन अवधिमा झण्डै तीन हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने बताइएको छ।

आयोजकले भने थरुहट थारुवान सम्मेलनको तयारी पुरा भएको जनाएको छ। टीकापुर घटना पछि जेलमुक्त भएका थारु नेता लक्ष्मण थारु सहितका नेताहरुले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पुरा भएको जानकारी दिएका हुन्। टीकापुरका भड्किएको सद्भाव अन्त्य गर्ने उद्येश्यले सम्मेलन हुन लागेको थारु नेताले बताएका छन्।

प्रशासन, प्रहरीसँग घनिभूत रुपमा छलफल गरी शान्तिपूर्ण रुपमा राष्ट्रिय सम्मेलनका तयारी भएको नेता लक्ष्मणले जानकारी दिए। ‘सम्मेलन शान्तिपूर्ण रुपमा प्रहरी र युवा स्वंयम्सेवकको घेरा भित्र हुनेछ,’ उनले भने, ‘त्यसका लागि टीकापुर सिटिहल क्षेत्रमा सिसि क्यामरा पनि जडान गरिएका छन्।’

सुरक्षाका लागि ३ सय जना युवा स्वंयम्सेवक परिचालन गरिने उनले जानकारी दिए। सम्मेलन स्थलमा पनि प्रहरी र स्वंयम्सेवकले चेकजाँच गरेपछि मात्र भित्र जान अनुमति दिने उनले बताए। सम्मेलनमा सहभागी हुने पाउनाका लागि गाउँ गाउँमा आवासको व्यवस्था गरिएको उनले जानकारी दिए।

सम्मेलनप्रति थारु मात्र नभएर गैर थारु पनि उत्साहित भएको पूर्व साँसदसमेत रहेका कृष्णकुमार चौधरी बताए। सम्मेलनमा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर लागयतका नेताको सहभागिता रहने छ। सम्मेलनको पहिलो दिन ७ गते उद्घाटन समारोह, ८ गते बन्द सत्र र ९ गते समापन हुने धनगढीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

यस्तै सम्मेलनलाई सद्भावपूर्ण बनाउनका लागि अतिरिक्त कार्यक्रमकोसमेत आयोजना गरिने भएको छ। ५ गते बिहान ६ बजे सद्भाव सरसफाई अभियान र ६ र ७ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिएको छ। ०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटनामा ८ सुरक्षाकर्मी र १ नाबालकले ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.