बिरामीमाथि खेलबाड गर्दै प्रयोगशाला : गलत रिपोर्ट, गलतै औषधिले सास्ती!
धनगढी : बैतडीकी पत्रकार त्रिप्ती शाहीलाई हप्ता दिनसम्म आएको ज्वरो निको नभएपछि साउन ३० गते एकजना स्वास्थ्यकर्मीसहित एम्बुलेन्सबाट धनगढी ल्याइयो। उनलाई ३० गते राति साढे १२ बजे धनगढीको नवजीवन अस्पतालमा भर्ना गरियो। अस्पतालका डाक्टर उत्सव अधिकारीले उनलाई 'ब्रुसेलासिस' अथवा गाईगोरुमा हुने क्षयरोग भएको आशंका गरे।
डाक्टर अधिकारीको आशंकाका आधारमा शाहीको रगत संकलन गरेर धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरमा पठायो । उक्त रिसर्च सेन्टरले शाहीलाई 'ब्रुसेलासिस' अथवा गाई गोरुमा हुने क्षयरोग भएको भन्दै 'पोजेटिभ' रिपोर्ट पठायो। गाईको दूध दहीबाट सर्ने 'ब्रुसेलासिस' हुनेखालको कुनै लक्षण नभएको भन्दै शाहीले धनगढीकै अर्को लाइफ लाइन प्रयोगशालामा फेरि रगत जाँच गराइन्।
लाइफ लाइन प्रयोगशालाले भने उनको रिपोर्ट 'नेगेटिभ' दियो। उनी फेरि दोधारमा परिन्। फेरि उनी आफै धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टर पुगिन् र नाम परिवर्तन गरेर दोस्रो पटक रगत जाँच गराइन्।
थाहा पाउने भन्दै उनले प्रीया भण्डारी नामबाट धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरमा रगत दिइन्।भोलिपल्ट अर्को रिपोर्टमा भने 'ब्रुसेलासिस' नेगेटिभ देखायो। 'ब्रुसेलासिसको छ हप्ताको उपचार हुँदो रहेछ, गाई-गोरुलाई लगाउने जत्रा सुइहरु थिए, मत मर्छु भन्ने लागेको थियो, धन्न एउटै रिपोर्टमा उपचार सुरु गरिन, मर्ने रहेछु,' शाहीले भनिन्।
उनको उपचारमा संलग्न डाक्टर सुभेषराज कायस्थले उनलाई भाइरलको औषधि दिएर पठाए। अहिले उनलाई सञ्चो भइरहेको छ। शाहीभन्दा एक दिनअघि साउन २८ गते नवजीवन अस्पतालमै भर्ना भएकी धनगढी उपमहानगरपालिका २ की १८ वर्षीया कल्पना खत्रीलाई पनि यस्तै भएको छ। हप्ता दिनसम्म पनि ज्वरो निको नभएपछि कल्पनालाई नवजीवन अस्पतालमै भर्ना गरियो।उनै डाक्टर उत्सव अधिकारीले कल्पनाको 'ब्रुसेलासिस' जाँचका लागि धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरमै रगतको नमुना पठाए।
कल्पनालाई उपलब्ध गराइएको साउन २९ गतेको रिपोर्टमा उनलाई पनि गाई-गोरुमा हुने क्षयरोग 'ब्रुसेलासिस' पोजेटीभ देखाएको छ। कल्पनाकी आमाले सात दिनजति छोरीलाई अस्पतालमा भर्ना गरेर 'ब्रुसेलासिस'को उपचार गरिन्। तर निको भएन।'निको हुनुको सट्टा झन्झन् बल्झि रह्यो।फेरि मैले पनि लाइफलाइन प्रयोगशालामा जाँच गराए, त्यहाँ नेगेटीभ देखियो,' आमा राधीका खत्रीले भनिन्।
खत्रीले भदौ ३ गते लाइफलाइनमा जाँच गराएको रगतको रिपोर्ट नेगेटीभ आएपछि फेरि छोरीको रगतको नमुना त्यही धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरमै पठाइन्।
त्यहाँबाट पनि 'ब्रसेलासिस' नेगेटीभ देखिएपछि बुधबार मात्रै उनी अस्पतालबाट छोरीलाई डिस्चार्ज गराएर घर लगेकी छिन्।
'एउटा टेस्टको दुई हजार तिराए, अझ नेगेटिभ हुने कुरालाई पोजेटिभ देखाएर ४० हजारभन्दा बढी खर्च भयो। छोरीलाई निको हुनुको सट्टा झन्झन् बढी भयो,' कल्पनाकी आमा राधिकाले रुँदै भनिन्।
हिमाली भेगमा चौरी चराउने व्यक्ति, पहाडमै गाई-गोरुसँग बढी बस्ने व्यक्ति, संक्रमित गाईको दूध दही खाएमा वा पशु चौपायाको बध गर्नेलाई 'ब्रुसेलासिस' हुनसक्ने वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थले बताए। उनले भने, 'अहिले गुणस्तरहीन किटका कारण रिपोर्ट ठिक आइरहेका छैनन्।'
क्षयरोग, हेपाटाइटीस बी, मलेरिया, कालाजर, एचआइभीजस्ता लामो समयसम्म उपचार गर्नुपर्ने रोगको जाँचका लागि गुणस्तरहीन किटको प्रयोग भइरहेको उनको भनाई छ। धनगढी डायग्नोस्टीक्स एण्ड रिसर्च सेन्टरका सञ्चालक समितिका अध्यक्ष मीनबहादुर धामीले गल्ती भएको स्वीकार गरे। उनले किटमा समस्या आएको हुनसक्ने बताए।'जानीजानी त गरिएको होइन, तर किटमा समस्या रहेछ,' उनले भने। 'ब्रुसेलासिस' को टेस्टका लागि एकपटक दुई हजार रुपैयाँ लाग्छ।