कस्तो उपचार गराउँदैछन् ओली सिंगापुरमा ?

कस्तो उपचार गराउँदैछन् ओली सिंगापुरमा ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे पहिलोपटक औपचारिक जानकारी गराइएको छ। पटक पटक उपचारका लागि विदेश गए पनि प्रधानमन्त्रीले कस्तो स्वास्थ्योपचार गराइरहेका हुन् भन्ने जानकारी सरकार तथा प्रधानमन्त्रीको निजी सचिवालयबाट यसअघि गराइएको थिएन।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्री मिर्गौलाको क्षमता बढाउने उपचार गराउन सिंगापुर जान लागेको बताएकी छन्।

डेढ सातामा दोस्रो पटक

ओली पछिल्लोपटक साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। फर्किएको डेढ सातामा फेरि उनी त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै कतिपय मिडियामा उनी पुनः सिंगापुर जाने चर्चा चलिसकेको थियो। तर उनको सचिवालयले ओली स्वस्थ रहेको दाबी गरेको थियो।

'सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएलगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आजको सचिवालय बैठक भोलि बस्ने गरी स्थगित भयो', प्रधानमन्त्रीको स्वास्थ्यकै कारण नेकपा सचिवालय बैठक रोकिएपछि साउन ३० मा प्रमुख सल्लाहकार विष्णु रिमालले ट्‍विट गरेका थिए, 'यसै आधारमा उहाँको स्वास्थ्य अवस्थाबारे अडकलबाजी सहित केही मिडियामा संप्रेषित अफवाह निराधार छन्।'

प्रधानमन्त्रीले पनि गृहजिल्ला झापाबाट आएका जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले आफू बिरामी नभएको बताएका थिए। ‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु’, उनले भनेका थिए, ‘डाक्टरले सबै अंग ठीक छ भनेका छन्। अब २०-२५ वर्ष केही हुँदैन भन्छन्। त्यसकारण म बिरामी होइन।’ 

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो। 

यसपटक ओलीको सिंगापुर बसाई कति लामो हुन्छ भन्ने टुंगो छैन। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सिंगापुर बसाईको अवधि तय नभएको अन्नपूर्णलाई बताए।

पार्टी एकताका काम टुंग्याउनेसहितका जिम्मेवारीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी भूमिका दिनुले पनि यो अनिश्यचलाई झल्काउँछ। प्रधानमन्त्री सिंगापुर उड्नुअघि बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरेको थियो।

कस्तो उपचार हुन्छ सिंगापुरमा ?

प्रधानमन्त्री ओली बिहीबार सिंगापुर उड्नुअघि उनका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी सार्वजनिक गरेकी छन्।

ओलीको 'मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा बढी देखिन गएको' प्रधानमन्त्रीका निजी चिकित्सक सिंहले लेखेकी छन्। 'मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो', डा. सिंहले भनेकी छन्, 'एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि त्यसतर्फ जान लाग्नुभएको हो।'

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. राजेन्द्रकुमार अग्रवालका अनुसार एन्टीबडी भनेको शरीरको डिफेन्स मेकानिज्म (प्रतिरोध प्रणाली) को हिस्सा हो। यसले बाह्य तत्त्वबाट शरीरलाई जोगाउँछ।

ओलीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडी रियाक्सनका कारण समस्या भएको हुन सक्ने अनुमान गरे पनि आफूले केही भन्न नसक्ने उनले सुनाए।

सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गरिने डा. सिंहले जनाएकी छन्।

प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा मिडियामार्फत अवगत गराउने पनि उनले उल्लेख गरेकी छन्। प्रधानमन्त्री ओली थाई एअरबाट पत्नी राधिका शाक्यसहित निजी चिकित्सक, सल्लाहकार लिएर सिंगापुर उडेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.